चिनियाँ कम्युनिस्ट पार्टी का विदेश विभाग प्रमुख लिउ र माओवादी केन्द्रका अध्यक्ष दाहाल भेट…..

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर ६ वटा सन्देश प्रवाह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालसँग सोमबार साँझ खुमलटारमा भेटवार्ता गर्दै लिउले नेपालको आन्तरिक मामिलामा चीनबाट हस्तक्षेप नहुने, नेपालका सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध बनाउने सन्देश दिएका हुन् । उनले नेपालमा चीनविरोधी गतिविधि हुन नपाओस्, यहाँका राजनीतिक दलले आफ्नो फैसला आफैं गरुन् र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई मिलेर अघि बढाऔं भन्ने चाहना पनि व्यक्त गरेका छन् । भेटका क्रममा उनले अन्तर्राष्ट्रिय मुद्दामाथि माओवादी धारणा बुझ्न खोजेका थिए । विभागमा नेतृत्व सम्हाल्नेबित्तिकै पहिलो विदेश भ्रमणका रूपमा आइतबार नेपाल आएका लिउले माओवादी अध्यक्ष दाहालसँग नेपालका वाम दलहरूको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताएका छन् । नेपालमा आमनिर्वाचन नजिकिँदै जाँदा चिनियाँ नेताले गरिरहेको भ्रमण यहाँका वाम दलहरूलाई एकताबद्ध गर्नका लागि त होइन भन्ने बहस चलिरहेको छ । २०७४ को आमनिर्वाचनअघि र पछि एमाले–माओवादी केन्द्र गठबन्धन निर्माण र पार्टी एकताका लागि चीनले सहजीकरण गरिदिएको टिप्पणी हुने गरेको छ । तर एकीकृत पार्टी नेकपाको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा पुगे । त्यसपछि नेपालमा वाम गठबन्धन कमजोर मात्र भएन, सरकारसमेत कांग्रेसको नेतृत्वमा गयो । अहिले पनि वाम दलहरूलाई मिलाउन चीनले पहल गरिरहेको चर्चा छ । चिनियाँ नेता लिउले भने नेपालको वाम गठबन्धनका सम्बन्धमा चीन र सीपीसीको कुनै भूमिका नरहने प्रस्ट पारेका छन् । ‘नेपाल र यहाँका दलहरूले आफ्नोबारेमा आफैंले फैसला गर्नुपर्छ । हामी त्यसैलाई सम्मान गर्छौं,’ चिनियाँ नेता लिउको भनाइ उद्धृत गर्दै माओवादीका विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘तालमेल कसरी गर्नुहुन्छ, तपाईंहरूको स्वतन्त्रताको कुरा हो । हामी कुनै पनि हस्तक्षेप गर्न चाहँदैनौं र रुचि पनि राख्दैनौं ।’ दाहालको निवासमा भएको भेटवार्तामा माओवादीका नेताहरू श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र ऊर्जामन्त्री पम्फा भुसाल पनि सहभागी थिए । भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता एवं परराष्ट्रमन्त्री नारायण खड्कासँगको छुट्टाछुट्टै भेटमा ४५ मिनेटभन्दा कम कुराकानी गरेका चिनियाँ नेता लिउले दाहालसँग भने झन्डै दुई घण्टा बिताएका थिए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका माओवादी नेता श्रेष्ठका अनुसार लिउले दाहालसँग नेपालका राजनीतिक पार्टीहरू र सीपीसीको सम्बन्ध सुधार गर्न तथा नेपालमा सार्वजनिक रूपमा देखिएका अन्तर्राष्ट्रिय मुद्दामाथि पार्टीहरूको धारणा बुझ्न आएको बताएका थिए । ‘मुख्य त चीन र नेपालबीच तथा सीपीसी र नेपालका राजनीतिक पार्टीहरूबीच मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्ने उहाँको भ्रमणको उद्देश्य देखिन्छ,’ श्रेष्ठले भने । उनका अनुसार लिउले नेपाल चीनको असल छिमेकी मित्र रहेको पनि बताएका थिए । ‘नेपालले विश्वको कुनै पनि मुलुकसँग विकासका लागि सहयोग लिँदा स्वागत गर्छौं । तर नेपाललाई प्रयोग गरेर चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने हाम्रो चाहना छ,’ लिउलाई उद्धृत गर्दै श्रेष्ठले भने । नेपालका राजनीतिक दलहरूले आफ्नो फैसला आफैं गर्नुपर्ने पनि चिनियाँ नेता लिउले बताएका थिए । सीपीसीले आफ्नो फैसला आफैं गरेका कारण चीनमा विकास भएको उनले उल्लेख गरेका थिए । नेपालले गत फागुनमा अमेरिकी सहयोग निकाय एमसीसीसँग भएको सम्झौतालाई संसद्बाट अनुमोदन गर्नुअघि र पछि बेइजिङले पटक–पटक असन्तुष्टि प्रकट गरेको थियो । चीनले त्यसबेला पनि नेपालले आफ्नो निर्णय आफैं गर्नुपर्ने धारणा राखेको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार