८ सय नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द…..

काठमाडौँ — युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको छ । २०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर छ । यो निर्णयले नेपालबाट सहभागी ती परीक्षार्थी अन्योलमा परेका छन् । परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि अनुसन्धान थालिएको यूएसएमएलईले जनाएको छ । ‘जारी अनुसन्धानमा नेपाली परीक्षार्थीले अत्यधिक अंक प्राप्त गर्ने एकै ढाँचा देखियो, जसले उनीहरूले प्राप्त गरेको अंकमाथि नै प्रश्न खडा गर्‍यो,’ बुधबार जारी सूचनामा भनिएको छ, ‘सबै परीक्षार्थीको एउटै ढाँचा देखिनुले परीक्षा अगावै प्रश्नपत्रमाथि अनधिकृत पहुँच थियो भन्ने संकेत गर्छ ।’ यूएसएमएलईले शंकाको घेरामा परेका परीक्षार्थीको नतिजा रद्द गर्दै पुनः परीक्षामा सहभागी हुन सूचितसमेत गरेको छ । नतिजामा प्रश्न उठेका परीक्षार्थीलाई मात्रै सूचित’ गरिएको बताइए पनि नेपालबाट सहभागी सबैको नतिजा रद्द गरिएको आशंका गरिएको छ । ‘कसैको स्टेप ३, कसैको स्टेप २ र कसैको स्टेप १ मात्र रद्द गरिएको छ । कसैको त तीन वटै रद्द गरिएको छ,’ यूएसएमएलईको तयारी गरिरहेका एक चिकित्सकले भने, ‘परीक्षा दिएका कुनै पनि साथी खुलेर बोल्न चाहिरहेका छैनन्, सबै अन्योलमा छन् । परीक्षामा सामेल भएकाहरू भने अघिल्ला वर्षका प्रश्न संकलन गरेर त्यसैका आधारमा तयारी गरेर परीक्षा दिएकै कारण शंकास्पद देखिएको दाबी गरिरहेका छन् । परीक्षामा सामेल एक चिकित्सकका अनुसार उनको स्टेप २ को परीक्षा नतिजा रद्द भएको इमेल आएको छ । त्यसमा उनको उत्तर र सोही समयमा, सोही परीक्षा केन्द्रमा सहभागी भएका अन्य परीक्षार्थीसँग हुबहु मिलेको आरोप लगाइएको छ । पहिलेकै प्रश्नपत्र यस पटक दोहोरिएको र प्रायः नेपालीले समूहमा अध्ययन गरेका कारण यो समस्या आएको ती चिकित्सकको भनाइ छ । ‘हामीलाई दोष लगाइएको छ, जुन हुँदै होइन,’ उनले भने, ‘हामीले यसअघि आएका प्रश्नलाई आधार मानेर तयारी गरेका थियौं, तिनै प्रश्न आयो भने हाम्रो दोष कसरी भयो ? यूएसएमएलईले भने पूर्वपरीक्षाका प्रश्न वा सामग्री कुनै पनि तरिकामा प्रयोग गर्नुलाई ‘गलत क्रियाकलाप’ को संज्ञा दिएको छ । ‘पहिलेका प्रश्नपत्र वा परीक्षा सामग्री खोजी गर्नु, अनलाइन वा व्यक्तिगत रूपमा प्राप्त गर्ने प्रयास गर्नु गलत हो,’ संस्थाले भनेको छ । ‘परीक्षाको समयमा वा परीक्षा सकिएपछि पनि औपचारिक/अनौपचारिक रूपमा परीक्षामा आएका प्रश्नबारे छलफल गर्नु वा सामाजिक सञ्जालबाट साझा गर्नु गलत हो,’ संस्थाले भनेको छ । २०१५/१६ मा अमेरिकी लाइसेन्सिङ परीक्षामा सहभागी भएर ३०० मा २४० अंक प्राप्त गरेका एक चिकित्सक भने नेपाली परीक्षार्थीले पहिलेको प्रश्नपत्रबाट मात्रै नभएर ठूलै गडबड गरेको बताउँछन् । नेपालका परीक्षा केन्द्रबाट प्रश्नपत्रको स्क्रिनसट तथा तस्बिर पनि बाहिरिएको उनको दाबी छ । ‘२०१९ भन्दा अगाडि यूएसएमएलई क्लियर गर्न कठिन थियो तर २०२० यता भने तीन–चार महिना पढेर नै साथीहरूले राम्रो अंक ल्याउन थाले । यस पटक त एक जनाले ३०० मा २८९–९० नै ल्याएको सुनेको छु,’ उनले भने, ‘परीक्षामा पाएको अंकअनुसार अस्पतालमा कार्यक्षमता देखाउन नसकेपछि पनि शंकाको ठाउँ बनेको हो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार