७ बुँदे सहमतिले गर्‍यो ‘माओवाद’ को च्याप्टर क्लोज !

८ फागुन, काठमाडौं ।  पार्टी एकताका लागि माओवादी र एमालेवीच हस्ताक्षरित ७ बुँदे सहमतिले ‘माओवाद’ वा ‘माओ विचारधारा’ को ‘च्याप्टर क्लोज’ गरिदिएको छ । सहमतिपत्रमा ‘माओवाद’ बारे छलफल गरिने भनिएता पनि अब माओवाद वा विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त बन्ने छैन । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका नेताहरुले हस्ताक्षर गरेको सातबुँदे सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ- ‘पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने छ ।’ अहिलेसम्म नेकपा एमालेको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद थियो भने माओवादी पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद र माओवाद’ थियो । तर, सात बुँदे सहमतिपत्रमा एमालेकै मार्ग निर्देशक सिद्धान्तलाई माओवादी नेताहरुले समर्थन जनाएका छन् । माओवादी नेताहरुले औपचारिक रुपमा ‘मालेमावाद’ को साटो ‘मालेवाद’ लाई मान्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।  तथापि सहमतिपत्रको अर्को बुँदामा माओवाद र एक्काइशौं शताब्दिको जनवादका विषयमा पनि छलफल चल्ने स्वीकारोक्ति जनाइएको छ । र, बहुदलीय जनवादका विषयमा पनि छलफल चलाइने वाक्यांश सहमतिपत्रमा परेको छ । तर, महाधिवेशनसम्म जति नै छलफल चले पनि पार्टीको मार्गनिर्देशक सिद्धान्त चाहिँ एमालेकै रहने सहमतिको दोस्रो नम्बर बुँदाले किटानी गरेको छ । पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने किटानी गरिसकेपछि अब माओवादबारे छलफल गरिने बताउनु विरोधाभाषपूर्ण देखिएको छ । तर, माओवादी केन्द्रका नेताहरुले भने माओवाद मात्रै नभएर जनताकमो बहुदलीय जनवाद पनि परिमार्जन हुने दाबी गरेका छन् । अब माओवाद र जबज दुबै परिमार्जन हुने माओवादी केन्द्रका नेताहरुको दाबी छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार