मस्को कन्सर्टमा आक्रमण, १ सय ३३ को मृत्यु…..

काठमाडौँ — मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद्यपि, रुसी अधिकारीले घटनामा कसको संलग्नता थियो भन्ने अझै खुलाइसकेका छैनन् । इस्लामिक स्टेट खोरसान प्रान्त (आईएसआईएस–के) अफगानिस्तान तथा इरानमा सक्रिय समूह हो । यसअघि यो समूहले काबुलस्थित रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो । यस पटक भने राजधानी मस्कोको केन्द्र क्रेमलिनभन्दा २० किलोमिटरको दूरीमा रहेको क्रोकस सिटी हलमा ठूलो आक्रमण गरेको छ । ६ हजारभन्दा बढी व्यक्ति सहभागी हुन सक्ने क्षमताको क्रोकस सन् २००९ मा स्थापना गरिएको मस्कोको लोकप्रिय कन्सर्ट हलमा पर्छ । क्रास्नोगोर्क उपनगरमा रहेको उक्त हलमा तत्कालीन सोभियत संघको पालादेखि चर्चित रहेको रक ब्यान्ड ‘पिकनिक’ को कन्सर्टमा सहभागी हुन मानिसहरू जम्मा हुँदै थिए । कन्सर्ट सुरु हुनुअगावै खचाखच भरिएको कन्सर्टमा केही व्यक्ति स्वचालित हतियार बोकेर प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूले विस्फोटक पदार्थ पनि प्रयोग गरेका थिए, जसका कारण हलमा भागदौड मच्चिनुका साथै आगलागी भएको समाचार संस्था अलजजिराले जनाएको छ । घटनापछि आगो निभाउन हेलिकोप्टर र दमकलहरूको प्रयोग गरिएको थियो । त्यसपछि भवनको भित्री भागमा र छतमा रहेकाको उद्धार गरिएको थियो । घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने रुसी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रुसले यसलाई ‘आतंककारी आक्रमण’को संज्ञा दिएको छ । श्रीमान्सँग कन्सर्टमा सहभागी भएकी घटनाको प्रत्यक्षदर्शी मार्गरिटाले आक्रमणको वर्णन गर्न आफूसँग शब्द नभएको बताइन् । पहिले आवाज आउँदा त मैले आतिशबाजी भएको ठानें । तर, आवाज रोकिएन । अनि मानिसहरू पीडाले चिच्याउन थाले,’ उनले भनिन्, ‘त्यहाँबाट निस्किएर घर पुगें र बच्चालाई अँगालो हालें । शुक्रबार जे भयो त्यो अझै पनि मेरो आँखा र कानमा खेलिरहेको छ ।’ मस्को क्षेत्रका गभर्नर आन्द्रेइ भोरोब्योभले हताहती हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । उनले घाइतेमध्येका १६ जनाको अवस्था अझै गम्भीर रहेको बताएका छन् । शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनालाई ‘बर्बरतापूर्ण आतंकवादी कार्य’ भन्दै निन्दा गरेका छन् । उनले आक्रमणमा मारिएकाको स्मृतिमा आइतबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् । आक्रमणमा प्रत्यक्ष संलग्न ४ जनालाई नै नियन्त्रणमा लिइएको जानकारी दिँदै पुटिनले आक्रमणमा संलग्नको पहिचान र कडा कारबाही गर्ने जानकारी दिए । उनले यो घटनाले आफूहरूलाई विभाजित नगर्ने पनि बताए । पक्राउ परेका चारै जना युक्रेनतर्फ भाग्न खोजेको र युक्रेन पक्षले पनि उनीहरूलाई सीमा पारका लागि अनुमति दिएको दाबी रुसले गरेको छ । तर युक्रेनले भने रुसको दाबीलाई खारेज गरेको छ । युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममा लेखेका छन्, ‘युक्रेनको यस आक्रमणसँग कुनै सम्बन्ध छैन । शुक्रबारको घटना रुसमा एक दशकयताकै सबैभन्दा ठूलो आक्रमण हो । सन् २००४ मा रुसको बेस्लान विद्यालय घेराबन्दीमा ३ सय ३० जना मारिएका थिए, जसमा आधाभन्दा बढी बालबालिका थिए । त्यतिबेला चेचेन पृथकतावादीले १ हजारभन्दा बढीलाई बन्धक बनाएको थियो । यस्तै, सन् २००२ मा चेचेन पृथकतावादीले नै राजधानी मस्कोको एक थिएटरमा घेराबन्दी गर्दा करिब १ सय ३० जना मारिएका थिए । सन् २०२२ मा बन्दुकधारी एक पूर्वविद्यार्थीले मध्यरसियाको इजेभ्स्कस्थित विद्यालयमा आक्रमण गर्दा १७ जनाको मृत्यु भएको थियो । पछि ती पूर्वविद्यार्थीले आफ्नो पनि ज्यान लिएका थिए । मस्कोमा शुक्रबार भएको आक्रमणको विश्वभर निन्दा भएको छ  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गर्दै शोक सन्तप्त परिवार, जनता र रुसी सरकारप्रति समवेदना व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै रुसी सरकार र अन्य देशका अधिकारीहरूसँग दोषीलाई कारबाहीको कठघरामा ल्याउनका लागि ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको निन्दा गर्दै रुसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना व्यक्त गरेका छन् । अमेरिकाले घटनाका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको यसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् । यस्तै, नेपाल सरकारले पनि मस्कोमा भएको आक्रमणमा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतंकवादको निन्दा र भर्त्सना गर्छ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले मस्कोमा आतंकवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत जनाएको छ ।  साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार