श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै…..

काठमाडौँ — श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ । यससँगै प्रदर्शनकारीहरूको समूहले राजधानी कोलम्बोस्थित उनको निवासलाई लगभग कब्जामा लिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको छ । राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिंसात्मक बन्दै गएको हो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले ‘पुलिस ब्यारिकेड’ साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो । जहाँ प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन । सेना र प्रहरीले भीड नियन्त्रणमा लिन संयुक्त रुपमा प्रयास गरे पनि भीड अनियन्त्रित बन्दै गएको छ । यस क्रममा सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन् । यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले सबै राजनीतिक दलका नेताहरूलाई आकस्मिक बैठक बोलाएका छन् । साथै उनले विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन पनि सभामुखलाई आग्रह गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रधानमन्त्री विक्रमासिंघे पनि शनिबार नै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको रोयटर्सले जनाएको छ ।

निशानामा राजनीतिज्ञहरू:

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दर्जनौं प्रहरी अधिकृतसहित ठूलो संख्यामा मानिसहरू घाइते भएका छन् । गत वर्ष मार्चदेखि हुँदै आएको प्रदर्शनमा मानिसहरूले सहज जीवनयापनको माग गर्दै आएका छन् । श्रीलंकामा इन्धन तथा खाद्यान्न अभाव हुन थालेपछि एक वर्षदेखि नै पटकपटक हिंसात्मक प्रदर्शन हुँदै आएको छ। २ करोड २० लाख जनसंख्या भएको दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकट गहिरिँदै जानुमा यहाँका राजीनिज्ञहरू नै दोषी रहेको बताइन्छ । विश्लेषकहरूले पनि यस्तो अवस्था आउनुमा प्रमुख नेताहरूलाई नै दोषी देखेका छन् । विशेषगरी राष्ट्रपति गोताबाया राजापाक्षे यसका लागि जिम्मेवार रहेको भन्दै प्रदर्शनकारीहरूले उनको राजीनामा मागिरहेका छन् । यतिसम्म कि प्रदर्शनकारीले राजापाक्षले देश नै छाडेर जानुपर्ने नारा लगाइरहेका छन् । विदेशी मुद्राको अभाव साथै औषधिलगायत खाद्यान्न अभाव झेल्दै आएको श्रीलंकाले पछिल्लो ७० वर्षयताकै ठूलो संकटको सामना गरेको बताइन्छ । महिनौंसम्म चलेको प्रदर्शनसँगै यसअघि राजापाक्षका भाइ महिन्दा राजापाक्षले गत महिना प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै गोताबायाका अरु दुई भतिजाले पनि मन्त्री पदबाट राजीनामा दिएका थिए । गत मे महिनामा विक्रमासिंघेले प्रधानमन्त्रीको पद सम्हालेपछि केही हदसम्म प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो । अहिले भने प्रदर्शनकारीले राष्ट्रपति गोताबायासँगै प्रधानमन्त्री विक्रमासिंघेको पनि राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री विक्रमासिंघेले यसअघि नै देशको अर्थतन्त्र ध्वस्त भएको घोषणा गरेका थिए । हाल यहाँका अधिकांश जनताले दिनमा तीन पटक खाना खान नसक्ने बताइन्छ । आर्थिक संकटसँगै उत्पन्न राजनीतिक अस्थिरताप्रति रुष्ट जनताहरू यतिबेला राजनीतिक नेतृत्वप्रति आक्रोशित बन्दै आएका छन् । राजनीतिक नेतृत्वबाट आर्थिक संकट समाधान हुन नसक्दा आम नागरिकहरू थप आक्रोशित बनेका हुन् । त्यसो त गत महिना पनि राष्ट्रपति विक्रमासिंघेको निवास घेराउ गर्नुका साथै आन्दोलनकारीहरूले पूर्वमन्त्री र सांसदको घरमा आगजनी गरिदिएका थिए । त्यस क्रममा एक सांसदको मृत्युसमेत भएको थियो । शनिबार प्रदर्शन अनियन्त्रित हुँदै गर्दा १६ जना सांसदहरूले संयुक्त रुपमा राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रसस्त गरिदिनु पर्ने उनीहरूको भनाइ छ ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार