प्रदेश १ का नेता राजेन्द्र राई मुख्यमन्त्री…..

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री राईलाई शपथग्रहण गराए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धनबाट राई मुख्यमन्त्री बनेका हुन् । लामो समयसम्म प्रदेशको राजनीतिमा साथ दिँदैआएका भीम आचार्यलाई विस्थापित गर्दै राई मुख्यमन्त्री बने । माधवकुमार नेपाल निकट रहेका आचार्य एमाले विभाजन हुँदा नेकपा (एस)तर्फ नगएर एमालेमै बसेका थिए । भोजपुरको षडानन्द नगरपालिका झ्याँउपोखरीमा २०२७ सालमा जन्मिएका राई स्कुलमा अध्ययन गर्दा नै राजनीति सुरुवात गरेका थिए । दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष बन्ने थोरै विद्यार्थी नेतामा राई पर्छन् । अनेरास्ववियुको १५औं र १६औं महाधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका थिए । उनको नेतृत्वमा २०५९ सालमा अनेरास्ववियुले गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो । त्यस समयसम्म पार्टीले गणतन्त्रको बारेमा औपचारिक निर्णय गरेकै थिएनन्’ नेकपा (एस)का केन्द्रीय सदस्य मोहन गौतमले भने, ‘राई कार्यकर्तालाई संरक्षण गर्ने र आफ्नो कुरा स्पष्ट रुपमा राख्ने नेतामा पर्छन् । सैद्धान्तिक तथा बैचारिक रुपमा पनि राई प्रखर मानिन्छन् । स्कुल पढ्दै गर्दा उनी अनेरास्ववियुको सम्पर्कमा पुगेका थिए । ‘पञ्चायतकालको राजनीतिमा काका, मामा थिए वा परको गाउँलेहरूलाई तान्दै सुरु भएको हो । राजेन्द्रको चाँहि पार्टीमा कोही थिएन । उनी कराँते सिक्थे यस्तो मानिसलाई संगठित गर्दा काम दिन्छ भनेर अखिलले ग्रुमिङ गर्दैल्याएको हो,’ धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति इच्छापूर्ण राईले भने, ‘राजनीतिक जीवनमा उनी निष्कलंक हुन् । प्रचार प्रसारमा खासै ध्यान नदिने तर निरन्तर दत्तचित्त भएर खट्ने नेता हुन् । राईकाअनुसार संगठनले त्यस समयमा फरक-फरक क्षेत्रमा विशेष क्षमता राख्ने विद्यार्थीलाई संगठित गर्दथ्यो । एसएलसीपछि राई अध्ययनका लागि काठमाडौंमा आएका थिए । त्यसपछि पढाइ र राजनीतिसँगै अघि बढाए । राई नेपालको ठूलो क्याम्पसमध्यको एक आरआर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा २०४९ सालमा सभापतिमा निर्वाचित भएका थिए । २०५४ सालमा एमाले र माले विभाजनपछि महेन्द्ररत्न क्याम्पसको स्ववियुमा पूरै प्यानल जित्दा सभापतिमा राई पराजित भएका थिए । राईले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । लामो समयदेखि उनी माधवकुमार नेपाल निकट रहँदैआएका छन् । माधव नेपाल प्रधानमन्त्री बन्दा राई उनको सल्लाहकारको रुपमा नियुक्त भएका थिए । नेपाल एमालेको शीर्ष नेतृत्वबाट बाहिरिएपछि राई बिस्तारै जिम्मेवारी विहीन बन्दैगए । अन्य समूहले भने पार्टीभित्रको राजनीतिमा उनीभन्दा कनिष्ठ नेताहरूलाई प्राथमिकता दिएर अघि बढाएका थिए । अहिले राई जुन ठाउँमा पुगेका छन् उनी यहाँ पुग्न लायकको नेता हो । संघर्ष, इमान साथै २०६२-०६३ को आन्दोलन र अखिलमा खेलेको भूमिकाले गर्दा कुनै न कुनै समयमा उनी अहिलेको पदमा पुग्ने क्षमता राख्थे,’ इच्छपूर्णले भने ‘दल विभाजनको क्रमले चाँडो नै नेतृत्वमा पुर्‍यायो । सरकारको जिम्मेवारीको हिसाबले उनी टेष्टेड होइनन् । पास हुन्छन् वा फेल हुन्छन् भोलिको दिनले बताउँछ । यसबाहेक आर्थिक पक्षमासमेत बिबादमा नमुछिएका नेतामा पर्छन्, राई । २०७४ सालको आमनिर्वाचनमा प्रदेशसभामा भोजपुर १ बाट निर्वाचित भएका थिए उनी। २०६८ सालमा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका राई नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । भदौमा नेकपा एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा राईसहितका नेताहरूले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार