सिरियामाथि अमेरिकी हमला………

बैशाख १, २०७५  अमेरिका र उसका सैन्य सहयोगी देश ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा सिरियामा हवाई हमला शुरू गरेका छन्। संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला गरेका हुन् । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्।अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार राजधानी दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाज सुनिाएका छन् । आकाशमा धुवाँको मुस्लो देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका छन्। ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन्। ट्रम्पले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्ने बताएका छन् । ट्रम्पले रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाएका छन् । सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस विफल भएको समेत ट्रम्पले बताए। यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको दावी गरेको थियो । तर, सिरियाले यसलाई अस्वीकार गर्दै आएको छ । रुसको सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति छ । उसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ । तर, यो आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ। सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्र खसालिदिएको जनाएको छ। ब्रिटेनकी प्रधानमन्त्री टरिजा फौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएको भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन्। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले रासायनिक अस्त्रशरू सामूहिक सुरक्षाका लागि खतरा भएको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार