रुसी सेनामा नेपालीको भर्ती र क्षति निरन्तर मूकदर्शक नेपाल सरकार…..

काठमाडौँ — कांग्रेस–माओवादीसहितको मन्त्रिपरिषद् बन्ने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको यसपालिको प्राथमिकतामा थिए एनपी साउद । मन्त्री बन्नेमा ढुक्क साउदको प्राथमिकता थियो कुनै विकासे मन्त्रालय । यसअघि सिँचाइमन्त्री भइसकेका उनी निकट नेताहरूसँग भन्ने गर्थे, ‘विकासे मन्त्रालय पाए पार्टी संगठनको हितमा पनि काम गर्न सक्छु । पार्टीको कोटामा मन्त्रालय छुट्याउने भएकाले नेतृत्वले जहाँ खटायो, त्यहीं जाने बाध्यता छ । वैशाख ३ मा परराष्ट्रमन्त्रीका रूपमा शपथ लिए । मन्त्रालय पुगेपछि उनी प्रस्ट भए, परराष्ट्र मामिला त मन्त्रालयभन्दा बाहिरबाटै चल्दो रहेछ । राजदूत नियुक्त होस् वा कर्मचारीको सरुवा–बढुवा, प्रधानमन्त्री पुष्पकमल दाहाल वा कांग्रेस सभापति शेरबहादुर देउवालगायतले सिधै निर्णय गरेर मन्त्रीलाई जानकारी दिन्छन् । नेपाल आउने हरेक विदेशी वा नेपालमा रहेका राजदूतहरूसँग पनि दाहाल र देउवालगायतका नेताहरूले सिधै भेट्छन् । मन्त्रालयले कहिले थाहा पाउँछ, कहिले पाउँदैन । २०६८ सालमा जारी कूटनीतिक आचारसंहितामा मन्त्रालयको जानकारी र अनुमतिबेगर त्यस्तो भेटघाटलाई छुट नहुने भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरूले नै पालना गरेका छैनन् । परराष्ट्र मामिलामा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री देउवा र उनको सचिवालय हावी रहेकाले मन्त्रालय सधैंझैं ‘तदर्थ’ भूमिकामा छ । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य नेपालका कूटनीतिसम्बन्धी कार्यकारी निर्णय मन्त्रालयलाई ‘बाइपास’ गरेर सिधै उच्च राजनीतिक तहबाट हुने गरेको बताउँछन् । ‘उच्च राजनीतिक तहबाट परराष्ट्र नीतिसम्बन्धी धेरै कार्यकारी निर्णय हुने भएकाले परराष्ट्रमन्त्रीको भूमिका स्वतः कम हुन्छ,’ पूर्वराजदूतसमेत रहेका आचार्यले भन्छन्, ‘उहाँ (मन्त्री साउद) शालीन व्यक्ति हुनुहुन्छ । आफ्नो तहबाट गर्न खोजेको पनि देखिन्छ । तर पहिलो पटक परराष्ट्रमन्त्री भएको हुनाले अन द जब ट्रेनिङ जस्तै देखिन्छ । अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउने र भेटवार्ता गर्ने कामलाई भने साउदको सक्रियता निकै धेरै छ । ‘परराष्ट्र नीतिको कार्यान्वयन कस्तो भइरहेको छ भन्ने कोणबाट हेर्दा चाहिँ उहाँको सक्रियता बढेको छ । दृश्यमा राम्रो छ । तर वस्तुगत काम भने केही देखिँदैन,’ आचार्य थप्छन् । नेपालको विदेश मामिला र परराष्ट्रमन्त्रीको मुख्य जिम्मेवारी दुई छिमेकी भारत र चीन तथा शक्ति राष्ट्र अमेरिकासँगको सम्बन्ध सन्तुलनमा हुन्छ । तर पछिल्लो समय  नेपालको परराष्ट्र मामिला रुस–युक्रेन युद्ध र हमास–इजरायल युद्धमा आकर्षित हुन पुगेको छ । जसले गर्दा मन्त्री र मन्त्रालयको सक्रियता यसमा केन्द्रित हुने अपेक्षा छ । हमास विद्रोहीले गत असोज २० मा इजरायलमा आक्रमण गर्दा नेपालका १० युवाको मृत्यु भएको थियो । त्यसपछि द्वन्द्वग्रस्त मुलुकमा नेपालीलाई लिन हवाईजहाज चार्टर्ड गरेर आफैं गएका परराष्ट्रमन्त्री साउदले प्रशंसा पनि बटुलेका थिए । तर, हमासले बन्धक बनाएर लगेका विपिन जोशी अहिलेसम्म पनि मुक्त हुन सकेका छैनन् । उनलाई छुटाउन नेपाल सरकारले इजरायल, कतार र विभिन्न अन्तर्राष्ट्रिय सहायता एजेन्सीलाई गरेको आग्रह सार्थक भएको छैन । मानव तस्करहरूको प्रलोभनमा सयौं नेपाली रुसी सेनामा भर्ना भएको पाइएको छ । रुसको भाडा सैनिकमा कार्यरत नेपालीहरूले अकल्पनीय भौतिक क्षति व्यहोरिरहेका छन् । हालसम्म कम्तीमा १२ नेपालीको ज्यान गइसकेको छ भने थप विवरण आउन बाँकी नै छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् भन्ने यकिन तथ्यांकसमेत परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्न सकेको छैन । कति नेपाली रुसी सेनामा कार्यरत छन्, कतिको मृत्यु भयो र कति घाइते भए भन्ने विषयमा परराष्ट्र मन्त्रालय र मस्कोस्थित दूतावास नै प्रस्ट छैन । यद्यपि केही समयअघि प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदले दुई सयभन्दा बढी नेपाली रुसी सेनामा भर्ना भएको सार्वजनिक रूपमै बताएका थिए । तर, रुसी सेनामा कार्यरत र त्यहाँबाट फर्केका नेपालीहरूका अनुसार त्यो संख्या सरकारले भनेको भन्दा कैयौं गुणा बढी छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार