माओवादी दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त…..

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी दाहाललाई आइतबार साँझ नियुक्त गरेकी हुन् । शपथ सोमबार अपराह्न ४ बजे हुँदै छ । कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर आइतबारै दाहालले प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन् । उनको यो तेस्रो सत्तारोहण हो । दाहाल यसअघि २०६५ र २०७३ मा ९–९ महिना प्रधानमन्त्री बनेका थिए । यसपालि भने अढाई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि एमालेलाई छाड्ने सहमति छ । २०७४ को निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने ‘समझदारी’ कार्यान्वयन नभएपछि केपी शर्मा ओलीसँग तिक्ततापूर्ण सम्बन्ध गुजारेका दाहाल ओलीकै साथले सत्ता नेतृत्वमा पुगेका छन् । प्रतिनिधिसभा विघटन, तत्कालीन नेकपा भंग र एमाले विभाजनका घटनाक्रमले ओली र दाहालबीच संवाद ठप्प मात्र थिएन, चर्को घोचपेच चलिरहेको थियो । आमनिर्वाचनको परिणामले बोलचाल खोलेको एक महिनामै उनीहरू सत्ता सहकार्यका लागि तयार भएका हुन् । चुनावमा कांग्रेससँग गठबन्धन गरेका दाहालले कांग्रेसबाट अपेक्षित मत नआएको गुनासो गरे पनि प्रधानमन्त्री पाए त्यसलाई मुद्दा नबनाउने रणनीति लिएका थिए । तर देउवा प्रधानमन्त्री दिन तयार नहुने देखेपछि दाहालले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनलाई एमालेसँग संवादमा खटाए । एमाले हरहालतमा गठबन्धन भत्काउने रणनीतिमा थियो । यसलाई मौकाका रूपमा उपयोग गरेर आफू प्रधानमन्त्री बन्न सकिने दाहालको बुझाइ थियो । देउवाको अडान कायमै रहँदा एमाले र माओवादीको सत्ता स्वार्थ मिल्न पुग्यो र बालकोटस्थित ओली निवासमा सहमति जुट्यो । माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेसको हठले विकल्प सोच्न बाध्य भएको बताए । ‘हामीले तत्कालीन परिस्थितिमा कांग्रेससँग गठबन्धन गर्नु र सरकार बनाउनु औचित्यपूर्ण थियो । चुनावमा पनि मिलेर नै गयौं । गठबन्धनले उसलाई लाभ दियो, हामीलाई बरु नोक्सान मात्रै दियो । त्यसकारण के गर्ने भन्ने प्रश्न थियो,’ उनले भने, ‘तर अझै पनि मिलेर जाने सम्भावना छ भने प्रयत्न गरौं भन्ने थियो । कांग्रेसले आफूले लाभ लिनेबाहेक केही नदेखेर हठपूर्ण अडान लिइसकेपछि हाम्रा लागि अर्को विकल्प थिएन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको अहंकारका कारण नयाँ समीकरण बनेको बताए । ‘प्रचण्डजी र हामीबीचमा पहिलादेखि नै कुरा भइरहेकै थियो । निर्णायक घडीमा उहाँले समर्थन माग गर्नुभयो, हामीले गरिदियौं ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार