कोरोना कहर

कविता राई गाउँले, काठमाडौ

 

बिना आव्हान

अचानक घोषणा भो अघोषित युद्धको

र उर्दी जारी भो –

युद्धमा तिमी पनि सहभागी मध्यका एक हौ

यो युद्धमा तिमी हार या जित

तर तिम्रो शत्रु भनेको तिमी नै हौ

 

अप्ठ्यारो परिस्थितिको सूचना प्रसारण भैसकेपछि

सरकारले अचानक उपस्थिति देखायो

दुई चार शब्द राहतको हल्ला मच्चाएर

भन्दियो –

आतंककारी तपाईंको हात नजिक आइसकेकोछ

त्यसैले

हात धुनुहोस

पटक पटक हात धुनुहोस

सबुन लगाएर मिची मिची हात धुनुहोस

 

अहो

अहिलेलाई अस्त्र भन्नू साबुन मात्र हो?

 

लगत्तै सरकार बोल्यो

घरबाट बाहिर ननिस्कनुहोस

कुनै हालतमा पनि ननिस्कनुहोस

 

घर हुनेले त घरबाट ननिस्केला

तर घर नहुनेले के गर्ने?

यो प्रश्न आफैंमा निरुत्तरित छ

 

बिना तयारी

निरस्त्रीकृत भएर जब म उभिएँ आफूलाई बचाउन

तब लाग्यो –

यो भन्दा दयनीय अवस्था अरू के हुनसक्छ?

बरू म लड्न सक्छु भोक र अभावको बिरुद्ध ..

अन्याय र अत्याचारको बिरुद्ध …

म तयार छु सशस्त्र युद्द लड्न

म तयार छु तेस्रो विश्व युद्ध लड्न

तर आफूसंग आफै लड्नुपर्ने यो युद्ध ?

कुनै चमत्कारिताको हातमा छोड्नु बाहेक

मसंग अर्को विकल्प छैन

 

अब त सरकार गर्जिनै थाल्यो-

सामाजिक दुरी कायम गर्नुहोस

सामाजिक दुरी कायम गर्नुहोस

त्यसपछि शुरु भो देशमा

लकडाउन …

 

यतिबेला

म कस्तो हालतमा छु ?

म कुन अवस्थामा छु ?

म बिरामी छु कि सन्चो छु?

मैले खाना पाइरहेकोछु कि छुइन?

बेखबर आफन्त ..

बेखबर छिमेकी ..

बेखबर समाज..

बेखबर सरकार …

 

अन्ततः सरकारको आदेश आयो-

जे भएपनि तपाईं कोरोना संक्रमित भएर मर्न पाउनुहुन्न ।

 

 

कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको कविता ।

संयोज: मगेन्द्र राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार