सुन तस्करीमा तत्काल कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन…..

काठमाडौँ — सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् । साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो । तत्कालीन प्रतिपक्षी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले करिब एक महिना संसद् अवरोध गरेपछि गत भदौमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन भएको थियो । आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले अग्रसरता लिएको छ । गृहमन्त्रीले अध्ययन गरी नतिजा देखिने गरी तुरुन्तै प्रतिवेदन कार्यान्वयनमा ल्याउन भन्नुभएको छ,’ गृहमन्त्रीको सचिवालयका एक अधिकारीले भने । सीआईबी प्रवक्ता होविन्द्र बोगटीले पनि प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताए । ‘आयोगले औंल्याएका त्रुटि, सुझाव, सिफारिस, छानबिन र अनुसन्धान गर्ने विषय हेरेर कार्यान्वयन हुन्छन्,’ उनले भने, क्षेत्राधिकार र कानुनबमोजिम गर्न सक्ने कारबाही सीआईबीले गर्छ । तस्करी प्रकरणमा अनुसन्धान गरी प्रतिवेदनअनुसार पूरक अभियोग लैजाने तयारी भएको सीआईबीका अर्का अधिकारीको भनाइ छ । महरा बाबुछोराले सुन तस्करहरूसँग २ सय ५६ पटक फोन संवाद गरेको अभिलेख सीआईबी र जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालतमा पेस भएको थियो । भेपमा ल्याइएको सुन भन्सारमा रोकिएपछि छुटाउन महरा बाबुछोराले सरकारी अधिकारीहरूलाई दबाब दिएको प्रहरी अनुसन्धानमा पाइएको थियो । प्रमाण भेटिँदा पनि पूर्वसभामुख महरा र छोरालाई उन्मुक्ति दिने गरी सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थिएन । त्यस्तै, बर्दिया घर भएका जीवन चलाउने र सुन तस्करका मुख्य नाइके चिनियाँ नागरिक दावा छिरिङबीच तस्करीका विषयमा सूचना आदानप्रदान भएको भेटिएको थियो । तर सीआईबीले चलाउनेसँग गरेको बयान कागज च्यातेर उनलाई फरार हुने मौका दिएको प्रतिवेदनको ठहर छ । चलाउनेले भने दावासँग व्यापारिक सम्बन्ध मात्रै रहेको दाबी गर्दै आएका छन् । दावाकी श्रीमती रोल्पाकी अमला रोकालाई पनि भगाइएको प्रतिवेदनमा उल्लेख छ । माओवादीका उपाध्यक्ष महरा र उनका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग अमलाको कारोबारी सम्बन्ध रहेको पाइएको छ । पुत्र राहुल पुर्पक्षका लागि थुनामा रहे पनि बाबु महराले उन्मुक्ति पाएका थिए । लापरबाही गर्ने तत्कालीन सीआईबी प्रमुख एआईजी किरण वज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न र निगरानीमा राख्न प्रतिवेदनमा सिफारिस गरिएको छ । यी ४ प्रहरी अधिकारीको सरुवा भइसकेको छ भने विभागीय कारबाही बाँकी छ । त्यस्तै अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई थप अनुसन्धान र विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । अधिकारी र नाइके दावाबीच मोबाइलमा कारोबारसँग सम्बन्धित सन्देश आदानप्रदान भएको भेटिए पनि सीआईबीले उनलाई बयान लिएको थियो, तर मुद्दाको दायरामा ल्याएको थिएन । पूर्वआईजीपी सर्वेन्द्र खनाल र धीरजप्रताप सिंहको सम्बन्ध पनि तस्कर समूहका नाइकेहरूसँग देखिएको प्रतिवेदनमा औंल्याइएको छ । उनीहरूलाई निगरानीमा राख्न सिफारिस गरिएको आयोगका एक सदस्यको भनाइ छ । मुद्दा चलाउँदा लापरबाही गरेको आरोपमा सरकारी वकिल कार्यालयका वासुदेव शर्मा र जनकराज घिमिरेलाई विभागीय कारबाही गर्न सुझाव दिइएको छ । पूर्वउपराष्ट्रपति पुनका वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङलाई थप अनुसन्धान गर्न भनिएको छ । गुरुङविरुद्ध शुक्रबार १ सय ३८ किलो सुन तस्करीको आरोपमा मुद्दा दायर भएको छ । दुबईबाट १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउँदै गर्दा मंसिर २१ मा गोरखाका चन्द्र घले, मीन घलेलगायत पक्राउ परेपछि गुरुङ भन्सार कार्यालयको छानबिनमा तानिएका थिए । गुरुङले घले समूहलाई प्रयोग गरेर पछिल्लो एक वर्षमा १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा मुद्दा दायर भएको हो । उक्त आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । ८ जना कारागारमा छन् भने २ जना फरार छन् । आचार्य जाचँबुझ आयोगले विध ल्याबका सञ्चालक तथा पूर्वनायब सुब्बा भीमकान्त भण्डारी, होटल भियनाका सञ्चालक मञ्जिल श्रेष्ठ, व्यवसायी सुबुप्रताप केसीको पनि सुन तस्करी समूहसँग अस्वाभाविक सम्बन्ध देखिएको औंल्याएको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार