जसपाको नीति दुई डुङ्गामा खुट्टा, सत्ताको स्वाद…..

काठमाडौं-     झण्डै डेढ वर्षदेखि सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) आगामी निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्न पुगेसँगै दुई डुङ्गामा खुट्टा हाल्न पुगेको टिप्पणी हुन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै कांग्रेस माओवादीसँग मिलेर सत्ता गठबन्धनमा सामेल जसपा अन्ततः मङ्सिरको निर्वाचनका क्रममा भने उनै ओली नेतृत्वको एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि जसपामाथि यस्तो टिप्पणी हुन थालेको हो । एमालेसँग जसपाको चुनावी तालमेल भएसँगै नैतिकताको आधारमा जसपा सरकारबाट हट्नुपर्ने आवाज पनि उठ्न थालेको छ । तर, यस्तो आवाजलाई सो पार्टीका नेताहरू अस्वीकार गर्छन् । त्यति मात्रै होइन चारवटा आधारमा आफूहरू सरकारबाट हट्न नपर्ने जसपाका नेताहरूको तर्क छ । स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री समेत रहेका जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ एमालेसँग गठबन्धन गरेको नभई केही सिटमा चुनावी तालमेल मात्रै गरेकाले सरकारबाट हट्न जरुरी नभएको बताउँछन् । अहिलेको सरकार कामचलाउमा परिणत भएको तथा अदालतको यसअघिको नजिरलाई समेत ख्याल गर्दा आफूहरू सरकारबाट हट्न जरुरी नरहेको उनको भनाइ छ । यद्यपि मन्त्री श्रेष्ठ मन्त्री राख्ने वा हटाउने अधिकार प्रधानमन्त्रीमा निहित रहेकाले उनले गर्ने निर्णय नै अन्तिम हुने भएकाले उक्त निर्णय मान्न आफूहरू तयार रहेको बताउँछन् । अहिलेको सरकार कामचलाउ भैसकेको छ । कामचलाउ सरकारले मन्त्री परिवर्तन गर्न मिल्दैन । यसअघि केपी ओली नेतृत्वको सरकार हुँदा गरिएको मन्त्रिपरिषद् हेरफेर पनि गलत हो भनेर अदालतले भनेको नजिर छ’, श्रेष्ठको भनाइ छ । उनले सत्ता गठबन्धन र चुनावी तालमेलमा फरक रहेको दाबी समेत गर्दै १६५ निर्वाचन क्षेत्रमध्ये थोरै सिटमा मात्रै एमालेसँग चुनावी तालमेल गरेको र बाँकी निर्वाचन क्षेत्रमा एमालेसँग प्रतिस्पर्धा नै हुने बताए । संसद् विघटन भइसकेपछि हामीले संविधान र शासन व्यवस्थालाई जोगाउन सहकार्य गरेका थियौँ । त्यो सहकार्य संसद् पुनर्स्थापनापछि गठबन्धनका रूपमा रूपान्तरित गर्‍यौँ’, श्रेष्ठले रातोपाटीसँग कुरा गर्दै भने, ‘ गठबन्धन बनाएपछि सरकार सरकार सञ्चालन गर्न न्यूनतम साझा कार्यक्रम बनायौँ र त्यसको कार्यान्वयन गर्न कार्यदल समेत बनाएका हौँ । एमालेसँग गठबन्धन नगरी सिट तालमेलमात्र गरेकाले एमालेसँगको तालमेललाई गठबन्धन भन्न नमिल्ने नेता श्रेष्ठको भनाइ छ । ‘अहिले हामीले एमालेसँग त्यस्तो कुनै गठबन्धन गरेका होइनौँ र त्यहाँ कुनै साझा न्यूनतम कार्यक्रम पनि बनाइएका छैनौँ, मात्र सिट तालमेल गरेका हौ’, श्रेष्ठले भने, ‘७७ जिल्लामध्ये १२,१३ जिल्लामा मात्रै तालमेल गरेकाले अधिकांश जिल्लामा हाम्रो एमालेसँग मुख्यतः प्रतिस्पर्धा नै हुन्छ । धेरै जिल्लामा प्रतिस्पर्धा नै हुने र अत्यन्त थोरै जिल्लामा मात्रै भोट आदान प्रदान गर्ने भएकाले गठबन्धन र तालमेल फरक कुरा भएको जसपाको भनाइ छ । अघिल्लो चुनावमा कांग्रेस माओवादी सरकारमा रहेका बेला एमाले र माओवादी चुनावी गठबन्धन भएको थियो । त्यस बेला माओवादी एमालेसँग चुनावी गठबन्धन गर्न पुगेपछि त्यसबेलाका प्रधानमन्त्रीले माओवादीका मन्त्रीहरूलाई विना विभागीय बनाएका थिए । तर त्यस बेला र अहिलेको अवस्था फरक रहेको श्रेष्ठको भनाइ छ । त्यस बेला माओवादी र एमालेबीच गठबन्धन मात्रै होइन, साझा घोषणापत्र नै बनाएका थिए । ‘त्यस बेला दुई दलबीच साझा घोषणापत्र मात्रै बनाइएन पार्टी एकता नै गर्न कार्यदल बनाइएको हो’, श्रेष्ठले त्यस बेला र अहिलेको फरक छुट्याए । अहिलेको ५ दलीय संयन्त्र भन्दा पनि उच्चस्तरको संयन्त्र एमाले माओवादीले बनाएको श्रेष्ठको दाबी छ । त्यस बेला एमाले र माओवादीले त गठबन्धन नै बनाएका हुन् । अहिले हामीले त गठबन्धन बनाएका होइनौँ, खाली सिट तालमेलमात्रै हो’, उनले अहिलेको व्यवस्था मुख्यतः प्रधानमन्त्रीय पद्धति भएको संसदीय व्यवस्था भएकाले प्रधानमन्त्रीले जे गर्नुहुन्छ त्यही हुने बताए । प्रधानमन्त्रीय पद्धतिको संसदीय व्यवस्था भएकाले उहाँले सरसल्लाह गरेर जे गर्नुहुन्छ त्यो नै अन्तिम निर्णय हुन्छ’, उनले आफूहरू राजीनामा नगर्ने तर प्रधानमन्त्रीले बर्खास्त गरे आपत्ति नमान्ने अवस्थामा रहेको सङ्केत गरे । ‘प्रधानमन्त्रीले जे भन्नुहुन्छ त्यसैमा के गर्ने भन्ने निर्भर पर्छ’ मन्त्री श्रेष्ठको भनाइ छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार