तुइनबाट मृत्यु हुनेको अभिलेखसमेत सरकारसँग छैन…..

काठमाडौं,दार्चुला — २०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर ब्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भए । नेपाल तर्फको मालघाटबाट भारतको धार्चुलामा पर्ने गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले लठ्ठा खुस्काइदिएपछि महाकालीमा खसेका थिए । उनको शव अझै भेटिएको छैन । त्यसको वर्ष दिन बित्न नपाउँदै ब्यास गाउँपालिका–२, दुम्लिङका १७ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपाल तर्फआउने क्रममा तुइनबाट खसेर बुधबार बेपत्ता भए । भारतीय बजारबाट किनमेल गरी फर्किने क्रममा उनी तुइनबाट खसेर महाकालीमा हेलिएका थिए । बुधबारको घटनासहित २५ वर्षको अवधि महाकाली नदीका तुइनबाट खसेर मात्र २६ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य नदी तथा खोलाका तुइनले पनि यो अवधिमा धेरैको ज्यान लिइसकेको छ । तुइन विस्थापनको नीति पूर्ण कार्यान्वयन हुनु त कता हो कता तुइनबाट मृत्यु हुनेको एकीकृत अभिलेखसमेत सरकारसँग छैन । दार्चुला जिल्लामा तुइनबाट खसेर २०६७ सालमा इन्जिनियर राजेन्द्र न्यौपाने बेपत्ता भएका थिए । गृह मन्त्रालयकाअनुसार बुधबारको घटनासहित हालसम्म महाकालीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर हालसम्म २६ जनाको मृत्यु भएको अभिलेख छ । १ सय ९७ किमि लम्बाइको नेपाल–भारत सीमा लम्बाईमध्ये महाकाली नेपाल–भारत सीमवर्ती नदी हो । घरायसी र दैनिक उपभोग्य बस्तु किनमेल गर्न भारतीय बजारमा जानुपर्ने बाध्यता छ । सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । निर्माण योजनामा रहेका पुल पनि समयमै नबन्दा तुइनबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । झोलुङ्गे पुल नहुदाँ तुइनको भरमा वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ । अरु जिल्लामा पनि तुइनबाट खसेर स्थानीयले ज्यान गुएका छन् । २०७७ साउन ६ मा हेटौंडाका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले सामरी र राप्ती खोलाको दोभान नजिकै टाँगिएको तुइनबाट खसेर ज्यान गुमाए । त्यही महिनाको साउन १९ मा लमजुङको दोर्दी खोला तर्ने क्रममा तुइनबाट खसेर दोर्दी गाउँपालिकाकी फूलमाया गुरुङ बेपत्ता भएकी थिइन् । २०७२ पुसमा दार्चुलाकै सुन्सेराका ५५ वर्षीय चन्द्रसिंह कुँबर तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । दार्चुलाको महाकालीमा तुइन बिस्थापन गरी सुरक्षित र सहज आवागमन गर्न ब्यास गाउँपालिका–६, बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६, बाँकु तथा ब्यासकै मडगाउँमा झोलुङ्गे पुल प्रयोगमा आएका छन् । गतवर्ष जयसिंह धामीको मृत्युपछि तुइन भएको ठाउँ मालमा पुल निर्माण कार्य अघि बढेको छ । दार्चुलाकै महाकालीको ब्यास-४ स्थित मलघट्टे र भारत जोड्ने पुल निर्माणका क्रममा छ । तर, कहिले सकिने भन्ने टुंगो छैन ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार