भोट हाल्न आतुर छ, तिङ्लाका बासिन्दा…..

सोलुखुम्बु — अघिल्लो तीनै तहको निर्वाचन बहिष्कार गरेको नेपालकै एक मात्र वडा हो, तिङ्ला । तत्कालीन अवस्थामा नेचासल्यान गाउँपालिका–६ कायम भएको तिङ्लाले राज्य पुनर्संरचनामा आफ्ना माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कार गरेको थियो । अपायक पर्ने पालिकामा गाभिएपछि यहाँका बासिन्दाले चुनावमा कुनै पदमा उम्मेदवारी नदिई भोटसमेत हालेका थिएनन् । मुख्य तीन पार्टी रहेको तिङलामा स्थानीयबीचको एकताले सबै तहको निर्वाचन बहिष्कार सम्भव भएको थियो । अहिले माग सम्बोधन गर्दै सोलुदूधकुण्ड नगरपालिका–११ कायम गरिएपछि उनीहरु आसन्न स्थानीय निर्वाचनमा मतदान गर्न आतुर छन् । ‘तिङ्लालाई नगरपालिकामा गाभ्न ठूलो संघर्ष गर्‍यौं, माग पूरा भएको छ,’ संघर्ष समितिका संयोजक तथा स्थानीय अगुवा बालकुमार कार्कीले भने, ‘अब मतदान गरेर जनप्रतिनिधि छान्ने समयको पर्खाइमा छौं ।’ नेचासल्यान गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको संयुक्त सिफारिसमा शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७५ माघ ११ मा तिङलालाई नगरपालिकामा गाभ्ने निर्णयपछि उनीहरुको माग पूरा भएको हो । ‘हामी पार्टीभन्दा माथि उठेर गाउँका लागि एकजुट भएर आन्दोलनमा होमिएका थियौं, एक जना पनि उम्मेदवारी नदिने र भोट नहाल्ने कठोर कदमकै कारण माग पूरा भएको हो,’ संयोजक कार्कीले भने । देश संघीयतामा गएपछि पहिलो पटक भएको निर्वाचनमा एक जना पनि जनप्रतिनिधि नहुँदा स्थानीयले सरकारी काम लिन ठूलै सास्ती खेप्नुपरेको थियो । ‘हामीले गाउँमा जनप्रतिनिधि पाएनौं, कर्मचारीको भरमा ५ वर्षसम्म वडा चल्दा निकै समस्या भयो,’ स्थानीय कुमारी नेपालीले भनिन् । जनप्रतिनिधि र कर्मचारी दुवैको काम गर्नु निकै चुनौतीपूर्ण बनेको वडा सचिव ख्यामराज खतिवडाको भनाइ छ । उनले पहिलो पटक कर्मचारीको रूपमा वडाध्यक्षको समेत जिम्मेवारी सम्हालेका हुन् । तिङ्लामा जनप्रतिनिधिले गर्नुपर्ने जटिल काम भने नगरप्रमुखले नै गर्दै आएका थिए । ‘मैले जनप्रतिनिधिविहीनतामा पनि अधिकतम समय तिङ्लाली नागरिकलाई दिएँ,’ नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले भन्छन् । २०७४ को स्थानीय चुनावमा २ हजार ४ सय ७६ मतदाता रहेको तिङलाका ५ वटै मतदान केन्द्रमा एकजना मतदाता पनि भोट खसाल्न गएनन् । निर्वाचन आयोगको टोली रित्तो मतपेटिका लिएर सदरमुकाम फर्किएको थियो । यस पटक भने मतदाता संख्या बढेर २ हजार ८ सय २८ पुगेको छ । यस पटकको चुनावमा ६ वटा पार्टीले वडामा उम्मेदवारी दिँदै छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राप्रपा चुनावी मैदानमा छन् । ‘हामीलाई त कहिले वैशाख ३० आउला र भोट खसाल्न पाइएला भन्ने भइरहेको छ,’ स्थानीय दुर्योधन कार्कीले भने । २५ वर्षपछि चुनावमा भाग लिन पाउने भएपछि उनीहरु निकै उत्साहित छन् । ‘लामो समयपछि जनप्रतिनिधि चुन्न पाउने भएकाले मतदातामा उमंग छ,’ सिंहकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार खड्काले भने । कांग्रेसको अन्तिम सशस्त्र क्रान्तिसमेत भएको टिम्बुरबोटे अवस्थित तिङलाले हरेक राजनीतिक तथा सामाजिक मुद्दामा विद्रोही छवि स्थापित गर्दै आएको छ । ‘यो चुनावले भने तिङलाली शान्तिपूर्ण मतदानमार्फत जनप्रतिनिधि पाउनु सकारात्मक कुरा हो,’ स्थानीय गोमा बस्नेतले भनिन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार