अत्याधुनिक खोप भण्डार केन्द्र समयमा नबन्दा ‘कोल्ड रूम अलपत्र’…..

काठमाडौँ — जापान सरकारले खोप भण्डारका लागि एक महिनाअघि अनुदानमा दिएका ९ वटा कोल्ड रुम (फ्रिज) मध्ये दुईवटा त्रिभुवन विमानस्थलमै थन्किएका छन् । टेकुस्थित स्वास्थ्य विभागको केन्द्रीय खोप भण्डारका लागि जापानले अनुदानमा दिएका सातवटा फ्रिज भने स्थान अभाव भएपछि प्रदेशमा पठाइएका छन् । तीमध्ये पनि हेटौंडा, पोखरा र धनगढीका कोल्ड रुम सञ्चालनमा आउन सकेका छैनन् । केन्द्रमा ठाउँ नभएकै कारण कोभ्याक्सले दुई महिनाअघि उपलब्ध गराएका १० वटा कोल्ड रुममध्ये दुईवटा मात्रै विभागको स्टोरमा जडान गरेर बाँकी प्रदेशमा पठाइएको थियो । जापानले अनुदानमा दिएको र कोभ्याक्सबाट प्राप्त हरेक कोल्ड रुममा ४० हजार लिटर खोप भण्डार गर्न सकिन्छ । यस हिसाबले यी कोल्ड रुममा अधिकतम करिब ४० लाख भाइलसम्म खोप भण्डारण गर्न मिल्छ । कोल्ड रुम जडान र ढुवानीको जिम्मेवारी भने संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को हो । कोल्ड रुम प्रयोगविहीन र केन्द्रीय स्तरको अत्याधुनिक खोप भण्डार केन्द्र समयमा नबन्दा कोभिडबाहेकका नियमित खोप पर्याप्त मात्रामा भण्डार गर्न सकिएको छैन । यसको असर पछिल्लो समय टाइफाइडविरुद्धको खोपमा परेको छ । भण्डारस्थल नहुँदा उक्त खोप ल्याउन समस्या भएको स्वास्थ्य विभागका अधिकारीहरू बताउँछन् । चैत दोस्रो साता आइपुग्ने कोभिडविरुद्धको ६२ लाख मात्रा फाइजर खोपको भण्डारमा पनि समस्या पर्न सक्ने भन्दै उनीहरू चिन्तित छन् । स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको कोल्ड रुमबारे आफूलाई जानकारी नभएको बताए । विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्रप्रसाद मरासिनीले कोल्ड रुमका लागि स्थान व्यवस्थापन गरिरहेको बताए । ‘भ्याक्सिन सेन्टर बनाउन ठेक्का पाएका निर्माण व्यवसायीलाई चाँडै काम अगाडि बढाउन पटक–पटक बोलाएर छलफल गर्‍यौं,’ उनले भने, ‘पेस्की लिइसकेको छ । हामीले त तह लगाउन सकेनौं ।’ युनिसेफको कोल्ड चेन कन्सल्टेन्ट नवराज खड्काले जडान गर्ने एउटा मात्र टोली भएको र सातै प्रदेशमा क्रमशः काम गरिरहेको बताए । ‘एउटा रुम जडान गर्न कम्तीमा दुई दिन लाग्छ,’ उनले भने, ‘विभागले ठाउँ उपलब्ध गराए विमानस्थलबाट ल्याएर जडान गर्न समस्या छैन । टेकुमा बनाउने भनिएको केन्द्रीयस्तरको अत्याधुनिक खोप केन्द्रको जग पनि ढलान भएको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले अलपत्र अवस्थामा छोड्नु उचित नभएको बताए । केही गरी टेकुमा राख्ने ठाउँ नभए पथलैयास्थित केन्द्रीय स्तरको भण्डार कक्षमा भए पनि व्यवस्थापन गरिने उनको भनाइ छ । विभागको कोल्ड चेन एन्ड भ्याक्सिन व्यवस्थापन शाखा प्रमुख बडेबाबु थापा भन्छन्, ‘फाइजरबाहेक नियमित खोप पनि विस्तारै आउँदै छ, स्थान अभावका कारण कोचाकोच राख्न पनि गाह्रो छ ।’ केन्द्रीय खोप भण्डार कक्ष १ लाख २५ हजार लिटर क्षमताको छ, त्यसमा २५ देखि ३५ प्रतिशत मात्र खोप भण्डार गर्न सकिन्छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार