किन थुप्रियो सडकमा फोहोर,दुर्गन्धित बन्यो काठमाडौं…..

काठमाडौं, काठमाडौंको सडक अनि घरघरमा फोहोरको डंगुर बढ्न थालेपछि यसको रहस्य बुझ्न रातोपाटीको टिम आइतबार दिउँसो सिसडोलतिर जाँदा बाटोमा कन्तबिजोग देखियो । काठमाडौंमा फोहोर थुप्रिनुको कारण रहेछ, फोहोर व्यवस्थापन गर्ने स्थलको बाटो हिलाम्मे हुनु । नुवाकोटको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको छ । तर, गत असारदेखि नै त्यहाँ दुईवटा डोजरको काम फोहोर बोकेका ट्रकलाई धकेल्नु रहेको छ । कसैसँग एकछिन बोल्न पनि फुर्सद नहुने गरी डोजरका चालकहरु फोहोरका गाडीलाई दलदले हिलो कटाउन पछाडिबाट धकेलिरहेका हुन्छन् । सिसडोलस्थित कागती गाउँको कोल्पु खोलापारि फोहोर बिर्सजनस्थलसम्म झन्डै २ सय मिटर बाटो नराम्ररी बिग्रिएको छ । हरेक बर्ष बर्खायामका त्यहाँ पुरानै नियति दोहोरिने गरेको सवारी चालकहरु बताउँछन् । फोहोर व्यवस्थापनको जिम्मा लिएका जिम्मेवार निकाय काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतले बाटोको मर्मत नगरेका कारण स्थानीयबासी तथा सवारी चालकले समस्या भोग्नुपरेको स्थानीय र चालकहरुले  बताए । दलदले हिलोमा गाडीहरु फसेर अगाडि बढ्न नसकेपछि दुईवटा डोजरले छिनछिनमा हिलो सफा गर्ने र पछाडिबाट धकेल्ने गर्छन् । फोहोर बोकेको एउटा गाडीलाई सो बाटो काट्न १० मिनेट बढी समय लाग्ने गरेको छ । बिहान ४ बजे फोहोर बिर्सजन गर्न सिसडोल छेउ पुगेका चालकहरुले दिउँसो दुई तीन बजेसम्म खानासमेत नखाई पालो कुर्नुपर्ने अवस्था छ । जसका कारण काठमाडौं उपत्यकाका सडकमा झन्डै २ सातादेखि फोहोर उठ्न सकेको छैन । यसले एकातिर शहरलाई कुरुप पारेको त छ नै, अर्कोतिर रोगब्याधी फैलने जोखिम पनि बढाएको छ । फोहोर बिर्सजनका लागि झन्डै डेढ सयभन्दा बढी गाडीहरु दुर्गन्ध फैलाउँदै सडकमा लाइन बसेका हुन्छन् । नुवाकोटको सिसडोलमा काठमाडौं उपत्यका ३ जिल्लासहित काभ्रेको बनेपा, धुलीखेलसम्मका गरी १९ वटा नगरपालिकाको दैनिक १ हजार मेट्रिकटन भन्दा बढी फोहोर पठाउँदै आएका छन् । समयमा फोहोर खसाल्न नपाउँदा लामो समय सडकमा गाडी रोकेर बस्नुपर्दा बेला–बेला स्थानीयले सवारी साधन र चालकमाथि नै आक्रमण गर्ने गरेको उनले सुनाए । उपत्यकाका ३ जिल्लाका मेयरहरुलाई सिसडोलको समस्या थाहा भए पनि समाधानका लागि काम नगरेको उनको गुनासो छ । काठमाडौंबाट फाहोर ब्यवस्थापनका लागि सिसडोल जाने गरेका चालक मानबहादुर कार्कीले फोहोरकै लेदोमाथि माटो हालेर बाटो बनाएका कारण समस्या भएको सुनाए । उनले महानगरपालिकाले समस्या समाधान नगरेका कारण विभिन्नखालका समस्या आउने गरेको बताए । जति भने पनि नगरपालिकाले बाटो बनाउनका लागि नसुनेको स्थानीयबासी तथा चालक सुरेन्द्र बलामीले रातोपाटीलाई बताए । हरेक दिन फोहोर खसाल्ने स्थलमा डोजरले अगाडिबाट तान्ने र पछाडिबाट धकेल्नुपर्ने अवस्था रहेको उनले बताए । असारदेखि नै यस्तो समस्या भोग्नुपरेको बलामीको भनाइ छ । पछाडिबाट डोजरले ठेल्दा ट्रिपरको पछाडिको ढाला समेत कुच्चिएको उनले बताए । दुई–तीन दिनमा बल्ल पालो आउने गरेको, त्यो पनि बिहानै गए पनि बेलुका बल्ल फोहोर खसाल्न सकिने उनले दुःखेसो सुनाए । फोहोरको डङ्गुरमाथि नै गाडी गुडाउनुपर्ने भएकाले फोहोर व्यवस्थापनका लागि समस्या भएको उनले बताए ।

सडकमा हरेक दिन झगडा हुन्छ

सिसडोलमा काठमाडौंबाट फोहोर बोकेर जाने ट्रिपर चालकमध्ये ५० प्रतिशत चालकहरु स्थानीय युवा छन् । उनीहरुले अन्य जिल्लाका चालकहरुको फोहोर व्यवस्थापन गर्ने पालो मिचेर हैरान दिने गरेको बाहिरका चालकको गुनासो छ । यसले गर्दा हरेक दिनजसो कचिंङ्गल हुने गरेको छ । पालो मिच्ने गरेका कारण कुपन सिष्टमबाट फोहोर व्यवस्थापन गर्ने व्यवस्था गरिए पनि स्थानीय चालकले बिरोध गरेको र कुपन सिस्टम नमानेको चालक विष्णुबहादुर सार्कीले गुनासो सुनाए । बिहानैदेखि फोहोरका गाडी लिएर गएकाहरुले खाना खान नपाउने, स्थानीय पसलमा एक बोतल पानीको ४० रुपैयाँसम्म लिने र चाउचाउको भरमा बस्नुपर्ने उनको गुनासो छ । एउटा गाडीलाई फोहोर खसाल्न ५ मिनेट बढी समय लाग्ने बताउँदै फोहोर खसाल्ने स्थानको बाटोमा ढलान गर्ने र भित्तामा पानीको निकास राख्ने हो भने सहज हुने चालक मानबहादुर कार्की बताउँछन् । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार