मन्त्री हेरफेरको निर्णयले समाजवादीमा हलचल…..

काठमाडौं-   सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीको चाहनाअनुसार मन्त्रिमण्डल पुनर्गठन भएको छ । जसअनुसार समाजवादीका केही मन्त्री परिवर्तन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको हो । यो सँगै नेकपा समाजवादीभित्र मन्त्री हेरफेरको ‘लफडा’ अन्त्य भएको छ । तर, मन्त्री हेरफेरको विषय सार्वजनिक भएपछि समाजवादीमा देखिएको विवादको तुष भने बाँकी नै रहने देखिएको छ । आइतबार साँझ राष्ट्रपतिबाट मन्त्री हेरफेरको विज्ञप्ति सार्वजनिक हुने संकेत पाएपछि सो पार्टीका दुई जना पुराना मन्त्री (प्रेम आले र रामकुमारी झाँक्री) हतारहतार मन्त्रालयबाट विदाई भए भने बाँकी दुई जना कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा सोमबारमात्रै बिदाइ भए । मन्त्रिमण्डल पुनर्गठनसँगै नयाँ चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार शपथसहित पदबहाली गरिसकेका छन् । तर, समाजवादीले आफ्ना मन्त्रीहरू हेरफेर गर्न गरेको निर्णय र सिफारिस प्रधानमन्त्री देउवालाई कार्यान्वयन गर्न तीन साता लाग्यो । मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीमा भएपनि सत्ता सहयात्री दलको निर्णय कार्यान्वयन गर्नु देउवाका लागि बाध्यता थियो । २०७९ जेठ २२ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो भने असार १ गते स्थायी कमिटीले उक्त निर्णय अनुमोदन गरेको थियो । मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको नेकपा समाजवादीले स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्न सिफारिस गरेको गरेको थियो । पुराना मन्त्री फिर्ता बोलाएर नेता जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन गरेको पार्टीको निर्णय सोमबार नयाँ मन्त्रीहरुले पदवहाली गरेसँगै कार्यान्वयनमा गयो ।

संकटको भुमरीमा माधव नेपाल : 

सुरुमा पार्टीले गरेको निर्णयप्रति फिर्ता बोलाइएको मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरे । उनीहरुले पार्टीले निर्णय गरिसकेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुको साटो कहिले बालुवाटार त कहिले खुलमटारतर्फ दौडधुप गरेर पार्टी निर्णयलाई चुनौती दिँदै पदमै बस्न चाहेका हुन् कि भन्ने प्रश्नहरु उब्जिए । फिर्ता बोलाइएका मन्त्रीहरूको अस्वभाविक सक्रियता बढ्न थालेपछि पार्टी नेताहरु प्रधानमन्त्री देउवा र गठबन्धन दलका नेताहरूमाथि नै आक्रोश पोख्न थाले । यही क्रममा अध्यक्ष माधव नेपालसँग पुराना र नयाँ मन्त्रीहरूबीच सवाल जवाफ नै चल्न पुग्यो । पुरानाले तत्काल पद नछोड्ने अडान देखाउने र नयाँले पार्टीको निर्णय किन कार्यान्वयन हुँदैन भनेर अध्यक्ष नेपाललाई प्रश्न गर्न थाले । यही प्रश्न बोकेर माधव नेपाल कहिले प्रधानमन्त्री भेट्न बालुवाटार त कहिले सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्न बाध्य भए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार