विराटनगरमा ल्यान्डिङ गियर खुलेको थियो तर पाइलटलाई झुक्यायो इन्डिकेटरले…..

काठमाडौँ — ल्यान्डिङ गियर (पांग्रा) मा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौं फर्किएको बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालकदल ‘झुक्किएको’ प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यो घटना छानबिनमा संलग्न स्रोतका अनुसार, उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको, कुनै समस्या नरहेको देखाएको छ । ‘एफडीआरमा पांग्रा खुलेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर ककपिटमा रहेका दुईवटा इन्डिकेटरमध्ये पहिलो इन्डिकेटरको संकेत बत्तीले ‘फल्स वार्निङ’ दिएकोले चालकदल विराटनगरमा झुक्किएछन् । छानबिनकर्ताहरुले उक्त विमानको ल्यान्डिङ गियरमा कुनै समस्या नदेखिएको भनेका छन् । छानबिनमा संलग्न अधिकारीहरुले प्रारम्भिक अनुसन्धानका आधारमा उक्त विमान विराटनगरमा त्यस दिन ‘अवतरण गराएको भए हुने’ भन्ने उल्लेख गरेका छन् । यसैबीच बुद्ध एयरबाट गठन गरिएको छानबिन कमिटीले पनि त्यस दिन उडानमा रहेको ‘अल्फा नोभेम्बर इन्डिया’ कलसाइन भएको सो एटीआर विमानको ल्यान्डिङ गियरमा समस्या नभएको जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले गठन गरेको छानबिन समितिले त्यो विमानको एफडीआर अध्ययन सकिसकेको छ । ‘कमिटीले एफडीआर अध्ययन सकिसकेको छ,’ विश्वस्त स्रोतले भन्यो, ‘अब सिभीआर (ककपिट भ्वाइस रेकर्डर) मा रेकर्ड एटीसी र चालकदलको संवाद उतार्ने काम भइरहेको छ । समितिले त्यसदिन काठमाडौंबाट उडेदेखि काठमाडौंमा अवतरण भएसम्मको १ घन्टा ५६ मिनेटको संवाद सुनिसकेको छ । यो संवादले पाइलट र एयर ट्राफिकबीच भएको कुराकानी र चालक दल कहाँनेर झुक्किए भन्ने विषयलाई प्रष्ट्याउने छ । नेपालमा मात्र होइन संसारभर जहाजमा बेलाबेला सिस्टम इरर, फल्स वार्निङले पाइलटलाई हैरान पारेका घटना छन्,’ बुद्धका सम्बद्ध अधिकारीले भने, ‘यो जनधनको क्षति नभएको अकरेन्स (घटना) हो, यो (एक्सिडेन्ट) दुर्घटना होइन । यस्तो अवस्थामा गुड ह्याण्डलिङ गर्न सक्ने क्षमता पाइलटले देखाउनुपर्छ । यो घटनापछि चालकदलका सबै सदस्यलाई प्राधिकरणको हवाई सुरक्षा विभागले ग्राउन्डेड गरेको छ । उनीहरुलाई अपरेटरले उडानमा पुनः फर्काउन ‘रिफ्रेसर’ तालिम वा छोटो प्रशिक्षण दिलाउँछ । शुक्रबारभित्र हाम्रो छानबिनको प्रतिवेदन प्राधिकरणलाई बुझाउने छौं । प्राधिकरणको छानबिनपछि जे निर्देशन आउँछ पालना गर्ने छौं,’ ती अधिकारीले भने, ‘प्राधिकरणको प्रतिवेदन नआएसम्म चालकदल उडानमा जाँदैनन् ।’ त्यस दिनको उडानमा बुद्ध एयरका वरिष्ठ क्याप्टेन आङ्‌गेलु शेर्पा र कोपाइलट अमन अन्सारी उडानमा थिए । शेर्पा बुद्ध एयरको स्थापनाकालदेखिका पाइलट हुन् । ११ वर्षअघि बुद्धले एटीआर-७२ विमानबाट पहिलो काठमाडौं-विराटनगर उडान गर्दा शेर्पा नै थिए । उनी बुद्धका प्रशिक्षक पाइलट र नागरिक उड्डयन प्राधिकरणमा पाइलटहरुको जाँच गर्ने डिसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन् । उनको उडानमा रहेका कोपाइलट अन्सारी फ्रेस पाइलट हुन् । अन्सारीसँग सय घन्टा भन्दा कम उडेको अनुभव छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार