एमाले र माओवादीबीच पार्टी एकताको लागि ७ बुँदे सहमति

  बगैचा सम्वाददाता

काठमाडौं

नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने भएका छन्। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो। दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। पार्टी एकताका प्राविधिक विषय टुंगो लगाउन दुई पार्टीले एकता संयोजन समिति गठन गरेका थिए। पार्टी एकता संयोजन समितिमा एमालेबाट केपी ओली,  झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहेका छन्।

‘नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ’, सहमति पत्रको तेस्रो बुँदामा भनिएको छ। नेकपा (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने दुई पार्टीले सहमति गरेका छन्। उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति भएको छ।  प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिने छैठौं बुँदामा सहमति भएको छ। ‘आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ’, अन्तिम बुँदामा भनिएको छ।

 

शनिबार र आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भएको ‘वान अन वान’ वार्तापछि आज एकता संयोजन समिति बैठक बसेको थियो। दुई अध्यक्षबीच एक्लाएक्लै वार्तामा पार्टी एकताका लागि सम्पूर्ण विषयमा कुरा मिलेपछि संयोजन समितिबाट टुंगो लगाउन बैठक डाकिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० र ४० को अनुपातमा उम्मेदवारी भागबन्डा गरेर एमाले र माओवादी केन्द्रले चुनावी सहकार्य गरेका थिए।  प्रदेशसभा सरकार गठनमा दुई पार्टीले पदको बाँडफाँट अनुपात ७० र ३० मा मिलाएका थिए। असोज १७ गते दुवै दलले पार्टी एकता गर्ने घोषणासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार