भारत–पाकिस्तान बढ्दो तनाव……..

एजेन्सी :

जम्मुकास्मिरको पुलवामा भएको आत्मघाती हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावले बुधबारसम्म आइपुग्दा सानोतिनो युद्धकै रुप लिएको छ। भारतले मंगलबार बिहान पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो। आक्रमणमा आतंकवादी संगठन जैस ए मोहम्मदका कयौं अखडा ध्वस्त पारेको भारतीय दाबी थियो। घटनामा तीन सयभन्दा बढी आतंकवादी मारिएको भारतले दाबी गरेको थियो। पाकिस्तानले भने हमलामा कसैको मृत्यु नभएको दाबी गरेको थियो। पाकिस्तानले भारतीय विमानले आफ्नो हवाई सीमा उल्लंघन गर्दै घुसेको र पाकिस्तानी सेनाले प्रतिवाद गरेपछि फर्किने क्रममा जंगल क्षेत्रमा बम खसालेको दाबी गरेको थियो। भारतीय वायुसेनाले पाकिस्तानको सीमा क्षेत्रमा बम बर्साएको घटनापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शीर्ष अधिकारीहरुसँग बैठक गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले भारतीय कारबाहीको उचित जवाफ दिने बताएको थियो। दुई मुलुकबीच सुरु भएको टकरावकै बीच बुधबार बिहान पाकिस्तानले भारतीय वायुसेवाका दुई विमान खसालेको दाबी गरेको छ। पाकिस्तानले एक भारतीय पाइलटलाई नियन्त्रणमा लिएको पनि दाबी गरेको छ। भारतले पनि एउटा मिग–२१ लडाकु विमान खसेको र एकजना पाइलट हराइरहेको जनाएको छ।

बाध्यताका कारण जवाफ : इमरान

भारतीय लडाकु विमान खसालिदिएको दाबीपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशबासीका नाममा सम्बोधन गर्दै सेनाले बाध्यताका कारण भारतलाई जवाफ दिनुपरेको बताएका छन्। प्रधानमन्त्री खानले भने, ‘दुई मुलुककाबीच जेजस्ता हतियार छन्, ती हतियारबाट हुने युद्धको अनुमान पनि गर्न सकिँदैन। मेरा पाकिस्तानीहरु, हिजोदेखि जुन अवस्था उत्पन्न भएको छ, यस विषयमा मलाई तपाईंहरुसँग केही कुरा भन्नु थियो। पुलवा घटनापछि मैले हिन्दुस्तानलाई अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको थिएँ। हमलामा पीडित परिवारले कस्तो अवस्था भोगिरहेका छन् भन्ने मलाई थाहा छ।’ खानले पुलवा घटनाको छानबिनका लागि भारतसँग सीधा प्रस्ताव गरेको र उक्त घटना पाकिस्तानको स्वार्थमा नभएको जानकारी गराएको बताएका छन्। ‘यसमा अनुसन्धानका लागि हामी तयार थियौं, तपाईंहरु (भारतीय पक्ष) ले प्रमाण दिनुभयो भने त्यसमा जवाफ दिनुपथ्र्याे। तर तपाईंहरु एक्सनमा उत्रनुभयो, त्यसको जवाफी कारबाही गर्नु हाम्रो बाध्यता थियो,’ उनले भनेका छन्। कुनै पनि सार्वभौम मुलुक यसै चुप लागेर बस्न नसक्ने भन्दै उनले चुप लागेर आफैंलाई अपराधी बनाउन नसकेकाले बुधबार जवाफ दिएको बताएका छन्। ‘तपाईं हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने म पनि आउन सक्छु,’ सम्बोधनका क्रममा भारतलाई लक्षित गर्दै उनले भने। यसैबीच पाकिस्तानी प्रधानमन्त्री खानले भारतसँग वार्ताको प्रस्तावसमेत गरेका छन्। पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोलमा दुई भारतीय लडाकु विमान खसालेपछि गरेको सम्बोधनमा यस्तो प्रस्ताव गरेका हुन्।

जवाफ दिनुको विकल्प थिएन : पाकिस्तानी सेना

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पत्रकार सम्मेलन गरेर बुधबार बिहान भारत प्रशासित कस्मिरका ६ ठाउँमा हमला गरेको बताएका छन्। उनले भनेका छन्, ‘पाकिस्तानी सेनासँग जवाफ दिनुको अर्काे विकल्प थिएन।’ उनले भारतले जस्तो जवाफ दिनुको सट्टा जिम्मेवार मुलुकले जसरी जवाफ दिन चाहेको बताए। उनले भने, ‘आज बिहान पाकिस्तान एयरफोर्सले यस्तो निर्णय गरेको थियो, जसअनुसार कुनै सैन्य निसाना लगाइने छैन। यसबाट कुनै मानिसको जीवनमा क्षति नहोस भन्नेमा पनि हामी सजग थियौं। हाम्रो सेनाले आफ्नो दायराभित्र रहेर टार्गेट लक गर्दै खुला क्षेत्रमा हमला गरेको थियो।’ प्रवक्ता गफुरले पाकिस्तानी सेनाले हवाई हमला सुरु गरेपछि भारतीय एयरफोर्सका दुई लडाकु विमान सीमाको नजिकै आएको र दुवै विमानलाई आक्रमण गरेर खसालिदिएको दाबी गरे। ‘दुईमध्ये एउटा हाम्रो सीमानजिकै खस्यो, अर्काे भारतीय सीमाको नजिकै खसेको छ। भारतमा अर्काे एउटा विमान पनि खसेको जनाइएको छ, त्यसमा पाकिस्तानको कुनै हात छैन,’ गफुरले भने। भारतले पाकिस्तानको एफ–१६ विमान खसालिदिएको दाबी गरे पनि पाकिस्तानले उक्त विमान प्रयोग नै नगरेको जनाएको छ। पाकिस्तानले दुई मुलुकबीच देखिएको टकरावबीच बुधबार आफ्नो एयर स्पेसमा व्यावसायिक उडान बन्द गरेको छ। पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले यस्तो घोषणा गरेको हो। प्राधिकरणले बिहीबार मध्यरातसम्म एयरस्पेस बन्द रहेको बारे सबै एयरलाइन्स कम्पनीलाई जानकारी गराएको छ।

पाकिस्तानी विमानको घुसपैठ : भारत

मंगलबार पाकिस्तानको वायुसीमा क्षेत्रभित्र प्रवेश गरेर हमला गरेको दाबी गरेको भारतले बुधबार भने पाकिस्तानका विमान भारतीय वायुसीमामा प्रवेश गरेको आरोप लगाएको छ। समाचार एजेन्सी पिटिआई र रोयटर्सका अनुसार बालाकोट हमलाको अर्काे दिन पाकिस्तानी विमानले भारतीय वायुसीमामा प्रवेश गरेका हुन्। पाकिस्तानी विमान जम्मु–कास्मिरको रजौरी जिल्लास्थित नौसेरा क्षेत्रमा पाकिस्तानी लडाकु विमान प्रवेश गरको समाचार एजेन्सीहरुले जनाएका छन्। पाकिस्तानी विमानलाई भारतीय विमानले भाग्न बाध्य पारेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यसपछि पाकिस्तानी विमान पाकिस्तान प्रशासित कास्मिरतर्फ भागेको भारतीय मिडियाको दाबी छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पाकिस्तानले भारतीय सैनिक अड्डाहरुलाई निसाना बनाउने कोसिस गरे पनि सेनाले त्यसलाई असफल बनाएको दाबी गरेका छन्। उनले मिग–१६ ले पाकिस्तानी विमान खसालिदिएको र पाकिस्तानी क्षेत्रमा उक्त विमान खस्दै गरेको देखिएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘दुर्भाग्यवश, यसमा हाम्रो मिग विमान दुर्घटनामा प¥यो, र पाइलट हराइरहेका छन्। पाकिस्तानले हाम्रा पाइलट हिरासतमा रहेको दाबी गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।’ पाकिस्तानी सेनाले भारतीय सेनाको ड्रेस लगाएको व्यक्तिको आँखामा पट्टी बाँधेको दृश्य भएको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा ती व्यक्तिले आफू भारतीय वायुसेनाको पाइलट भएको र आफ्नो नाम अभिनन्दन भएको जनाएका छन्।

मोदीले बोलाए सुरक्षा बैठक

पाकिस्तानी वायुसेनाका विमान भारतीय वायुसीमामा घुसपैठ गरेको सूचना पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले बुधबार सुरक्षा निकायका उच्च अधिकारीको बैठक बोलाए। बैठकमा सुरक्षा अधिकारी तथा खुफिया अधिकारीको उपस्थिति थियो। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जल, स्थल र वायुसेनाका उच्च अधिकारीको उपस्थितिमा सुरक्षा अवस्थाको समीक्षा गरिएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।

संयमित हुन अन्तर्राष्ट्रिय समुदायको आग्रह

अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तानलाई संयमित हुन आग्रह गरेका छन्। अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भारत र पाकिस्तानलाई तनाव मत्थर गर्न र सैनिक अभ्यास रोक्न आग्रह गरेका छन्। उनले मंगलबार पाकिस्तानी समकक्षकीसँग कुरा गर्दै आतंककारी समूहविरुद्ध अर्थपूर्ण कारबाही गर्न आग्रह गरेको जनाएका छन्। जर्मनीले भारत र पाकिस्तानलाई विवाद अघि नबढाउन आग्रह गरेको छ। जर्मनीको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण एसियामा भइरहेको घटनाक्रमलाई गम्भीर चासोका साथ हेरिरहेको जनाएका छन्। उनले बुधबार बर्लिनमा पत्रकारसँग कुरा गर्दै तनाव कम गर्न दुवै मुलुक जिम्मेवार हुनुपर्ने बताए। त्यस्तै बेलायतका एसिया तथा प्यासिफिक राज्य मन्त्री मार्क फिल्डले दुवै देशका कुटनीतिज्ञसँग कुरा गर्दै संयमता अपनाउन आग्रह गरेका छन्।

भारत–पाकिस्तान टकरावको सिलसिला

भारत र पाकिस्तानबीच सन् १९४७ मा दुवै मुलुक स्वतन्त्र भएको दुई महिनापछि कास्मिरका विषयमा युद्ध भएको थियो। दुई छिमेकीका बीच सन् १९६५ अगस्टमा पनि कास्मिरकै विषयमा युद्ध भएको थियो। सन् १९७१ डिसेम्बरमा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन भारतले सहयोग गरेको थियो। त्यति बेला भारतीय वायुसेनाले पाकिस्तानभित्र बम बर्साएको थियो। उक्त युद्ध पाकिस्तान टुक्रिएर बंगलादेश बनेपछि सकिएको थियो। सन् १९९९ मेमा पाकिस्तानी सेनाले कार्गिलमा रहेको भारतीय सैनिक पोस्ट कब्जा गरेपछि भारतले जमिन र आकाशबाट आक्रमण गर्दै पछि हट्न बाध्य बनाएको थियो। अक्टोबर २००१ मा भारत प्रशासित कास्मिरको राज्यसभामा भयानक आक्रमण भएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो। त्यसको दुई महिनापछि भारतको संसद्मा हमला हुँदा १४ जनाको मृत्यु भएको थियो। नोभेम्बर २००८ मा मुम्बईको रेलवे स्टेसन, होटललगायतका ठाउँमा भएको हमलामा १ सय ६६ जनाको मृत्यु भएको थियो। भारतले यसको दोष पाकिस्तानमा रहेको लस्कर ए तोइवामाथि लगाएको थियो। जनवरी २०१६ मा पठानकोटको भारतीय वायुसैनिक अड्डामा चार दिनसम्म आक्रमण भएको थियो, जसमा सात भारतीय सैनिकसहित ६ जना हमलाकारीको मृत्यु भएको थियो। १८ सेम्टेम्बर २०१६ मा कास्मिरको सैनिक अड्डामा हमला हुँदा १९ जना भारतीय सैनिकको निधन भएको थियो। ३० सेम्टेम्बर २०१६ मा भारतले लाइन अफ क्रस क्षेत्रमा आतंकवादी लुकेको भन्दै सर्जिकल स्ट्राइक गरेको थियो। तर इस्लामावादले त्यसलाई अस्वीकार गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार