समाधिस्थल बिनाप्रतिस्पर्धा ९९ वर्षलाई लिजमा…..

काठमाडौँ — लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको छ । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी भएको हो । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच कोषका उपाध्यक्ष ल्हारक्याल लामाले प्रक्रिया अघि बढाएका हुन् । समझदारीमा रामग्राममा अस्थिधातु उत्खनन तथा स्तूपा र विभिन्न देशका बौद्ध विहार तथा अन्य भौतिक संरचना निर्माण गर्ने भनिएको छ । त्यसका लागि स्थानीयको करिब ११६ बिघा, कोषको ७५ कट्ठा र पुरातत्त्व विभागको १० कट्ठा जमिन एकीकृत गरेर निजी कम्पनीलाई लिजमा दिइनेछ । स्थानीयको जग्गा अधिग्रहण गर्ने जिम्मेवारी कोषको हुनेछ भने उपभोग मोक्ष फाउन्डेसनले र व्यवस्थापन प्रमिस्ड ल्यान्डले गर्नेछन् । तर, यसका लागि कुनै प्रतिस्पर्धा भएको छैन । परियोजनाका लागि पृष्ठभूमिमा केही व्यक्ति पहिलेदेखि सक्रिय भए पनि लगानी र प्रक्रिया पारदर्शी नभएकाले फाइल बढ्न सकेको थिएन । विवादास्पद छवि भएका ल्हारक्याल गत साउनमा कोषको उपाध्यक्ष भएलगत्तै प्रक्रिया तीव्र पारिएको हो । करिब ७ अर्ब अनुमानित लागत देखाइएको यो परियोजनाका लागि सिंगापुरमा कार्यालय रहेको भनिएको मोक्ष फाउन्डेसन मुख्य लगानीकर्ता र प्रमिस्ड ल्यान्ड व्यवस्थापक हुने गरी समझदारी गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी तथा विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीका छोरा निकेश प्रमिस्ड ल्यान्डका सञ्चालक हुन् । दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित भएर मंसिर २६ मा रामग्राममा स्तूपा निर्माण र उत्खनन परियोजनाको शिलान्यास गरेका छन् । समझदारीअनुसार यी कम्पनीले रामग्राम क्षेत्रको जग्गा विक्रम संवत् २१७९ सालसम्म लिजमा चलाउनेछन् । तर, सर्वसाधारणको जग्गा कसरी अधिग्रहण गर्ने र त्यसका पूर्वसर्त के हुने भन्ने निर्क्योल नगर्दै समझदारी गरिएको छ । सार्वजनिक आर्थिक प्रशासन सम्बन्धित कारोबारमा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्नेमा अर्थले असहमति राख्दाराख्दै समझदारी गरिएको हो । सम्पदा उत्खनन एवं भौतिक संरचना बनाउने गरी कुनै समझदारी नगर्न भन्दै पुरातत्त्व विभागले पनि कोषलाई पत्र पठाएको थियो । यी रायअनुसार पर्यटन मन्त्रालयले पनि प्रक्रिया अघि नबढाउन राय लेखेको थियो । तर, कोषले सबै असहमतिलाई बेवास्ता गर्दै प्रक्रिया अघि बढाएको हो । मोक्ष फाउन्डेसनका कार्यकारी निर्देशक जेम्स सेङले लगानी प्रतिबद्धता गरेको र प्रमिस्ड ल्यान्डले व्यवस्थापन गर्ने भएकाले प्रक्रिया अघि बढाइएको कोषले जनाएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले रामग्राम सम्पदाको बृहत्तर विकासका लागि सझदारी (एमओयू) भएको तर के–के काम गर्ने भन्ने विषयमा विस्तृत सम्झौता हुन बाँकी रहेको बताए । ‘६ वर्षभित्रमा स्तूपाको गुरुयोजना निर्माण र यसको बृहत्तर विकासको काम गर्ने भन्ने हो,’ उनले भने, ‘कोषको योजनामा सहयोग गर्ने र यसको विकासमा कसरी टेवा पुर्‍याउन सकिन्छ भन्ने उद्देश्य हो ।’ सिंगापुर कार्यालय उल्लेख गरिएको मोक्ष फाउन्डेसनका तर्फबाट कार्यकारी निर्देशक जेम्स सेङले प्रमिस्ड ल्यान्डसँगको सहकार्यमा आफ्नो संस्थाले संरचना निर्माणमा लगानी गर्ने प्रस्ताव २१ अप्रिल, २०२३ मा पठाएका थिए । प्रमिस्ड ल्यान्डका अधिकारीले पनि ३० अप्रिल, २०२३ मा पत्र लेखी लगानी सुनिश्चितताको प्रतिबद्धता जनाएका थिए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार