पोखरा — रामघाटमा स्थायी बाँध बनाएर सेती नदी थुन्दा पहिलो असर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पर्छ । किनभने पूर्वतिर डिलैमा छ अस्पताल । त्यसैले बाँधका लागि प्रस्तावित योजनाको अस्पतालले विरोध गर्ला भन्ने अनुमान सामान्य सुझबुझ भएका जो कसैले गर्छ । पोखरास्थित सेती नदीको रामघाट क्षेत्र, जहाँ निजी कम्पनीको व्यापारका लागि स्थायी बाँध बनाउने तयारी छ । तर, उदेकलाग्दो के भने अस्पतालले नै पोखरा महानगरपालिकालाई ‘सेती थुने हुन्छ’ भनेर अनुमति दिएको रहेछ, जसको रहस्योद्घाटन हुँदा पोखरेलीहरू चकित छन् । अस्पतालको संवेदनशीलतालाई बेवास्ता गर्दै प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले आफू सेवानिवृत्त हुनु दुई दिनअघि सेती थुन्ने परियोजनालाई अनुमति दिएका हुन् । कार्यकारी परिषद्मा उनीसहित पाँच जना थिए– तत्कालीन डिन डा. नरेन्द्रविक्रम गुरुङ, निर्देशक डा. अर्जुन आचार्य, डा. रोहिणी सिग्देल र डा. ध्रुवबहादुर अधिकारी । डिन गुरुङ थापाकै ‘एस म्यान’ थिए भने सिग्देल उनकी आफ्नै बुहारी हुन् । अधिकारी, थापाकै साला नाता पर्छन् । परिषद्मा आफ्नै बहुमत भएपछि थापाले एकलौटी निर्णय गर्ने गरेको अस्पतालकै एक चिकित्सकले बताए । ‘सेती थुन्ने आयोजनालाई पनि उनकै जोडबलमा अनुमति दिने निर्णय गराइयो,’ ती चिकित्सकले भने, ‘जाँदाजाँदै गरिएको यस्तो निर्णय अस्पतालका लागि घातक छ । रामघाटको डिलसँगै अस्पताल जोडिएकाले गत माघमा महानगरपालिकाले सेती थुनेर नदीजन्य पदार्थ उत्खनन गर्ने परियोजनाबारे जानकारीसहित अस्पतालको धारणा माग्दै पत्र लेख्यो । परियोजना कार्यान्वयन गर्दा अस्पताललाई पर्न सक्ने असरबारे राय माग्दै सैद्धान्तिक स्वीकृति पनि मागेको थियो । तत्कालीन उपकुलपति थापाको पदावधि फागुन १६ मा सकिँदै थियो । उनले दुई दिनअघि कार्यकारी परिषद्को बैठक डाके । अस्पतालको आपत्ति नरहेको, बरु परियोजनाबाट हुने मुनाफाको केही प्रतिशत अस्पतालले पनि पाउनुपर्ने निर्णय बैठकबाटै गराएर महानगरलाई जवाफी पत्र पठाए ।
सेती थुन्ने आयोजनामाथि अख्तियारले थाल्यो छानबिन
अस्पतालको संवेदनशीलतालाई र भविष्यमा पर्न सक्ने असरलाई मध्यनजर नगरी अनुमति दिनुमा पूर्वउपकुलपतिकै स्वार्थ जोडिएको हुन सक्ने उनको आरोप छ । ‘ठुल्ठूला मेसिन राख्ने भनिएको छ । मेसिनले सेतीबाट बालुवा निकालेर थुपार्दा उड्ने धूलोले अस्पतालका बिरामीलाई असर गर्छ,’ उनले भने, ‘ठूलो संख्यामा ट्रक, टिपर र ट्र्याक्टरको दौडादौडबाट पुग्ने असरलाई नजरअन्दाज गरिएको छ । पूर्वउपकुलपति डा. थापाले भने तीन–चारवटा बैठकपछि मात्रै सहमति जुटेर अनुमति दिएको दाबी गर्छन् । आफूले पठाएको पत्रको व्यहोरा भने सम्झना नभएको उनले बताए । विज्ञसँग राय लिएर निर्णय गरेको/नगरेको भन्ने प्रश्नको जवाफ भने उनले दिन चाहेनन् । उनले भने, ‘मलाई धेरै कुरा सम्झना छैन, नयाँ टिमसँग सोध्नु ।’ उनीपछि नियुक्त भएका उपकुलपति प्रा.डा. डुकबहादुर क्षत्रीले भने महानगरलाई त्यस्तो पत्र पठाएकोबारे आफूलाई थाहा नभएको बताए । ‘वातावरणविद् र विज्ञसँग बसेर छलफल गर्छौं,’ उनले भने, ‘अस्पताललाई असर पर्ने रहेछ भने अघिल्लो पत्रमा पुनर्विचार गरेर फरक रायसहितको अर्को पत्र पठाउँछौं । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले आयोजनाअनुसारका संरचना बन्दा अस्पताललाई के–कस्तो असर पर्छ भन्नेबारे धारणा मागेको बताए । ‘अस्पताल धेरै नै प्रभावित हुने रहेछ भने आयोजना अगाडि बढाउन विचार गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘सहमतिबेगर काम गर्नु हुँदैन भनेर पनि अस्पतालको अनुमति खोज्यौं ।’ नदीजन्य पदार्थ उत्खननलगायत प्रक्रियामा धूलो उड्ने, मेसिनको आवतजावतले एक स्तरको बाधा उत्पन्न हुने उनले स्विकारे । संघअन्तर्गत ३ सय ५० बेडको अस्पताल हाल २ सय ७ रोपनीमा फैलिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको हो । २२ वर्षअघि जर्मनीको भू–वैज्ञानिक तथा प्राकृतिक स्रोतसाधन संस्थानले सेती खोंचको अध्ययन गरेको थियो । सेती डिल वरिपरि ७५ मिटर जोखिमयुक्त रहेको उक्त अध्ययनको निष्कर्ष थियो । हाल पोखरा–१५ अमिनतरामा दैनिकजसो सेती डिलमा पहिरो खसिरहेको छ । पोखरा–१ गाईघाटदेखि पोखरा–१७ ढुंगेसाँघुसम्म ८.६८ किलोमिटरमा फैलिएको सेती खोंचमा साहसिक पर्यटन पूर्वाधार निर्माण हुनेछन् । यसमा डेढ अर्ब रुपैयाँ खर्चने प्रालिको तयारी छ । यो योजनामा महानगरले भीर, डिलसम्बन्धी आफैंले बनाएको मापदण्ड लत्याउँदै सेती खोंच निजी क्षेत्रलाई सुम्पिएको हो । भूगर्भविद्, विज्ञसमेतको संलग्नतामा सेती डिल भौगोलिक हिसाबले संवेदनशील रहेको भन्दै उक्त क्षेत्रमा ५ देखि ५० मिटर मापदण्ड महानगरले कायम गरेको थियो । प्रालिले भवन नक्सा पास गर्दा मापदण्डसम्बन्धी व्यवस्था लागू नहुने मस्यौदामा उल्लेख छ । श्राेत: इका