मजदुरको छोरो उद्योगमन्त्री…………

१४ फागुन, काठमाडौं । माओवादी नेता मात्रिका यादव तेस्रोपटक मन्त्री बनेका छन् । अघिल्लोपटक मन्त्री हुँदा एलडीओलाई ट्वाइलेटमा थुनेका मन्त्री यादव ‘क्रान्तिकारी’ स्वाभावका नेता हुन् । उनी मन्त्री बन्नासाथ भ्रष्टाचारी र विचौलियाहरु त्राहीमाम देखिएका छन् ।  अब मात्रिकाले के गर्ने हुन् भन्ने चासो छ जनमानसमा । यसअघि दुईपटक मन्त्री भएका यादवले दुबैचोटि आफैं राजीनामा ठोकेर हिँडेका थिए । ०६४ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य बनेका उनी गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा वन मन्त्री थिए । त्यतिबेला ललितपुरमा सञ्चालित ढुंगाखानी बन्द गर्न दिएको निर्देशन नमानेको भन्दै एलडीओलाई ट्वाइलेटमा थुनेर उनी चर्चामा आए । लगत्तै, प्रधानमन्त्री कोइरालासँगको विवादका कारण राजीनामा दिएर हिँडे । ०६४ को संविधानसभामा समानुपातिक सांसद बनेका यादव प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री बने । त्यतिबेला पनि उनले सरकारबाट आफूलाई काममा सहयोग नभएको भन्दै मन्त्री पदबाट राजीनामा दिए । यादवले त्यसबेला सरकारमात्रै छोडेनन्, माओवादी पार्टीबाटै अलग भए । र, अर्कै समूह गठन गरे । ०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा -माओवादी) को संयोजक भएका उनी ०७३ जेठमा प्रचण्डसँग पार्टी एकता गर्न आइपुगे । माओवादीसँग एकता गरेपछि यसपटक धनुषा १ बाट निर्वाचन जितेका यादवलाई यसपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा परेको छ ।  माओवादीसँग एकतामा आउँदा एक मधेस एक प्रदेशको मुद्दा लिएरै आएको बताउने यादवले अहिलेसम्म उक्त मुद्दा नछाडेको बताउने गरेका छन् । माओवादीसँग एकतापछि पार्टीको कार्यालय सदस्यसहित उनी मधेसका इञ्चार्ज छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार