उमेरले ५ दशक कटिसकेका बलबहादुर गुरुङ (नाम परिवर्तन) ४५ लाख रुपैयाँ भन्दा बढीको सुन चोरीको घटनाले दुःखी त त्यसै थिए त्यो भन्दा पनि सुन कसरी चोरी भयो ? भन्ने प्रश्नै प्रश्नको भीडमा हराई रहेका रहेछन् । “हामी बुढा बुढी २ लाई बोल्नु भाषा आउँदैन, छोराले प्रहरी केस त गरेको छ, खै के हो के हो” उनले दुखेसो पोखे । कसै भाषा जान्ने बुझ्ने नेपाली दाजु भाइ वा समाजले चोरी केसको फलोअप गर्न छोरा बुहारीलाई सहयोग गरेर जति सक्दो चाडो चोरलाई पक्रिएर कार्बाही गर्दै आफ्नो सुन फिर्ता पाउँन सहयोग गरोस भन्ने उनको मनसाय रहेको पाइयो ।
याउ मा तेई स्थित भाडाको फ्लाटमा परिवार सहित बस्दै आएका उनि अवकास प्राप्त नेपाली सेना समेत हुन् । “सबै भन्दा बढी सुन त बुढाकै लग्यो नी, ठ्याक्कै नाम तोक्नु नमिल्ने शंका त छ नि…” छेउमै बसेकी उनकी श्रीमतीले न्याउँरो मुख लगाउँदै दुखेसो पोखिन । नेपाल लम्जुङबाट बसाई सरि हाल मोरङ, रमाईलो बयरबनका बासिन्दा उनि गत वर्ष मात्रै हङकङ आएका रहेछन् । छोरा बुहारीले काम गर्नु पर्दैन, जति दुःख गर्ने पहिले गर्नु भयो भन्दा भन्दै पनि २ वटा काम गरेर कमाएको सबै पैसाले उनले सुन जोड्ने गरेका रहेछन् । बल बहादुर, उनकी श्रीमती, छोरा बुहारी, नातिनी लगायत परिवार सबैको गरी २५ टिल बढी सुन चोरीको केस हाल हङकङ प्रहरी सी.आई.डी. टिमको इन्भेष्टिगेशनमा रहेको उनको छोराले बताए । आफ्नो त चोरी भयो–भयो, प्रहरीले भेटिन्छ भन्ने आश्वसान दिए पनि उत्ति धेरै आशा भने छैन तथापी अब आउँने दिनहरुमा अरुले भने विशेष सजगता अपनाउँनु पर्ने उनले सुझाव दिए ।
यसरी भएको रहेछ सुन चोरीको घटनाः
उनका छोरा राम बहादुर गुरुङ (नाम परिवर्तन) ले बताए अनुसार सुन चोरीको घटना गत १५ मे मंगलबार साँझ ६–७ः२० बजे भित्रमा भएको हो । घटना भएको साँझ करिब ५ः३० बजे तिर घरमा उनकी साली, काम गर्ने सहयोगी बहिनी र सानी छोरी मात्रै भएको बखत कसैले बाहिरबाट ढोका ढकढक्यायो । सिटिङ रुममा गेम खेलिरहेकी ५ वर्षिय उनकी छोरीले ढोका खोलिदिईन । किचनमा भएकी काम गर्ने सहोयोगी बहिनी र रुममा भएकी सालीलाई त्यो कुरा थाहा पाएनन् । केही समय पछि किचनबाट सिटिङ रुमतिर आउँदा सिटिङ रुपमा आफ्नै शुरमा फोनमा मनपरी बोलिरहेको एउटा गोरो वर्णको अपरिचित नेपाली युवा ढोकाबाट हतारहतार बाहिरिए । दुबैले देख्न त देखे तर अनुहार राम्ररी ठम्याउँन सकेनन् ।
उक्त घटनालाई सामान्य ठान्दै त्यसको २०–२५ मिनटमा उनिहरु नानी खेलाउँन पार्कतिर गए । पार्कबाट ७ः३० तिर घर फर्किदा ढोकाको चुकुल फुटाएको र ढोका आधा उघ्रिएर अवस्थामा रहेछ । पक्कै पनि चोरी भएको हो भनि घरका सबैलाई फोन गर्दै हत्तपत्त भित्र चेक गर्दा सुन चोरी पाइयो ।
सुन चोरीको घटना, आशंकै आशंकाः
१. घरको ढोका मेटल र काठको गरी २ लेभलको भएता पनि सामान्यतया सजिलोको लागि काठको ढोका मात्रै लगाउँने गरिएको रहेछ । काठको ढोकाको जडित मेटल चुकुल पनि उत्ति सजिलै फुटाउँन नसक्ने भएता पनि उक्त घटनामा भित्र पट्टिको मेसिन भूईमा लडिरहेको रहेछ । सम्भवत कसै संग चाबी भएको र चाबीले ढोका खोली भित्र स्क्रु ड्राइभर प्रयोग गरी फुटाएको नाटक गरिएको हुन सक्ने परिवारको आशंका रहेछ ।
२. सुन चोर घरमा बाराम्बार आउँने र सबै थाहा पाएको व्यक्ति वा भरपर्दो खबर पाएको व्यक्ति हुनु पर्दछ ताकी घटना पश्चातको वस्तुस्थिती हेर्दा सबै कोठाको दराजहरुको ड्र तानिएको मात्रै छ, पट्याएर राखेको कुनै कपडा चलाएको छैन । सुन राखेको दराजको ड्र पनि नफुटाएर अर्को ड्रमा भएको चाबी प्रयोग गरी खोलेको छ ।
३. एकै ड्रमा भएका ठूलो–ठूलो सुनको गहनाहरु लगेता पनि केही स–साना गहनाहरु भने देखि–देखि पनि छाडिएको छ । जहाँ सम्मकी सानो नानीको भने १ पोका सुनै सुरक्षित रहेछ ।
अपनाउँनु पर्ने सुरक्षाका उपायाहरुः
१. सक भर सुन धेरै नलगाउँने, नदेखाउँने, लाए भएको पनि बैंक लक्कर वा घरमै सेफ बक्स किनी सुरक्षित तबरले राख्ने ।
२. घरको दुबै ढोकामा चाबी लगाएर लक गर्ने ।
३. पहिलो पल्ट घर सर्दा वा बसिरहेको घरको चाबी हराएमा तुरुन्त अर्को चाबी लक चेन्ज गर्ने ।
४. कसैले ढोका ढकढक गरेमा वा बेल बजाएमा स–साना नानीहरुलाई ढोका उघार्न नदिने, नसिकाउँने ।
५. सुरक्षाको लागि घरमा सी.सी.क्यामेरा जोड्ने ।
६. जो सुकै अन्जान व्यक्तिहरुलाई कोठामा नलैजाने ।
(आज बिहान पीडितको घरमा संखुवासभा समाज हङकङका सल्लाहकारद्धय लालबहादुर गुरुङ र उपेन्द्र कोरङगीको साथमा म जाँदा भएको कुराकानीमा आधारित रिपोर्ट)