कोरोनाका बिरामीले भरिन थाले उपत्यकाका अस्पताल…..

काठमाडौँ — काठमाडौं उपत्यकाका अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्दै गएको छ । सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको चाप केही सातायता बढ्दै गएको हो । कोरोना बाहेकका बिरामीको संख्या पनि वृद्धि भएको छ । निषेधाज्ञा खुकुलो हुनु, जनस्वास्थ्यका मापदण्डको पालना नहुनुले पनि संक्रमण बढ्दै गएको विज्ञहरु बताउँछन् । सिभिल अस्पतालका आईसियू इन्चार्ज डा. विदेश विष्टका अनुसार हाल अस्पतालमा खोप लगाउने अनि प्रमाणीकरण गर्नेको भीडसँगै कोभिड र ननकोभिड बिरामी पनि बढेका छन् । उनले एक सातायता बिरामीको चाप बढ्दै गएको बताए । डा. विष्ट भन्छन्, ‘हुन त हाम्रो अस्पतालमा कोभिड बिरामी कहिल्यै कम भएनन् । काठमाडौंमा घटेपनि बाहिरबाट रिफर भएर आइरहन्छन् । आईसियू पनि कहिल्यै खाली भएको छैन । उनका अनुसार १५ वटा आईसियू प्याक नै छ र ५० बेड एचडीयू बेड पनि प्याक नै छन् । ‘भर्ना भएको बिरामी खाली गराउँदैछौं ।ओपीडी तथा बेड म्यानेज गर्न हामीलाई हम्मेहम्मे भएको छ । कोभिडको बेड बढाउने स्थितिमा पुगिसकेका छौं,’उनले भने । अस्पताल परिसरमा नयाँ बन्दै गरेको भवनमा ५० देखि १०० बेड क्षमता बढाउने तयारी भइरहेको बताए । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले अस्पतालमा रहेको निषेधाज्ञा खुकुलिएपछि अवस्था दाँज्दा बिरामी भर्ना हुने ३ गुणा बढेको छ । उनका अनुसार निषेधाज्ञा अघि दैनिक १० जना भर्ना भइरहेकोमा हाल औसतमा ३० जना कोभिडका बिरामी भर्ना भइरहेका छन् । उनले ३०० बेडमा २६० जना कोभिडका बिरामी उपचार गराइरहेको जानकारी गराए । उनले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि कोरोनाका बिरामी बढेका छन् । उपत्यकाभित्र र बाहिरबाट बिरामी आइरहन्छन् । भेन्टिलेटर र आईसीयू पनि भरेको अवस्था नै छ । उनका अनुसार ननकोभिड बिरामीको पनि उत्तिकै चाप छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले बिरामीको चाप बिस्तारै बढ्दै गइरहेको बताए । डा. बाँस्तोला भन्छन्, ‘निको हुने डिस्चार्ज भइरहेका छन् र भर्ना हुने पनि छन् । हिजोअस्ति वार्डमा बिरामी धेरै भएर इमरजेन्सीमा बिरामी होल्ड भएको अवस्था थियो भने आज डिस्चार्ज गर्दै बिरामी सार्ने काम भएको छ । तर चापको हिसाबले हेर्ने हो भने निषेधाज्ञा पछिको अवस्थापछि बिरामी बढेका छन् । यस्तै रह्यो भने बेड भरिन सक्ने आशंका गर्न सकिन्छ । वीर अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले आईसीयूको स्थिति प्याक रहेको जनाउँदै दैनिक १०० को हाराहारीमा कोभिडको बिरामी उपचार गराइरहेको बताए ।कार्की भन्छन्, ‘बिरामीको संख्या हेर्दा बिरामीको आउने क्रम खासै तलमाथि भएको छैन । अहिले धान्ने सक्ने अवस्था नै छ । मेडिसिटी अस्पतालका सुपरिटेन्डेन्ट डा. राज रानाले उपत्यकाभन्दा पनि बाहिरबाट बिरामीहरु रिफर भएर आउनको संख्यामा वृद्धि भएको जनाए । डा. राज भन्छन्, ‘आज मात्रै मेडिसिटीले ४ जना कोभिडका बिरामीलाई प्लेनबाट उद्धार गर्दैछ । काठमाडौंबाहिर सिरियस बिरामी आइरहेका छन् । सायद धेरै काठमाडौंवासीले खोपको पहुँच पाएर पनि होला । खोपले पनि काम गरेको होला उपत्यकाबाट सिरियस बिरामी खासै आएका छैनन् । ’ उनका अनुसार भर्ना हुने कोभिडका बिरामी १५ देखि २० प्रतिशतले बढेका छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार