५ महिनामा १७ हजार दुर्घटना, ९ सयको मृत्यु…..

काठमाडौँ — एक्कासि आइपरेको बज्रपातको खबरले सिस्ने गाउँपालिका–६ रुमालबाराकी रश्मी परियारलाई संसारै खसेजस्तो भएको छ । गत सोमबार साँझ ५ बजेतिर बागलुङको निसीखोला–६ जाउलेपानीमा रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये एक थिए उनका छोरा विक्रम परियार । ६ वर्षयता रुकुम पूर्वमा सक्रिय पत्रकारको परिचय बनाएका विक्रमको देहान्तपछि परिवार, आफन्त र सहकर्मी गहिरो शोकमा छन् । १० वर्षअघि ०७० चैत ३ गते बुबा रञ्जितको मृत्युपछि परिवारको भरोसा रहेका विक्रमको मृत्युले बज्रपात भएको आमा रश्मीले बताइन् । ‘घरको एउटा बलियो खाँबो गर्ल्याम्म ढल्यो,’ उनले भनिन् । पत्रकार महासंघ रुकुम पूर्वका सहसचिव विक्रम अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन र इन्सेकका जिल्ला प्रतिनिधि थिए । ‘जेठो छोरा परिवारसहित दाङतिर बस्छ । घरमा कान्छो र म मात्रै बस्थ्यौं । ऊ गएपछि म एक्लै यो घरमा कसरी बसौं,’ रश्मीले भनिन्, ‘काठमान्डू जान्छु भनेर घरबाट निस्किएको छोरो अब फर्किन्न भनेर कसरी पत्याऊँ । आमै भन्दै बोलाइहाल्छ कि भन्ने लागिरहन्छ ।’ विक्रमको किरिया बसेका दाइ अमृत भाइको लगनशीलता र मिहिनेतबारे सम्झिँदै भक्कानिइरहेका छन् । मैले त पढ्न पाइनँ तर भाइले आफ्नै मिहिनेतले पढ्यो । अब बीए पढ्छु भन्थ्यो, मैले पनि सकेको गरौँला भनेको थिएँ । नफर्किने गरी गयो,’ अमृत भक्कानिँदै भन्छन् । विक्रमसँगै काम गरेका पत्रकार जयमान बुढाले आफूलाई रित्तो–रित्तो लागिरहेको बताए । राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय अधिवेशनमा सहभागी हुन विक्रम सोमबार दिउँसो २ बजेतिर रुकुमकोटबाट काठमाडौंका लागि बस चढेका थिए । रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला–६ जाउलेपानीमा भीरबाट खस्दा ९ जनाको ज्यान गएको थियो । ओरालो र घुम्ती बाटोमा अगाडिका गाडीलाई ओभरटेक गर्न खोज्दा साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो । घटनामा घाइते भएका २८ जनामध्ये बलबहादुर पुनले यात्रु बटुल्ने होडमा तीव्र गति र ओभरटेक गर्दै हिँडेका कारण बस दुर्घटना भएको बताए । ‘हामीले रुकुमकोटदेखि नै तीव्र गति भयो भनिरहेका थियौं,’ गुल्मी घर भएका पुनले भने, ‘यात्रु चढाउन जथाभावी ओभरटेक पनि गरेका थिए । आडैमा बसेका अर्का युवक गति कम गर्न भन्दै चालकसम्म पुगेको पुनले बताए । उक्त रुकुमकोट नजिकै पनि एकपटक झन्डै खस्नबाट बचेको पुनले बताए । जतिबेला पनि हुने दुर्घटनाको डरलाग्दो जोखिममा को–कहाँ कतिबेला पर्छ कुनै पत्तो छैन । किनकि झन्डै १० वर्षको हारहारीमा सवारी दुर्घटनामा मात्रै २४ हजार ४ सय २९ जनाको ज्यान गइसकेको छ । यही तथ्यांक काफी छ, हरेक दिन सवारी दुर्घटनामा ७ जनाभन्दा बढीको ज्यान गइरहेको तथ्य बुझाउन । झन्डै १० वर्षको अवधिमा सवारी दुर्घटनामा ५१ हजार ३ सय ५५ जना गम्भीर घाइते भएको देखिन्छ । अर्थात् हरेक दिन सवारी दुर्घटनामा ४ सय ५४ जनाभन्दा धेरै गम्भीर घाइते हुन्छन् । फागुन २३ गते भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख २१२१ नम्बरको बस धादिङको घाटबेंसीमा त्रिशूली नदीमा खस्दा १० जनाको मृत्यु भएको थियो । ३९ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन् । चालकसहित ५२ जना सवार बस त्रिशूली नदीमा खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना बेपत्ता भएका थिए । तीमध्ये तीन शव भेटिएको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनाका शृंखलाबद्ध खबरहरूमा चैत १ गते धरानबाट घोडेटार हुँदै भोजपुरतर्फ गइरहेको को १ ज २५९३ बोलेरो जिप उदयपुरको बेलुका नगरपालिका–७ मैनामैनी चुहारमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भयो भने ९ जना घाइते भएको खबर एउटा दुर्घटना मात्रै थिएन् । क्षमताभन्दा धेरै यात्रु, तीव्र गति र कमजोर सडक सुरक्षा प्रणालीको मूल्य सर्वसाधारण नागरिकले हरेक दिन चुकाइरहेका छन् । उदयपुरका प्रहरी प्रमुख एसपी रमेष थापाले यो घटनामा १२ यात्रु क्षमताको बोलेरोमा चालक र दुई नाबालकसहित १७ जना सवार भएको बताउँदै क्षमताभन्दा धेरै यात्रु हुनु पनि दुर्घटनाको एउटा कारण हुन सक्ने बताए । गन्तव्यमा पुग्न नपाई मृत्युको मुखमा पुगेका यात्रुको लामो फेहरिस्त छ । जस्तो कि, कञ्चनपुर भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामीको फागुन ५ गते शनिबार काठमाडौंबाट मलेसिया जाने टिकट थियो । वैदेशिक रोजगरीका लागि फागुन २ गते बुधबार घरबाट बिदावारी भएर हिँडेका कामीको कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटोनजिक भएको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा १० जनासँगै ज्यान गयो । दुर्घटनामा कञ्चनपुरका मात्रै सात जनाको मृत्यु भयो । महेन्द्रनगरबाट दिउँसो साढे ३ बजे काठमाडौंका लागि छुटेको ४० जना सवार बस राति १२ बजे ३५ मिनेटतिर दुर्घटनामा परेको थियो । घाइते यात्रुका अनुसार एक्कासि आवाज आएको केहीबेरमै बस अनियन्त्रित भएको थियो । घाइते भएका बस चालक पूर्णबहादुर चन्दले ओरोलामा ब्रेक फेल हुँदा बस अनियन्त्रित भएर खसेको बताएका थिए । ‘१२/१ बजेतिर हो गाडीको ब्रेकफेल भएर ओरालोमा सम्हाल्न खोजे हुँदै भएन । भित्तातिर च्याप्न खोजे गाडी फर्केर खस्यो,’ उनले भने । दुर्घटनामा बाँचेका दुई/तीन जना जसोतसो बसबाट निस्किएर बाटोमा उक्लिएर चन्द्रौटातिर जाने बस/ट्रक रोकेर जानकारी दिन खोज्दा कसैले रोकेनन् । उक्त ठाउँमा मोबाइल सम्पर्क पनि हुँदैन । एक जना नजिककै उकालो ठाउँमा चढेर टावर टिपेपछि प्रहरीको सय नम्बरमा फोन गरेर जानकारी दिएका थिए । जिल्ला प्रहरीले घटनास्थल नजिकको वडा प्रहरी चन्द्रौटालाई जानकारी दिएपछि पहिलो टोली २ बजेतिर घटनास्थल पुगेको थियो । फागुन १ गते मंगलबार क्षमताभन्दा दोब्बर यात्रु बोकेर पाल्पाको तिनाउ गाउँपालिका–६ शिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेक डाँडामा लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप दुर्घना हुँदा आठ जनाको ज्यान गयो । दुई महिने बालिकासहित १९ जना घाइते भए । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । ग्रामीण क्षेत्रका कच्ची सडकमा अधिकांश जिपले ‘ओभरलोड’ यात्रु बोक्ने गरेका छन् । श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार १३ सिट पास जिपले क्षमताभन्दा बढी यात्रु बोकेको स्विकारे । तीव्र गति र क्षमताभन्दा बढी भार बोक्ने गरेका कारण सवारी दुर्घटना नियन्त्रण हुन सकेको छैन । प्रहरीका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म १७ हजार ३२ सवारीसाधन दुर्घटना हुँदा ९ सय १६ जनाको मृत्यु भएको छ । यो अवधिमा २ हजार ७ सय ५१ जना गम्भीर घाइते भएका छन् भने ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । गत आर्थिक वर्षमा ३७ हजार ३ सय ९२ दुर्घटनामा २ हजार ३ सय ६८ जनाको ज्यान गएको थियो भने ५ हजार ७ सय ३८ जना गम्भीर घाइते भएका थिए । ०६५/६६ देखि चालु आर्थिक वर्षको मंसिरसम्म ३ लाख १६ हजार २ सय ९२ सवारीसाधन दुर्घटना भएको प्रहरीको तथ्यांकमा छ । यो अवधिमा सवारी दुर्घटनाबाट ३२ हजार ८ सय ६१ जनाको ज्यान गएको छ भने ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए । पछिल्लो १५ वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष ०७६/७७ मा २५ हजार ७ सय ८८ सवारी दुर्घटना भएका थिए । नेपाल रोड सेफ्टी एक्सन प्लान (२०२१–२०३०) मा नेपालमा सडक दुर्घटनाबाट सबैभन्दा धेरै क्षति व्यहोरिरहेकाहरूबारे उल्लेख छ । जसअनुसार सन् २०१७/१८ मा भएका सवारी दुर्घटनामा ज्यान गुमाउने २ हजार ४ सय ८५ मध्ये २८ प्रतिशत पैदलयात्रु थिए । जसमध्ये २४ प्रतिशत पैदलयात्रुको मृत्युको मुख्य कारण बस र ट्रक थिए । सन् २०१७/१८ मा भएका जम्मा दुर्घटनामध्ये ३८ प्रतिशत त मोटरसाइकल दुर्घटनाका घटना मात्रै थिए । जसमा १ हजार ३२ जनाको मृत्यु भएको थियो । यसमा जम्मा सवारी दुर्घटनामध्ये आधाभन्दा धेरै दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट भइरहेको पनि उल्लेख छ । नेपाल रोड सेफ्टी एक्सन प्लानमा पाँच वर्षको दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा ग्रामीण सडकहरूको तुलनामा सहरी र रणनीतिक सडकमा दुर्घटनाको दर बढिरहेको देखिन्छ । यो सरकारी प्रतिवेदनमा सहरी क्षेत्रका सडक अन्य सडकको तुलनामा निकै असुरक्षित रहेको उल्लेख छ । अध्ययनमा अनुसार सहरी सडकको एक सय किलोमिटर खण्डमा ६ सय ४६ वटा सवारी दुर्घटना भएका छन् । जबकि सोही दूरीमा रणनीतिक सडकमा ६३ र अन्य सामान्य सडकमा तीनवटा मात्रै दुर्घटना भएका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार