सुनुवार समाज हङकङको देउसी कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

१० नोभेम्बर, हङकङ– सुनुवार समाज हङकङद्धारा बलिहाङ तिवारको उपलक्ष्यमा देउसी तथा भेटघाट कार्यक्रम–२०१८ जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न गर्यो ।
समाजका अध्यक्ष श्यामकर्ण सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका उपाध्यक्ष माया थुलुङ राई रहेकी थिइन । त्यस्तै गरी अन्य अतिथिहरुमा किरात याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान, किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष तेज कुमार राई, किरात पुमा राई तुप्खा बाङखालाका अध्यक्ष पेनगुन राई, खोटाङ समाजका अध्यक्ष टिका कोयी राई, नेपाल फाइनान्सका डाइरेक्टर धिरज कुमार राई, बगैचा लिमिटेडका सुवास राई लगायतका व्यक्तित्वहरु रहेका थिए ।
कार्यक्रमका सभापति र प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको कार्यक्रममा उपस्थित पाहुनाहरुलाई ढाकाको टोपी तथा मफलर लगाएर सम्मान गरिएको थियो । विभिन्न अतिथिहरुद्धारा शुभकामना मन्तव्य राखिएको उक्त कार्यक्रमको अन्त्यमा देउसी भैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रम सम्पन्न भएको थियो ।
२००४ मा स्थापित सुनुवार समाज हङकङले प्रत्येक वर्ष उधौली र उभौली संगै देउसी भैलो समेत मनाउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार