स्थानीय सरकारले जगायो आशा………..

सिरहा – बरियारपट्टी गाउँपालिका–३ बलुवाटोलका ७२ वर्षीय सत्यलाल यादवले एक वर्षअघि मात्र गाउँमा बिजुली देखे। उनले आफ्नो गाउँमा बिजुली आउला भन्ने कहिल्यै कल्पनै गरेका थिएनन्। गत वर्ष कात्तिकमा गाउँमा पहिलोपल्ट बिजुली पुग्दा रातभर अनिँदो बसेर हेरिरहे। ‘टुकी बाल्दै यतिका वर्ष बिताइयो, पहिलोपल्ट बिजुली बलेको दिन रातभर निदाउनै सकिएन, हेरिरहें,’ उनलेले त्यो दिन सम्मmँदै भने, ‘अहिले बलुवाटोलका करिब १ हजार घरधुरीमा बिजुली पुगेको छ। बरियारपट्टी–१ गरगमा गाउँका ७५ वर्षीय भूपनारायण यादवले पनि गाउँमा बिजुली बल्ला भन्ने आशा मारिसकेका थिए। प्रत्येक चुनावमा उम्मेदवारको आकर्षक ‘उज्यालो’ नाराले उनी आजित भइसकेका थिए। प्रत्येक चुनावमा नेताहरू उज्यालो दिने सपना बाँडेर भोट लिन्थे,’ उनले भने, ‘हाम्रो भोटले नेताहरूको भविष्य उज्यालियो, गाउँ ज्यूँका त्यूँ रह्यो।’ उनका अनुसार स्थानीय तहको चुनावमा भने उम्मेदवारहरूले गाउँ उज्यालो बनाइदिने भनी देखाएको सपना जितेपछि साकार पारिदिए। ‘स्थानीय सरकारले उज्यालोमा रमाउने हाम्रो दशकौंको सपना पूरा गरिदिएको छ,’ यादवले भने। पहिलो संविधानसभा चुनावअघि भारतीय दूतावासको सहयोगमा एक नेताले यो गाउँमा बिजुलीका खम्बा गाड्ने काम गरेको स्थानीय बताउँछन्। पहिलो संविधानसभा निर्वाचनताका पनि गाउँ उज्यालो बनाइदिने नारा खुबै बिक्यो। लोकप्रिय नारा भजाएर त्यतिबेला चुनाव जितेका नेताहरू गाउँ फर्केनन्। उनीहरूले देखाएका सपना सपनामै सीमित रहे। दोस्रो संविधानसभा निर्वाचनका बेला पनि उही नारा अघि सारेर नेताहरूले चुनाव जिते। त्यसतबेला पनि प्रतिबद्धता पूरा भएन। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भने नेताहरूले पुरानै नारा अलि फरक ढंगले घन्काए– हम गाममे बिजली लाइबेक छोरब (म गाउँमा बिजुली ल्याएरै छाड्छु)। गाउँपालिकाका अध्यक्ष सन्तोष साहले गाउँमा बिजुली बाल्ने प्रतिबद्धता पूरा गरेर गरगमा गाउँलाई उज्यालो बनाएको स्थानीय बताउँछन्। गाउँमा बिजुली नहुँदा हुनेखाने स्थानीय सोलार प्लेट जडान गरी घर उज्यालो बनाउथे। हुँदा खानेहरू टुकी बालेरै काम चलाउँथे। गत वर्ष माघमा गाउँमा बिजुली आएपछि पाँच सय घरधुरी उज्याला भएका छन्। उक्त गाउँमा बिजुली नहुँदा कुटानीपिसानीका लागि स्थानीय मिल भएको टाढाको गाउँ लहरनिया पुग्नुपथ्र्यो। गोरुगाडामा त्यहाँ पुगेर फर्किन दिनभरि लाग्थ्यो स्थानीय बैजनाथ यादवले भने, ‘बिजुली आएपछि गाउँमै मिल बन्दा दैनिकी सहज भएको छ।’ बिजुलीले बस्तीमात्र होइन, खेतखलिहान पनि उज्यालिएको छ। सिँचाइ अभावले बन्जर बनेका जमिनहरूमा हरियाली देखिन थालेपछि किसानहरू पनि खेतीपातीतर्फ हौसिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार