काम नगर्ने दलका घोषणापत्र किन पढ्ने ?

काठमाडौं- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । सबै दलहरूले घोषणापत्रमा ठुल्ठुला सङ्कल्प गरी जनमत जुटाउने जमर्को गरेका छन् । तर दलहरूको महत्त्वाकाङ्क्षी घोषणापत्रले सर्वसाधारणलाई तानेको छैन । किनकि जित्ने पुराना दलहरूले अघिल्लो चुनावको घोषणापत्रमा जनाएका प्रतिबद्धता कार्यान्वयन गरेनन् । यता वैकल्पिक रूपमा आएका नयाँ राजनीतिक दलहरूलाई जनताले स्पष्ट रूपमा विश्वास गर्न सकेका छैनन् । घोषणापत्रकै विषयमा के भन्छन् त आम मतदाता ? ललितपुरका स्थानीयवासी मैते लामा पेशाले ड्राइभर हुन् । छुट्टीको समय बिताइरहेका लामा ललितपुर पाटन ढोका छेउको चौतारीमा शितलमा रमाउँदै गरेको अवस्थामा भेटिए । उनलाई दलहरूको घोषणापत्र कस्तो लाग्यो भन्ने हाम्रो प्रश्न सुन्ने बित्तिकै झर्किए । भन्छन्, ‘दलहरूमा घोषणापत्र बनाउने कुरामा मात्रै प्रतिस्पर्धा छ, काममा छैन । हरेक दलमा उसको भन्दा हाम्रो घोषणापत्र राम्रो हुनुपर्छ भन्ने मात्रै छ । यही प्रतिस्पर्धा विकास निर्माणको काममा हुन्थ्यो भने देशको कति विकास हुन्थ्यो । चुनाव हुने कुरामा लामा निकै सकारात्मक छन् । सरकार चलाउन चुनाव एक प्रक्रिया हो र हरेक पाँच वर्षमा नेता चुन्न पाउने जनताको अधिकार हो । मन परेको उम्मेदवारलाई भोट हाल्ने हो । स्थानीय सरकार बनेपछि पहिलेको तुलनामा केही राम्रो भएको हो । अहिले धेरै जुलुस छैन तर सोचे अनुरूप गर्न सकेनन् । दलहरू स्वार्थी भएर निस्के, राज्य सञ्चालन राम्रो गर्न सकेनन् । गुट र उपगुटले गर्दा पनि कामभन्दा धेरै राजनीति भयो । एकले अर्कोलाई खुइल्याएर अगाडि जाने प्रवृत्तिले राजनीतिलाई दूषित बनाएको उनको भनाइ छ ।

महत्त्वाकाङ्क्षी बनाउने होडवाजी:

पढाउने काम सकाएर घरतिर जाँदै गरेका काभ्रेका शिक्षक लालचन्द्र लम्साल पाटन क्याम्पसको गेटमै भेटिए । घोषणापत्रबारे प्रश्नमा उनले दलहरूले घोषणापत्र स्रोतसाधनले नै नभ्याउने महत्त्वाकाङ्क्षी बनाउनाले परिणाम राम्रो नआएको बताए । लम्साल भन्छन्, ‘घाँटी हेरेर हाड निल्नुपर्छ । लोकप्रिय बन्ने महत्त्वाकाङ्क्षा राख्ने नेपालको नेताहरूको गुण नै हो । कुनै परियोजना निर्माणको लागि बजेटको जोहो गर्न सकिन्छ, सकिन्न ? विचार नगरी मनमा लागेको कुरा घोषणापत्रमा बोल्दियो, सकियो । पहिले ठुला गफ छाँट्ने, पछि पुरा गर्न सक्दैनन् । केही गरिएका प्रतिबद्धता पुरा हुन सक्छन् तर सोच नै सही छैन । दीर्घकालीन योजनाविना पार्टीमा कार्यकर्ताको भरणपोषण गर्ने परिपाटी बढी छ ।’ स्थानीय स्तरमै योजना आयोग हुन आवश्यक रहेको लम्सालको भनाइ छ । कुन ठाउँमा कस्तो विकासको मोडल बनाउन उपयुक्त हुन्छ भनेरै स्थानीय सरकार बनेको हो नि । गाउँमा कतिपय ठाउँमा लाखौँ खर्च गरेर बनाएको बाटो उपयोगविहीन छ । देशले भिजनरी नेतृत्व पाएको छैन । मल्टीपार्टी सिस्टममा राजनीति यस्तै डामाडोल नै रहन्छ । जनतालाई भेडा बनाउने, कुरा मात्रै गर्ने गफैको भरमा नेता बन्ने खोज्ने । एउटा काम गर्‍यो भने बीसौं वर्ष त्यही काम भजाएर नेता बनिरहने परिपाटी रहेको उनको आरोप छ । आफ्नो पार्टीले जे गरेपनि राम्रो देख्नेहरु छन् । विपक्षीले राम्रो गरेपनि स्वीकार गर्न सक्नुपर्‍यो । तर, त्यो खालको संस्कार छैन । नेताको गल्तीलाई ढाकछोप गर्ने काम गर्नु हुँदैन । राम्रो नराम्रो कामको मूल्याङ्कन हुने दिन मात्र नेतृत्व राम्रो आउने लम्सालको जिकिर छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार