सुन–शासनले राजनीतिक अवसान…..

काठमाडौँ — सुन तस्करी प्रकरणमा लामो समयदेखि उन्मुक्ति पाउँदै आएका पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार कपिलवस्तुको पकडीबाट पक्राउ परेका छन् । छोरा राहुल विद्युतीय चुरोट (भेप) मा राखी गरिएको ९ किलो सुन तस्करीमा गत भदौमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् । भेपमा राखी गरिएको ९ किलो सुन तस्करीमा जोडिएका महराको ‘कनेक्सन’ ब्रेक–सुमा राखेर ल्याइएको ६१ किलो र विमानस्थलको शौचालयमा लुकाइएको १४ किलो सुन तस्करी गर्ने संगठित गिरोहसँग पनि देखिएको अधिकारीहरूले बताएका छन् । भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भन्सारले रोकिएपछि महरा र उनका छोराले भन्सारका अधिकारीहरूलाई पटकपटक सम्पर्क गरेर सुन छाडिदिन दबाब दिएको पुष्टि भइसकेको थियो । सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्‍याउन विमानस्थल भन्सारका अधिकारी अरुण पोखरेललाई फोन गरेको अनुसन्धानमा खुलेको थियो । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । सुन तस्करको सञ्जाल र भन्सारका अधिकारलाई महरा बाबुछोराले २ सय ५६ पटक संवाद गरेको अभिलेख प्रहरीको सीआईबी र सरकारी वकिल हुँदै जिल्ला अदालतमा पुगेको थियो । तर, उनीहरूलाई अभियुक्त नबनाई उन्मुक्ति दिइएको थियो । सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा पक्राउ गर्ने तयारी भइरहेका बेला काठमाडौं छाडेका महरालाई प्रहरीले कपिलवस्तुमा पक्राउ गरी भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । महराले बिरामी रहेको बताएकाले उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएपछि उनी अहिले नर्भिक अस्पताल भर्ना भएका छन् । हाल पुर्पक्षका लागि थुनामा रहेका सुन तस्करीका नाइके दावा छिरिङले लगानी गरेको भियाना होटलको सवारीसाधन महराकै निर्देशनमा तत्कालीन उपराष्ट्रपति पुनका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङको नाममा दर्ता गरेर सुन तस्करीमा प्रयोगमा ल्याइएको आयोगको जाँचबुझबाट खुलेको छ । ‘गाडी दावा, महरा र गुरुङमध्ये कसको नाममा दर्ता गर्ने भन्नेमा महराले सेटिङ गरेर गुरुङको नाममा दर्ता गर्न निर्देशन दिएको प्रमाण फेला परेको छ,’ आयोगका एक सदस्यले भने । तस्करीमा दावा, महरा, पुनका छोरा दीपेश, जितेन्द्र, राहुल तथा सल्लाहकार गुरुङको संयुक्त भूमिका रहेको दाबी गरिएको छ । दावाजिन वाङ ९ किलो र दावा छिरिङ ६१ किलो सुन तस्करी प्रकरणका नाइके चिनियाँ नागरिक हुन् । आयोग स्रोतका अनुसार डिजिटल फरेन्सिक ल्याब, सीडीआरमार्फत गरिएका अनुसन्धानबाट पनि महरा सुन तस्करीका योजना, कारोबार र ओसारपसारको नेटवर्कको संरक्षणको भूमिकामा थिए । महरा पक्राउसँगै यी घटनालाई केन्द्रमा राखेर प्रहरीले विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको छ ।  साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार