लन्डन – सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ जनवरीमा एक भारतीयको रेष्टुरेन्ट ब्याम्बो हाउस लिमिटेडबाट स्पोन्सरसीप पाएर स्किल्ड वर्कर भिजा (वर्क परमिट) लिइन् । थापाले रोजगारदाताको अनुरोधमा आफ्नो भिजा आवेदन दिंदा सोलिसिटरलाई ९ लाख रुपैयां बढी (४,५०० पाउन्ड) भुक्तानी आफैंले गरेकी थिइन् । शुरुमा रोजगारी सम्झौता गर्दा न्यूनतम सीमा अर्थात् प्रतिहप्ता ३७ घण्टा कामका लागि वार्षिक २१ हजार ५०० पाउन्ड दिने उल्लेख थियो । काम गर्दै जांदा मेलिसाले रोजगारीको कुनै पनि लिखित सम्झौता पाइनन् । भिजामा उल्लेख गरिएको समयभन्दा बढी अर्थात् प्रतिहप्ता ४२ घण्टा काम गर्न लगाइन्थ्यो । काम गरेको घण्टा जतिसुकै भए पनि उनलाई प्रति हप्ता ४०० पाउन्ड मात्र भुक्तानी गरिन्थ्यो । उनले आफ्नो रोजगारीको अधिकांश समय पे स्लिप (तलब विवरण) नै पाइनन् । उनले मे, जुन र जुलाई २०२४ को मात्र पे स्लिप पाइन् जसमा ’नेस्ट पेन्सन योगदान’ भनी रकम कटौती गरिएको देखाइएको थियो । पछि उनले नेस्टसँग सम्पर्क गर्दा उनलाई उनीहरूको पेन्सन योजनामा कहिल्यै पनि आबद्ध नगरिएको जानकारी दिइयो । ९ जनवरी २०२४ देखि २८ मार्च २०२६ सम्म करिब २६ महिनामा उनले कुनै पनि पेड होलिडे पाइनन् । चरम आर्थिक तथा मानसिक शोषण र काम गर्ने उचित वातावरण नभएपछि मेलिसा अहिले बेलायती श्रम अदालत पुगेकी छिन् । बेलायत जस्तो ठाउँमा समेत शोषित भएपछि म अदालत पुगेकी हुँ’, उनले अनलाइनखबरसँग भनिन्, ‘म नेपाल फर्कन परेपनि आफ्नो अधिकारका लागि अन्तिमसम्म लडिरहने छु ।’ विगत ४ महिनादेखि जागिरविहीन हुँदा दिनचर्या कष्टकर बनेको उनले सुनाइन् । विद्यार्थी भन्दा स्किल्ड वर्कर भिजा सुरक्षित ठानेर धेरै नेपाली विद्यार्थीले पढाइ सकिएपछि रोजगारदातालाई हजारौं पाउण्ड खर्चेर रुट परिवर्तन गरेका छन् । तर, नियति मेलिसाकै जस्तो छ ।साभार : अखप












