पृथ्वी शाहको ४४ करोड शंकास्पद कारोबार…..

काठमाडौँ — नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण कान्तिपुरले प्राप्त गरेको छ । उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूको भनाइ छ । राष्ट्र बैंकले पटक–पटक गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको विवरणअनुसार शाह, भाइ विजयविक्रम शाह, साझेदार देवेन्द्र ढुंगाना तथा आफन्त र कर्मचारीका नाममा ११ बैंकमा खाता खोलिएको छ । यी खातामा विभिन्न नामबाट फरक–फरक मितिमा पैसा आएको छ । उनले ग्लोबल आईएमई बैंकमा २३, सिद्धार्थ बैंकमा आठ, सनराइज बैंकमा चार, प्रभु बैंकमा तीन, कुमारी बैंकमा तीन, एनसीसी बैंकमा तीन, नबिल बैंकमा दुई, एनएमबी, सेञ्चुरी र प्राइम बैंकमा एक/एक पटक पैसा ल्याएका छन् । शंकास्पद रकम नदेखिएका दुई खाता मात्र रोक्का नगर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति दिएको थियो । कुमारी बैंकको एक र एनसीसी बैंकको एक खाता खुला गर्न मिल्ने भनेर विभागले गरेको निर्णयको फोटोकपी गरेर अर्थमन्त्री जनार्दन शर्माले शाहका सबै खाता खुला गरिदिन राष्ट्र बैंकलाई अनधिकृत निर्देशन दिएका थिए । कारोबारमध्ये केही रकम निकालिसकिएको छ । बाँकी रकमको खाता राष्ट्र बैंकले रोक्का राखिदिएको छ,’ विभाग स्रोत भन्छ, ‘विभागले प्रारम्भिक जाँचबुझ जारी राखेको छ । शाह र उनको समूहका नाममा भएका कम्पनीको कारोबार हेर्दा यो रकम फुकुवा हुने सम्भावना छैन ।’ खाता रोकिएकामध्ये ६ वटा कम्पनीको विषयमा त उनले सर्वोच्च अदालतमा निवेदन नै दिएका छन् । जम्मा ६ कम्पनीका नाममा आएको रकम पनि १७ करोड छ । यो रकम पनि तत्काल खुलाउन उनले गरेको माग सर्वोच्चले अस्वीकार गरेको छ । शाहको पक्षमा वकालत गर्दै दुई साताअघि अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा ‘स्वस्फूर्त रूपमा आएको विदेशी लगानीलाई समेत अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेहरूलाई समेत निरुत्साहित गर्न खोजिएको’ आरोप लगाइएको छ । अर्थमन्त्री शर्माको सार्वजनिक अभिव्यक्तिअनुसार पनि शाह सोझासिधा व्यवसायी हुन्, जसले प्रत्यक्ष वैदेशिक लगानी ल्याएका हुन् । तर उद्योग विभागका एक अधिकारी भन्छन्, ‘वैदेशिक लगानी यसरी छद्म कम्पनी खडा गरेर ल्याउनुपर्दैन । उद्योग विभाग मात्र होइन, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डबाट स्वीकृत परियोजनामा मात्रै विदेशी लगानी ल्याउन पाइन्छ, जसको नामबाट पैसा आएको छ, ती पनि नेपालमा लगानी गर्ने सम्भावना भएका व्यक्ति वा कम्पनी होइनन् ।’ शाहले अमेरिकामा प्लम्बिङ गर्ने कम्पनीदेखि पारिवारिक ट्रस्ट र अनेक व्यक्तिका नामबाट पैसा ल्याएका छन् । उनले नेपालमा टायल, मार्बलको कारोबार र पर्यटन व्यवसाय गरिरहेको दाबी गरेका छन् । ‘टायल र मार्बलको कारोबार गर्दा उताबाट पैसा आउने होइन, उताबाट यता पैसा आउँछ । त्यस्तै पर्यटकलाई सेवा दिएबापत पैसा आएको दाबी पनि निराधार देखिएको छ, सन् २०२० को सुरुवातदेखि नै पर्यटन ठप्प भएको हो, यो दुई वर्ष उडान नै ठप्प थिए, कहाँबाट को पर्यटक आयो ?’ विभागका अधिकारीको भनाइ छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार