डिन कार्यालयबाटै हराउँछन् थेसिस, सास्ती खेप्दै विद्यार्थी…..

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका विद्यार्थी दिवस राईले आफ्नो स्नातकोत्तर शोधपत्र (थेसिस) डिन कार्यालयबाटै हराएपछि निक्कै हैरानी खेप्नुपर्‍यो । उनी कीर्तिपुरस्थित भाषाविज्ञान केन्द्रीय विभागका विद्यार्थी हुन् । विभागबाट भाइभा पूरा गरी गत असोज १५ मा उनले डिन कार्यालयमा थेसिस बुझाएका थिए । प्रक्रियाअनुसार डेढ महिनापछि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ट्रान्सक्रिप्ट लिन जान भनिएको थियो । स्नातकोत्तर नियमित कक्षा पूरा गरेसँगै उनले आफ्नो मातृभाषा ‘लोहोरुङ मर्फोलोजी’ (लोहोरुङ रूपवैज्ञानिक अध्ययन) शीर्षकमा शोधपत्र बुझाएका थिए । ‘शोधपत्र बुझाएपछि ढुक्क भएर ट्रान्सक्रिप्ट लिने दिन कुरेँ’ उनले भने, ‘मंसिर लागेपछि बल्खु पुग्दा थेसिसको कुनै कागजात नआएको थाहा भयो । त्यसपछि डिन कार्यालयमा सोधपुछ गर्न पुगें । तर कर्मचारीले केही आएको छैन भने । थेसिस बुझाएको बिल देखाएपछि मलाई नै थेसिस खोज्न लगाए ।’ पन्ध्र दिन धाएर उनले डिन कार्यालयको गोदाम, कोठा सबैतिर आफ्नो थेसिस खोजे तर फेला पार्न सकेनन् । ‘कतै नभेटिएपछि फेरि विभागबाट प्रमाणित अर्को प्रति बुझाउन भनेर सुझाए,’ उनले भने, ‘डिन कार्यालयले थेसिस चटपटे पसलेलाई बेच्छ भन्ने सुनेको थिएँ, सायद मेरो थेसिस पनि रुजु नगरी बेचिदिएको हुन सक्छ । नत्र फेला पर्नुपर्थ्यो । विभागमा बुझाएको थेसिस डिन कार्यालयमा पुनः बुझाएपछि मात्रै उनले तीन महिना ढिलो गरी ट्रान्सक्रिप्ट पाए । जसका कारण आफू स्वर्ण पदकको दाबेदारीबाट समेत बञ्चित हुनुपरेको उनको भनाइ छ । ‘हाम्रो ब्याचको नियमिततर्फ शोधपत्र बुझाउनेमध्ये सबैभन्दा धेरै ३ दशमलब ३८ जीपीए मैले प्राप्त गरेको रहेछु,’ उनले भने, ‘विभाग प्रमुखले ब्याच टप भएकाले गोल्ड मेडलका लागि निवेदन दिन मलाई भन्नुभएको छ । तयारी गर्दै छु । त्रिवि मानविकी तथा समाजशास्त्र संकाय डिन कार्यालयको लापरबाहीबाट पीडित राई एक उदाहरणमात्र हुन् । डिन कार्यालयले सेमेस्टर प्रणाली लागू भएदेखि परीक्षाको जिम्मेवारी लिएको हो । त्यसयता विद्यार्थीको शोधपत्र हराउने, एकजनाको रजिस्ट्रेसन नम्बर अर्कोलाई दिनेलगायत समस्या दोहोरिँदै आएको छ । भाषाविज्ञान विषयकै विद्यार्थी रमेश थामीले त्रिवि रजिस्ट्रेसन नम्बरको पछाडि ‘२००९’ हुनुपर्नेमा ‘२०००९’ उल्लेख गरिएपछि सच्याउन एक महिना धाउनुपर्‍यो । ‘डिन कार्यालयले रजिस्ट्रेसन नम्बर गलत राखिदिएछ,’ उनले भने, ‘गल्ती नम्बर भएपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा पेन्डिङमा राखिदिएछ । कारण थाहा पाउन मुस्किल पर्‍यो । महिना दिनसम्म डिन कार्यालय धाएर मेरो थेसिस खोज्दै हैरान भएँ । बल्ल सच्याएर ६ सातापछि ट्रान्सक्रिप्ट पाएँ ।

त्रिविले २०७० सालदेखि स्नातकोत्तर तहको पठनपाठन तथा परीक्षा सेमेस्टर प्रणाली लागू गरेको हो । पहिलो चरणमा कीर्तिपुरस्थित केन्द्रीय विभाग तथा क्याम्पस, दोस्रो चरणमा काठमाडौं उपत्यकाका क्याम्पसहरू र तेस्रो चरणमा देशभरि सेमेस्टर प्रणाली लागू गरिएको छ । सेमेस्टेर प्रणाली लागू भएको आठ वर्ष बितिसक्दा पनि परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयबीच परीक्षा र ट्रान्सक्रिप्ट वितरण जस्तो सामान्य विषयमा पनि समन्वय भएको देखिँदैन । र, यी दुई निकाय एक अर्काबीच आरोपप्रत्यारोप लगाउनमै व्यस्त छन् । सेमेस्टर प्रणालीमा विद्यार्थीले बढी शुल्क तिर्छन्,’ परीक्षा नियन्त्रक पुष्पराज जोशी भन्छन्, ‘पैसाको लोभमा डिन कार्यालय आफैंले परीक्षाको जिम्मेवारी लिने र ट्रान्सक्रिप्ट वितरण गर्ने जिम्माचाहिँ परीक्षा नियन्त्रण कार्यालयलाई दिएपछि यो समस्या आएको हो ।’ विद्यार्थीले विषयगत आधारमा चार सेमेस्टरको न्यूनतम शुल्क ४० हजार रुपैयाँ सम्बन्धित विभाग तथा क्याम्पसमा बुझाउँछन् । शोधपत्रका निम्ति थप पाँच हजार रुपैयाँ बुझाएको विद्यार्थी थामीले बताए । त्रिवि मानविकी संकायका सहायक डिन तारा भुसालले गल्ती स्विकार्न चाहेनन् । ‘थेसिस हराउने घटना भएको छैन,’ परीक्षा शाखाको जिम्मेवारी लिएका उनले भने, ‘पहिले अनलाइन सिस्टम थिएन र केही त्रुटि भएको हुन सक्छ । अहिले त्यस्तो छैन । सम्बन्धित विभागले थेसिसको भाइभा लिएका हुन्छन् । अनि डिन कार्यालयलाई पठाइसकेँ भन्छन् । तर ढिलो पठाएर अलमलिएको हुन सक्छ ।’ कतिपय विभागले डिन कार्यालयमा पठाउन ढिलाइ गर्ने उनले सुनाए । मानविकी संकायका अर्का डिन गोविन्दप्रसाद शर्मा सेमेस्टर प्रणालीको पुनरावलोकन तथा मूल्यांकन गर्ने तयारीमा जुटेको बताउँछन् । आउँदो फागुनमा पठनपाठनबारे गोष्ठी गरिने बताउँदै उनले भने, ‘खोजेको नीतिअनुसार पठनपाठन भयो/भएन त्यसको समीक्षा गर्दैछौं ।’ त्रिवि मानविकी संकायअन्तर्गत ४४ वटा विषय समिति छन् । सेमेस्टर प्रणाली लागू भएयता यसको समीक्षा हुन सकेको छैन । गोष्ठीले स्नातकतर्फका चार वर्षे सेमेस्टर कोर्स, स्नातकोत्तर तहका दुई वर्षे कोर्सको समीक्षा गर्ने शर्माको भनाइ छ । त्यस्तै स्नातकोत्तरतर्फको चार सेमेस्टर कोर्सभित्र थेसिस समेट्ने योजना रहेको उनले बताए ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार