बज्र कुमार थुलुङ, हङकङ
धर्तीको रुप बिगारेपछि,आकाशमा बार लगाएपछि,
आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।
विज्ञानको तुजुक देखाएर,खुब वलिष्ठ भा’थ्यो मान्छे !
क्या निरीह भो उहि,समयले मृत्यु सामु उभ्याएपछि।
आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।
कुनै जीव-अजीव होइन, भाइरस मान्छे नै हो यार,
यसो भन्दै रुन्छ वैज्ञानिक, दुनियाँ आज डुबाएपछि ।
आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।
हुन्छ परमात्मा हुन्छ, नभए सृष्टि कसले चलाउँछ ?
घामट-मूर्खले ‘नि माने यो, अदृष्य कोरोना आएपछि ।
आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।
कोरोनालाई जित्नेछ मान्छेले, विचार बदलिनेछ मान्छेको,
गायव भो छोरा विदेशमा, आमालाई यति सुनाएपछि।
आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।
महाशय ! बस्नुस् शहरमा,दौडनुस् भारी सपना बोकेर-
म त फर्कन्छु गाउँघर हजुर, कोरोना रात उदाएपछि ।
आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।
धर्तीको रुप बिगारेपछि, आकाशमा बार लगाएपछि।
कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको गजल ।
संयोजन: मगेन्द्र राई ।