जीबी समूहद्वारा ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन…..

काठमाडौँ / पोखरा — पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको हो । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी योभन्दा बढी हुन सक्ने जानकार बताउँछन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका लागि बचत संकलन गर्न उपत्यकाका विभिन्न ठाउँमा शाखा खोलेको थियो । स्वर्णलक्ष्मीका शाखाबाट मात्रै करिब १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको पीडित बचतकर्ता सुमन खनालको भनाइ छ । ‘स्वर्णलक्ष्मीमा मात्र कुल बचतकर्ता करिब १३ हजार रहेको देखिन्छ । कतिपयको खाता दोहोरिएको होला,’ उनले भने, ‘तर, सहकारीका व्यवस्थापकले दिएको जानकारी अनुसार करिब २ अर्ब ७४ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।’ बचत फिर्ता हुने नदेखिएपछि आफूहरू कानुनी प्रक्रियामा जाने तयारीमा रहेको खनालको भनाइ छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय कालीमाटीमा रहे पनि महाराजगन्ज, न्युरोडलगायत स्थानमा शाखा सञ्चालनमा थिए । पछिल्ला दुई वर्षदेखि संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन सकेको छैन । स्वर्णलक्ष्मीका सञ्चालकविरुद्ध गुनासो र उजुरी आइरहेको सहकारी विभागले पनि स्विकारेको छ । काठमाडौंमा सञ्चालित सहकारी वाग्मती प्रदेशको कार्यक्षेत्रभित्र रहेकाले आफूहरूकहाँ आएको उजुरी पनि उतै पठाइएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए । ‘जीबी राई समूहले सञ्चालन गरेका सबै सहकारी संस्थाविरुद्ध उजुरी आइरहेका छन् । तर, यो समूहले हरेक प्रदेशमा फरक नाममा सहकारी संस्था दर्ता गरेका छन् । यसकारण स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी विभागको कार्यक्षेत्रबाहिर छ, त्यसैले वाग्मती प्रदेशमा पठाइएको छ,’ उपाध्यायले भने । स्वर्णलक्ष्मी सहकारीबाट पैसा फिर्ता नभएको भन्दै गत पुससम्म पाँच सयभन्दा बढीले उजुरी गरेको वाग्मती प्रदेश, सहकारी मन्त्रालयको सहकारी महाशाखाले स्विकारेको छ । यद्यपि परेका उजुरी सम्बन्धमा प्रदेश कार्यालयले पनि कुनै कारबाही अघि बढाएको छैन । पछिल्लो दुई वर्षदेखि पैसा नपाएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता आङकाजी शेर्पाको भनाइ छ । महँगो ब्याज पाइन्छ भनेर शेर्पाले उक्त संस्थामा ४६ लाख रुपैयाँ बचत गरेका थिए । ‘डेढदेखि दुई वर्ष हुन लाग्यो, पैसा पाउन छाडेको । कालीमाटीस्थित मुख्य कार्यालय नै ५ महिना अघिदेखि बन्दजस्तै छ,’ उनले भने, ‘संस्थाका अध्यक्ष राई, कोषाध्यक्ष कुमार रम्तेल, ऋण विभाग प्रमुख सुरज श्रेष्ठलगायत व्यवस्थापक सम्पर्कमा छैनन् । त्यस्तै, बुटवलमा सञ्चालित सुप्रिम सहकारीमा करिब ८ हजार बचतकर्ताको १ अर्ब १५ करोड रुपैयाँ निक्षेप रहेको र त्यसमध्ये करिब ९४ करोड रुपैयाँ राई समूहले हिनामिना गरेको संस्थाकै वर्तमान अध्यक्ष ओम गुरुङको भनाइ छ । गुरुङ आफू पनि पीडित रहेको भन्दै बचतकर्तासँग आन्दोलनको नेतृत्व गर्दै प्रहरी, कम्पनी रजिस्ट्रार कार्यालय र नियामक निकायहरू धाइरहेका छन् । ‘संस्थामा मेरो निर्णय केही चल्थेन, जीबी राई र सागर केसीले डुबाए,’ उनी भन्छन् । सुप्रिम सहकारीबाटै बिनानियम, बिनाप्रक्रिया, बिनाधितो गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) मा १० करोड ७४ लाख रुपैयाँ ट्रान्सफर गरिएको थियो । २०७७ असोज ११ देखि २०७८ पुस १२ सम्म ९ पटक गरेर यो रकम गोर्खा मिडियाको खातामा सारिएको थियो । योमध्ये २०७८ वैशाख ५ मा तत्कालीन सञ्चारकर्मी रवि लामिछानेमार्फत गोर्खा मिडियाको खातामा सारिएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयमा समेत यही रकम रुजु गराएर लामिछानेले गोर्खा मिडियाको सेयर लिएका थिए । गोर्खा मिडियाजस्तै जीबी राईको नेचर नेस्ट प्रालि र उनको व्यक्तिगत खातामा समेत मनमौजी रूपमा पैसा सारिएको थियो । सहकारीमा मनोमानी गर्न राईले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका नेता दीपेश पुनलाई पनि सुप्रिम सहकारीको सचिव बनाएका थिए । यो सहकारीमा कुमार रम्तेल कोषाध्यक्ष बनेका थिए । लामिछानेले टेलिभिजन छाडेपछि उनीबाट लिएको सेयर राईले रम्तेललाई बेचेका थिए । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगी काण्डमा रम्तेल अहिले पुर्पक्षका लागि थुनामा छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार