दुइ अतिवादको चेपुवामा ‘किरात’

करिब २००५ सालतिरको कुरो हुनुपर्छ चिङ्यी कण्टेनरपोर्टमा काम धमाधम भइरहेको थियो । हामी पनि त्यहाँको कामदार । गर्मिको यस्तै मौसम, तातोघाम र समुन्द्रमाथिको फलामे बार्जमाथि काम गर्दैगर्दा एकदिन एकजना शिक्षित साहित्यकार लिम्बु मित्रले मलाई एक्कासी एउटा प्रश्नको सर्प्राइज दिनु भयो, उहाँको प्रश्न थियो- ‘के तपाईलाई लाग्छ लिम्बुहरू किरात हैनन् ?’

‘यस्तो वाहियात प्रश्न कसरी एक्कासी तपाईलाई आयो ?’, मैले भनेपछि उहाँले एउटा किरात बिद्धान लेखकको हवाला दिँदै भन्नुभयो, ‘उहाँले लिम्बुहरू यहाँ किरातहरूले पुर्वमा राज्य चलाई रहेकोबेला मंगोलिया हो कतैतिरबाट आएर किरातहरूको छोरी बिहे गरेर बसेपछि स्थापित भएको हो भन्ने लेख्नु भएकोछ ।’

‘हैट, जजस्ले जेजे लेखुन वा इतिहासको अनुमानित बुँदाहरूलाई फुलबुट्टा भरेर जेजे उद्घाटन गरेको डंका पिटुन- लिम्बु, राई, याक्खा र सुनुवार सबै किरात नै हुन र सहजातिहरू हुन भन्ने अनेकौं प्रमाण र तथ्यहरू छन् । ल, एकक्षणकोलागि हिजो थिएनौं रे, अव त एउटै भईसकियो, होइन र ? केही फरक छौ रे तर हेरौं त त्यसको तुलनामा समानताहरू कति धेरैछन् ।’ मैले मेरो मान्यता पोखें ।

इतिहास र वास्तविकताहरूमा कति तादात्म्यता हुन्छ, इतिहासको श्रोतहरू र यसका अन्वेषक (इतिहासकार)हरूको क्षमतामा कतिसम्म विश्वास गर्न सकिन्छ र इतिहासकारहरूको ब्यक्तिगत दृष्टिकोण र ‘नियति’ले इतिहासको सच्चाईमा कति असर गरेको हुनसक्छ भन्ने कुरामा त्यसबेला सामान्य गफगाफ मात्र भयो ।

यसै प्रशंगमा एउटा कुराको पनि मलाई खुब याद आउँछ । खोटाङ जिल्लाको तुवाचुङ भन्ने रमणीय स्थानमा तयामा र खियामा दुइ दिदिबहिनीले तान बुनेको मिथक छ । एउटा कुनै कालखण्डमा यसठाँउमा बसेर दिदिबहिनीले तान बुनेको मिथकको आधारमा यसलाई धेरैले किरातीहरूको सभ्यताको शुरुवात भएको स्थान भन्ने विश्वास समेत गर्दै आएकाछन् । कसैले लुगा कपडाको आविस्कार खेतीपातीको आविस्कार यहीबाटै भएको मान्दै आउनु आ-आफ्नो सुझबुझको कुरो हो । यतिसम्म त ठिकैथियो तर यसै स्थान तुवाचुङ तिर्थस्थलको प्रवर्धन गर्ने क्रममा एकजना बिद्धान (प्राध्यापक) मित्रले यसको नजिकै रहेको ‘खार्पा’ भन्ने गाउँलाई औल्याउँदै सायद यो खार्पा नै पो पाकिस्थान स्थित हालसम्म सभ्याताको स्थल भनिँदै आएको ू

‘हरप्पा मोहेन्जोदाडो’ हो की, अनुसन्धन हुन आवस्यकछ समेत भनि दिनु भयो । तुवाचुङमा तानबुनेको मिथकलाई सभ्यताको शुरुवात भन्नु नै हाँस्यस्पद छ, किनकी किरातहरू त नेपाल खाल्डोलाई आधार बनाएर नेपालमा लामो समयसम्म शासन गरेको इतिहास साक्षीछ र उपत्यकाबाट पुर्वमा आएका किरातहरूले बल्ल सभ्यता शुरु गरे भन्नु नै इतिहास उल्ट्याउँन खोज्नु हो भने ‘खार्पा’ र ‘हरप्पा’ को उच्चारण झण्डै मिल्न गयो भन्ने बितिक्कै अतिवादी अनुमान ठोकिहाल्नु हुन्छ त ? यस प्रशंगको आशय के हो भने सानो भन्दा सानो अनुमानमा आड लिएर मानिसहरूले कति ठुलो भन्दा ठुलो कुरालाई गलत प्रमाणित गर्ने कोशिस गरिँदो रहेछ भन्न खोजेको हुँ । यसको नकारात्मक सन्देश सबैमा पर्न आवस्यक छैन, थोरै जनमानसमा पर्यो भनेपनि समाजको लागि घातकशिद्ध हुनेछ ।

अहिले प्रदेशको नाम राख्ने क्रम धमाधम भइरहेको बेला मलाई पनि खुब हुटहुटी चलेकोछ । प्रदेश ४ चारको नाम नदीको नामबाट रहेझैं प्रदेश एकको नाम पनि हिमाल वा नदी कै नामबाट हुने हो कि जातिय सभ्यता बोकेको नेपाल कै एउटा काल खण्डमा एउटा इतिहास बनेको शब्द ‘किरात’ रहने हो भन्ने । धेरैको जिज्ञासा यसैमा छ र जताततै चर्चाको विषय बनि रहेकोछ । हुन त प्रदेशको नाम राख्नको लागि मत दिने अधिकार प्राप्त प्रदेशसभाका सभासदहरू निर्वाचित र मनोनित भइ सकेकाछन् र कस्तो नाम राख्ने भन्नेकुरा निर्वाचन हुँदै गर्दा नै एकप्रकार सोच बनाई सकेका छन् । हाल आएर भए गरिएको प्रयत्नहरूले त्यस्तो धेरै ठूलो निर्णायक भूमीका खेल्ला कि नखेल्ला । तर सास भइन्जेल आस हुन्छ भनेझै आफ्नो प्रयत्न गर्नै पर्यो । सांसदहरूले आफ्नो राजनैतिक र ब्यक्तिगत मूल्य र मान्यता अनुसारको राजनीतीक पार्टिमा लागेर चुनाव जिती सकेकाछन् । आफ्नो मान्यता बदलिनु पर्ने भन्ने कुरो अउँछ वा अउँदैन भविष्यले बताउला । तर हामी भित्रै पनि कोही किरात हौँ भनी रहेकाछौ र कोहीहोइनौ कि पनि भनी रहेकोछौ र आजको हामी भित्रको अफ्ठ्यारो र चुनौती भध्ये मूल चुनौति यो पनि हो । किरातहरू बिचमा जुनसुकै कारणले होस एकता नहुनु नै एउटा समस्या भएकोछ । एउटै परिवार भित्र नै हामी किरात हौं र हामी किरात होइनौं भन्ने सम्मको अवस्था आइरहेकोछ । खासगरी पल्लो किरात भनेर चिनीएको लिम्बुवानमा ।

म इतिहास वा समाजशास्त्रको विद्यार्थी होइन । तर लेखक अनुसन्धानकर्ताको इतिहासहरूको सबैकुरा अकाट्य नै छ भन्न मिल्दैन भन्नेकुरामा विश्वस्तछु । मलाई हामीले देखी रहेको र भोगी रहेको कुरा कहिलेकाही यसको भित्री सत्य अरु नै होला नहोला तर हालसम्म हामीले भन्दै आएको चार किरातहरू किन एउटै हुन भन्ने अनेकौ तथ्यहरू छन् । जब राई, लिम्बु, सुनुवार र याक्खा बिचमा एउटै जाति भनेर नै मगनी बिहे हुन्छ, कर्मकाण्डमा केही विविधता भएपनि संस्कारगत कुराहरूमा धेरै समानताछ । राईहरूले ढोल झ्याम्टा बजाएर भूमि पूजा गर्नकोलागि साकेला नाँच्छन भने लिम्बुले सोही दर्शन अनुसार ढोल नै बजाएर च्याब्रुङ नाँच्छन । सुनुवारको श्याँदर र याक्खाको साँस्कृतिक नाँचमा पनि त्यस्तै समानता छ । सबै जातिहरूले आफ्नो मूल दर्शन रहेको मौखिक वेदलाई मुन्धुम, मुक्दुम भन्ने गरिएकोछ । हाम्रो शारिरिक बनावट, वर्ण, स्वभाव र भाषाशैली लगायत अनेकौ पक्षहरू समान छन् । देशमा बहुदलीय ब्यावस्था लागु भएर संघ-संस्था खोल्न सहज हुँदै गएपछि आफ्नो भाषा संस्कार लगायतका सम्वर्द्धन संरक्षणकोलागि भनेर गठित सबैजातिहरूको संस्थालाई किरातजन्य संस्थाको रुपमा लिइएकाछन् । जस्तो कि किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा ।

यी भए बहुदलीय ब्यवस्था लागु भएपछिका कुरा । तर जब माओवादी दसवर्षे जनयुद्ध भयो तब पहिचान र स्वायत्तताको कुरा राम्रैसँग उर्लीयो । त्यसमध्ये ऐतिहासिकताको आधारमा जातिय र पहिचानको कुरा प्रदेश एकमा पनि शसक्त रुपमा देखीयो । पहिचानसहितको संघियताको नारा उर्लिरहेको बेला आत्मानिर्णयको अधिकारका कुराहरू पनि उठ्दै गए । भूगोल र जनसंख्याको हिसावले जती नै सानो भएपनि ऐतिहासिकताको मर्मलाई उठाउँदै छुट्टाछुट्टै राज्यको मागहरू उठ्दै गए । पहिचान सहितको संघियतालाई स्थापित गराउन मूल भूमिका निभाएको तत्कालिन माओवादीले हालको प्रदेश एकको सम्भावित भूगोललाई किरात प्रदेश र सम्पूर्ण किरातहरूलाईहरूलाई समेट्ने गरि भक्तराज कन्दंवाको नेतृत्वमा किरात राष्ट्रिय मोर्चा नै गठन गर्यो । तर पल्लो किरातमा लिम्बुवान छुट्टै राज्यको मागको आवाजहरू बुलन्द हुँदै गएपछि तत्कालिन माओवादी भित्रपनि याक्थुङावाहरूको छुट्टै आवाजलाई कदर गर्दै लिम्बुवान राष्ट्रिय मोर्चा गठन गर्यो । ऐतिहासिकताको आधारमा लिम्बुवान छुट्टै प्रदेश हुनु पर्ने मागहरू सडकमा सबैभन्दा चर्को रुपमा देखियो । लिम्वुवानजन्य पार्टिहरू पनि दर्जनभन्दा धेरै जन्मीए । यता वल्लो किरात र माझ किरातमा भने खासगरी राईहरूले आफ्नो सम्भावित प्रदेशमा किरात प्रदेशको पक्षमा जातिय संस्थाको रुपमा नै अनेकौ किसिमका अभियानहरू चलाउँदै आयो ।

ख्यातीप्राप्त किरात कलाकारहरूको टोली प्रदेशभरी साँस्कृतिक कार्यक्रमहरू संचालन गर्यो र पछिल्लो समयमा ब्यापक रुपमा हस्ताक्षर संकलन कार्यक्रमहरू पनि सम्पन गर्यो । यता लिम्बुवानजन्य पार्टिहरूमा भने राजतन्त्रको अन्त्य भएपछि हामी लिम्बुवान छुट्टै देश हौं र नेपाल छिमेकी देश हो किनभने राजा पृथ्वि नारायण वा उसको वंशले हाम्रो लिम्बुवानलाई जितेको होइन संझौता मात्र गरेर उसको देश नेपालमा गाभेकोले राजतन्त्रको अन्त्यसँगै हाम्रो लिम्बुवान पूर्णरुपमा देशको रुप स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टिहरूसम्म अस्तित्वमा आए । सानै संख्यामा भएपनि यो एउटा अतिवादको पराकाष्टा थियो । अधिकांस लिम्बुवानजन्य पार्टिहरूले देश नै बिभाजनको कुरो त उठाउँदैनन तर साबिक ७ वटा मात्र प्रदेश संख्या रहेको अवस्थामा लिम्बुवान नै हुनुपर्ने अडान राख्नु मेरो गोरुको बारै टक्का भनेजस्तो भइ रहेकोछ । सामान्यतय अरुण पुर्व नौजिल्ला लिम्बुवान प्रदेश बनाउँदा कसैको केही जानेवाला थिएन तर दूर्भाग्यवस तत्कालीन र हालसम्म पनि नेपालमा सकभर संधियता नहोस, भइ हालेपनि जातिय पहिचानको आधारमा त हुँदै नहोस भन्ने मत भएको पार्टिहरूकै बाहुल्यता भएको अवस्थामा तत्कालिन माओवादी सहित पहिचानवादी शक्तीहरूको ११ वटा प्रदेश संख्याको चाहना विपरित जम्मा ७ वटा मात्र प्रदेश कायम भयो । यसपछि प्रदेश एकमा ऐतिहाँसिक रुपमा रहेको लिम्बुवानको भूभाग मात्र कायम रहेन । यस्तो अबस्थामा पनि यसको नाम लिम्बुवान हुनैपर्छ भन्नु आफ्नो अडान र मान्यतामात्र हो भन्नेकुरा सम्झनु पर्दछ । तर यो निर्णायक घडिमा आइपुग्दा अव भने भूगोल र जातियताको हिसावले प्रदेशको साझा नाम किरात नै सर्वसम्मत हुनु पर्ने हो । किरात जाति बाहेक अन्य जातिहरूले पनि महसुस गरेको कुरो हो यो । तर आज प्रदेशको नाम किरात हुन नसक्नुमा यी दुइ अतिवाद नै यसको कारक तत्व देखीएकोछ । यसरि राजनितिक फाँटमा दुइ अतिवाद रहेकाछन् ।चनम्बर एक संघीयता नै नहोस, भएपनि जातिय पहिचान नहोस भन्ने अतिवाद र यसको बिपरित अतिवाद जसरि पनि जाति भूगोल भएपनि जजसको जातिय पहिचान वा बिचार सम्बोधन नभएपनि लिम्बुवान नै हुनुपर्छ भन्ने ऐतिहासिक अतिवाद । आफू किरात जाति हुँ भन्ने महसुस गर्दै पनि यो ऐतिहासिक कट्टरवादले किरात नामाकरणमा एक किसिम अफ्ठेरो परेकोछ ।

लिम्बुवानमा समाज सुधारको क्रममा फाल्गुनन्दले मौलिक संस्कार भन्दा एकदमै फरक तर हिन्दु धर्मसङ्ग धेरै मेलखाने एउटा धर्मको जग खडागरे । त्यस धर्मको नाम किरात धर्म राखिएकोछ जसलाई मूलरुपमा सत्यहाङमापन्थी भनेर चिनिन्छ। त्यसैले लिम्बुवानका हामी किरात होइनौं भन्न खोजिरहेका केही सिमित समुहलाई ‘किरात’ भन्ने शब्द धर्मिक शब्द हो भन्ने बहाना मिलेको रहेछ तर यता माँझ किरातमा यस्तो विशेषता भएको ‘किरात धर्म’ पनि छ भन्नेकुराको अत्तोपत्तो छैन । खाट्टी किरात हौं भनेर गर्व गर्ने ठूलो सङ्ख्याको किरातहरूले सामाजिक सन्जालबाट थाहा पाउँदा आश्चर्य मान्दछन । तर समग्रमा लिम्बुवानमा होस वा वोल्लो र माझ किरातमा होस किरात भन्नाले मुद्दुमी दर्शनको आधारमा प्रकृति र पितृ पुज्ने र संस्कार र सस्कृति मान्ने जाति वा समुदाय भन्ने नै बुझिन्छ । अघि नै उल्लेख गरि सकिएको छ कि यी सबै जातिहरूको सामाजिक संस्थाको नामको अगाडि किरात शब्द जोडिएर आएको पनि छ । लिम्बुवानमा होस वा यता खम्बुवान वोल्लो किरातमा होस मूल प्रवाह त हामी किरात जाति नै हौं भन्ने अडान र विश्वाश मै छन । किरातजन्य सबै प्रतिनिधिसंस्थाहरूले हालै आएर नेपालमा राष्ट्रिय परिचयपत्र लागू हुँदा धर्मको महलमा किरात लेख्ने भनेर साझा सहमतिको बाटो अपनाउने निर्णय गरेकाछन । किरात धर्म भनेको सत्यहाङमापन्थिहरूको धर्म हो जुन मौलिक संस्कारभन्दा धेरै फरक छ भन्ने महसुस भइरहेको बेला भएको यस्तो सहमतिले एउटा अन्यौलता छाउँनु स्वभाबिक छ । तर यसरी सहमती हुँदै गर्दा किरात धर्मलाई अलि बृहत् र फरक ढंगले परिभाषित गर्न खोजिएको छ । जस्तो, ‘परापुर्वकालदेखि हामिले गरिआएको प्रकृति र पितृपूजा र संस्कार संस्कृतिको समग्र रुपनै किरात धर्म हो, प्रकृती र मानव जातिको सम्बन्धको समग्र रूप नै किरात धर्मको विशेषता हो।’ संस्कार र दर्शन नै फरक भएपनि सत्यहाङमापन्थिहरूसँग यहाँनेर एउटा समझदारी भएको जस्तो देखिएको छ । आफुलाई किरात धर्मालम्बी र आफुले प्रचलनमा ल्याएको लिपिलाई किरात लिपि भन्दै आएको सत्यहाङमापन्थिहरूले प्रदेश एकको नाम पनि किरात प्रदेश नै हुनुपर्छ भनेर खुल्ला रुपमै वकालत गर्दै आईरहेका छन ।

aकिरातहरू धर्म होइन संस्कार र सस्कृति मान्छन, मूर्ती फोटोको पूजा गर्दैनन प्रकृति र पितृ पूजा गर्छन भन्ने मान्यताले ब्यापकता पाएको हाम्रो समाजमा धर्मको नयाँ परिभाषा आएकोछ । फरक संस्कार भएको तर किरात समुदाय भित्र मौलाएको जस्तोसुकै संस्कार धर्म सस्कृतिहरूलाई पनि एउटै किरात धर्म अन्तरगत राख्न खोजिएको छ । यो सब हुनुमा राजनितिको प्रभावले पनि काम गरेको महसुस हुन्छ । अहिले मूलधारको याक्थुम्वाहरू, समग्र राई, सुनुवार र याक्खा लगायत सम्पुर्ण अन्य किरातजन्य संघ सस्थाहरूले मध्यमार्ग अपनाएको देखिन्छ चाहे त्यो धर्मको नाम किरात राख्ने सवालमा होस चाहे प्रदेशको नाम किरात वा किरात-लिम्बुवान राख्ने सवालमा होस । धर्मको नाम किरातमा सहमती जनाए पनि मूलधारको याक्थुम्बाहरूको सामाजिक संस्थाको नेत्रुत्व तहमा भने धेरै जसो प्रदेशको नामको सवालमा लिम्बुवानको अडानमा रहँदै आएको देखिछ । तर आजको ठोस परिस्थितिमा भूगोल र जनसङ्ख्याको आधारमा पनि मध्यमार्ग अपनाउनु पर्ने महसुस गरेर हुनसक्छ प्रदेशको नाम किरात वा किरात-लिम्बुवान हुनुपर्ने मान्यतामा आइसकेको अवस्था । तर किरात भित्रै लिम्बू पर्छ भन्ने मान्यता राखीसकेपछी किरात सङ्सङ्गै लिम्बुवान जेड्नु पर्ने अडान ऐतीहाँसिक कट्टरवादी याक्थुम्वाहरूको दवावको परिणाममात्र हो जस्तो लाग्दछ ।

त्यसैगरी आफूलाई किरात नै होइनौं भन्ने केही याक्थुबाहरूले धर्मको नाम पनि भिन्नै किसिमले जुराएका छन ‘युमासाम्यो’ भनेर । समाज सुधारको नाममा स्थापित अतिवादी ‘सत्यहाङमा-किरात’ पछि मौलिकतावादि (?) युमावाद पनि अर्को अतिवादि हो भन्ने लाग्दछ । किनभने यसले आफू साविक ‘किरात-याक्थुम्बा’को मूलधारलाई स्विकार गर्दैन । हामी किरात होइनौं भन्ने याक्थुम्बाहरू नै यो समुहमा धेरै देखिन्छ । यसरी धार्मिक होस वा राजनैतिक-सामाजिक हिसाबले होस ‘किरात’ दुइ अतिवादको चेपुवामा परेको छ । हाललाई संङ्ख्यामा यो निकै सानो भएपनि सामाजिक संजालमा आवाज निकै तिखो छ । यो समुह निकै सानो संख्यामा रहेकोछ किन भनिएको हो भने लिम्बुवानमा जति नै चर्को अवाज उठेर सक्रिय अन्दोलनहरू देखीएको भएपनि विगतको लगातार तिनवटा आम निवार्चन र एउटा स्थिनिय र प्रदेशसभाको निर्वाचनमा यसलाई प्रतिनिधित्व गर्ने तथा एकअर्कालाई समथर्न गरेका राजनितीक दलहरूको जनमत अत्यान्तै न्युन देखिएकोछ । राजनीतिक चुनावको परिणामलाइ सामजिक धार्मिक विचारसँग कतिको तुलनायोग्य छ त्यो आफ्नो ठाउँमा होला । तर यसलाइ धेरै हदसम्म अनुमानको कसिको रूपमा लिन सकिन्छ । यसरी मूलधारको मध्यमार्गी किरात आज दुइ अतिवादको चेपुवामा परेर पनि ठूलो बहुमतमा छ र हात्ती लम्केसरी लम्किरहेछ ।

 

किन्दर राई

शामशुइपो, हङकङ अगष्ट २०१८

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार