कास्कीमा अनुसन्धान जारी, रूपन्देहीको अभियोजनपत्रमा नाम…..

बुटवल, पोखरा — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिनामा आफू संलग्न नरहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयबाट पत्र लिए पनि रूपन्देही जिल्ला अदालतमा प्रस्तुत प्रहरी प्रतिवेदनमा भने उनले ‘बिनाधितो, बिनाप्रक्रिया ऋण लिएको’ उल्लेख छ । अनुसन्धान प्रतिवेदनका विभिन्न सात पृष्ठमा नौ ठाउँमा नाम भए पनि उनलाई अभियुक्त बनाइएको छैन । करिब १० हजार बचतकर्ता रहेको बुटवलको सुप्रिम सहकारीका १ हजार ८ सय ३१ सदस्यले प्रहरीमा गत चैत १ मा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले वैशाख ३ मा जिल्ला अदालतमा बुझाएको अभियोजनपत्रमा लामिछानेले बिनाधितो ऋण लिएको मात्र होइन, किस्ता तिर्दासमेत सहकारीकै पैसा अपचलन गरिएको उल्लेख छ । अभियोजनपत्रमा ऋणीको नाम र खाता नम्बर शीर्षकअन्तर्गत ८ नम्बरमा रवि लामिछाने/गोर्खा मिडिया प्रालि र बैंक खाता उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘रवि लामछिानेका नाममा २,००,००,००० (दुई करोड) व्यापार कर्जा स्वीकृत भई १,९६,००,००० (एक करोड छयानब्बे लाख) गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नं. ०४०१०१००००५७७७ मा ग्लोबल आईएमई बैंकमा जम्मा भएको देखिने कागजात भेटिएका छन् ।’ दुई करोड ऋणबापत चार लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको पनि प्रहरीले पुष्टि गरेको छ । प्रतिवेदनमा भन्छ, ‘संस्थाका बचत सदस्य रवि लामिछानेका नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरिएको छ । लामिछानेले वैशाख १० मा लेखेको पत्रको जवाफ फर्काउँदै सोमबार महान्यायाधिवक्ताको कार्यालयले रूपन्देही, चितवन र कास्कीका जिल्ला सरकारी वकिल कार्यालयको हवाला दिँदै उजुरी नपरेको उल्लेख गरेको छ । यही पत्रका आधारमा लामिछानेले छानबिन आवश्यक नरहेको दाबी गरेका छन् । उता, पोखराको सूर्यदर्शन सहकारीका विषयमा महानगरले तयार पारेको अध्ययन प्रतिवेदनमा पनि लामिछानेले कारोबार गरेको उल्लेख छ । पीडितले दीपेश पुन र लामिछानेसहित १८ विरुद्ध प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका करिब ४९ हजार बचतकर्ताको कम्तीमा ५२ करोड गोर्खा मिडिया नेटवर्कमा सारिएको तथ्यांक अहिलेसम्म फेला परिसकेको छ । यी कारोबार हुँदा लामिछाने कम्पनीका सेयरधनी सञ्चालक तथा प्रबन्ध निर्देशक थिए । सुप्रिम सहकारीले रकम पठाएका कम्पनीहरूको सञ्चालक समितिको विवरण शीर्षकमा गोर्खा मिडिया प्रालिका सञ्चालकमा दुई जनाको नाम उल्लेख छ । त्यसको एक नम्बरमा गितेन्द्रबाबु राईका नाममा १० लाख २० हजार सेयर संख्याबापत १० करोड २० लाख रुपैयाँ रहेको उल्लेख छ । दुई नम्बरमा रवि लामिछानेको नाम छ । उनका नाममा सेयर संख्या १ लाख ८० हजार रहेको उल्लेख छ । त्यसबापत १ करोड ८० लाख रुपैयाँ रहेको जनाइएको छ । बुटवल प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाम, रकम र कैफियत तथ्यसहित उल्लेख भए पनि मुद्दा प्रतिवादीको सूचीबाट उनको नाम भने गायब छ । अहिले महान्यायाधिवक्ताको कार्यालयले समेत कुनै उजुरी, छानबिन र हिनामिनामा संलग्न नरहेको पत्र थमाइदिएको हो । त्यस्तै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले समेत अनुसन्धान गरिरहेको छ । गृहमन्त्रीका रूपमा लामिछाने आइसकेपछि अनुसन्धानमा केही ढिलाइ भएको छ । पीडित बचतकर्ताले गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नामै किटेर थप ४ जना र १४ कम्पनीविरुद्ध गत माघ २२ मा उजुरी दिएका थिए । यसअघि भदौमा जाहेरी परेपछि असोज १८ मा १९ जनाविरुद्ध सहकारी ठगी अभियोगमा कास्की अदालतमा मुद्दा चलिरहेको छ ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिले रास्वपा सभापति लामिछाने, उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बाँस्तोला र १४ कम्पनीविरुद्ध माघ २२ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार प्रहरीले सहकारी ठगीमा पहिले नै जाहेरी परिसकेकाले नयाँ दर्ता नहुने र पुरानै दर्ता नम्बर कायम हुने बताएको थियो । ‘हामीले पूरक जाहेरीको दर्ता नम्बर माग्दा पहिलेकै दर्ता नम्बर यथावत् हुने जानकारी प्रहरीबाट आयो,’ उनले भने, ‘उक्त उजुरीले थप अनुसन्धान गर्न बाटो खुलेको भनेर प्रहरीले नै भनेको थियो ।’ थप छानबिनका आधारमा पूरक अभियोगपत्र तयार गरेर अदालत बुझाउने भनिए पनि छानबिनमै ढिलाइ भएको उनको गुनासो छ । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले लामिछानेसहित ४ व्यक्ति र १४ कम्पनीविरुद्ध पीडितले दिएको उजुरीलाई सूचनाका रूपमा लिएको र त्यसबारे अनुसन्धान भइरहेको बताए । ‘पहिले दर्ता भइसकेको मुद्दामा थप व्यक्तिको पनि संलग्नता भए/नभएको बारे प्रहरीले आफ्नै हिसाबले छानबिन गरिरहेको थियो,’ उनले भने, ‘उहाँहरूले उजुरी ल्याउनुभयो, त्यसको नयाँ दर्ता नम्बर भन्ने हुँदैन । पुरानै जाहेरीको अभिन्न अंगका रूपमा रहन्छ । थप व्यक्तिको संलग्नताबारे अनुसन्धानपछि पूरक अभियोगपत्र पेस हुने उनले बताए । ‘महानगरले दिने वित्तीय विश्लेषण प्रतिवेदनका आधारमा मात्रै कसलाई मुद्दा चलाउने भन्ने यकिन हुन्छ,’ उनले भने । पीडितले दोस्रोपल्ट उजुरी दिएपछि पोखरा महानगर प्रतिनिधि, विज्ञ टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पीडितका प्रतिनिधि सम्मिलित टोलीले सूर्यदर्शनको पुनः वित्तीय विश्लेषण प्रतिवेदन तयार गर्दै छ । महानगरको विज्ञ टोलीले तयार गरेको अघिल्लो प्रतिवेदनअनुसार १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधीन छ । प्रतिवेदनमा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ सहकारीले ऋण लगानी गरेको उल्लेख छ । सूर्यदर्शनमा सर्वसाधारणबाट संकलित रकम गितेन्द्रबाबु राई (जीबी) ले आफू र सञ्चालकहरूका नाममा पेस्कीका रूपमा निकाली हिनामिना गरेको र नक्कली कारोबारबाट फर्छ्योट गरेको देखिन्छ । सूर्यदर्शन सहकारीसँग कुनै साइनो नभएको दाबी गर्ने लामिछानेले पनि पेस्कीका नाममा एक करोड लिएको र राईकै शैलीमा अर्को खाता खडा गरी फर्छ्योट गरेको प्रतिवेदनमा उल्लेख छ । ग्यालेक्सी टेलिभिजनका जीबीका व्यापारिक साझेदार रहेका रवि लामिछानेका नाममा पनि एक करोड रुपैयाँ पेस्की निकालिएको थियो । सहकारीबाट कर्जा पाउने अधिकार बचतकर्ता सदस्यलाई मात्र हुन्छ । लामिछाने स्वयंले यो सहकारीसँग आफ्नो कुनै साइनो नभएको दाबी गर्दै आएका छन् । लामिछानेको कर्जा नं. ११६–४४५६ खडा गरी पुलेसो कर्जा शीर्षकमा खाता नम्बर ४९–००७७० मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिले पेस्की फर्छ्योट गरेको छ । तर, खातामा नगदमा उक्त रकम जम्मा भएको देखिँदैन । सहकारीले कुनै पनि नाफामूलक संस्थालाई ऋण दिन मिल्दैन । त्यस्ता संस्थालाई सदस्य बनाउनै मिल्दैन । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार