कांग्रेस नेता प्रदीप गिरिको निधन…..

काठमाडौँ — अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उनको निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए । करिब पाँच वर्षदेखि गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । पटक–पटक उपचारका लागि भारत जाने र आउने क्रम चलिरहेको थियो । यस पटक पनि लामो उपचारपछि नेपाल फर्किएका उनी साउन पहिलो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए । संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ पंकज बर्मनले शनिबार राति ९:३० बजे उनको निधन भएको जानकारी दिए । गिरीको पार्थिव शरीरलाई आइतबार बिहान ९ देखि ११ बजेसम्म अस्पताल परिसरकै शिवालय मन्दिरमा राखिने, त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । दिउँसो ४ बजेपछि उनको अन्त्येष्टि गरिनेछ । सिरहाको बस्तीपुरमा २००२ सालमा जन्मिएका गिरी सानैदेखि कुशाग्र बुद्धिका थिए । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बौद्धिक नेताको छवि बनाएका उनलाई अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूले पनि उत्तिकै सम्मान गर्छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी उनी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुन् । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै गिरीले बीपीको संगत पाएका थिए । राजनीतिक संघर्षकै क्रममा उनले करिब चार वर्ष जेल जीवन बिताए । २०५१ मा पहिलोपटक संसद् प्रवेश गरेका उनी २०५६ को चुनावमा पराजित भए । २०६४ र २०७० को संविधानसभामा समानुपातिक सभासदका रूपमा संविधान लेख्ने कार्यमा सक्रिय उनले २०७४ मा प्रत्यक्ष चुनाव जितेका थिए । पटक–पटक सांसद बने पनि मन्त्री बन्न इच्छुक भएनन् । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनले लेखेका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनी राणाकालमा जन्मेका थिए । जनता ‘रैती’ थिए । लेख्ने, पढ्ने र बोल्ने आजादी थिएन । यद्यपि, त्यसबखत राणाहरूमध्ये पनि अलि उदार स्वभावका पद्मशमशेर श्री ३ को आसनमा थिए । उनी जन्मेको पाँच वर्षमात्र भएको थियो, मुलुकमा प्रजातन्त्रको बिहानी झुल्क्यो । त्यही उमंग र उल्लासमा उनी हुर्के, बढे र पढे । गिरीले नेपाली समाज किन यसरी पछाडि पर्‍यो भनेर किशोरावस्थादेखि नै प्रश्नहरू सोध्न र तिनको उत्तर नेपाली समाजमै कतै छ भनेर खोज्न थाले । जीवनको अन्त्यसम्म पनि उनले नेपाली समाजको समस्या र चासोबारे प्रश्न गरिरहे, शासकहरूलाई समाधानका सामाजिक मन्त्रहरू सिकाइरहे । गिरीका बुबा मित्रलाल नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा सिरहा सभापति थिए । धनीमानी खान्दानमा जन्मेको भए पनि त्यो वैभवपट्टि प्रदीप कहिल्यै आशक्त भएनन् । गिरीले बस्तीपुरको पुर्ख्यौली सम्पत्ति मित्र सेवा आश्रमका नाउँमा अर्पण गरेका छन् । उनले निकै सरल र साधा जीवन बाँचे । खद्दरको कुर्था सुरुवाल लगाएर देश घुमे । समाजशास्त्रको अध्ययन गरे, मार्क्सवाद आत्मसात् गरे र नेपालका थुप्रै मार्क्सवादीहरूलाई मार्क्सवाद पढाए । त्यसैले उनी युवादेखि वृद्धसम्म, प्राज्ञिकदेखि श्रमिकसम्म सबैका प्रिय बन्न सफल भए । गिरीसँग लामो सहकार्य र संवाद गरेका वरिष्ठ पत्रकार किशोर नेपालको नजरमा उनी सत्ताको लोभ नगर्ने नेता हुन् । उसो त राजनीति गिरीको प्राथमिक रुचि नै होइन । ‘प्रदीप दाइको प्राथमिक रुचि साहित्य हो, त्यसपछि उहाँको झुकाव अध्यात्ममा थियो, राजनीति त उहाँको तेस्रो रुचि हो,’ गिरीसँगको वार्ताबारे नेपालले केही साताअघि लेखेका छन्, ‘उहाँको चर्चा राजनीतिकै कारण बढी हुने गर्छ । राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टीको ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ? तर, प्रदीप दाइमा मैले सत्ताको लोभ देखेको छैन । त्यसबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार