शीतलनिवासमा पौडेलको शपथ…..

काठमाडौँ — गणतान्त्रिक नेपालका तेस्रा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार कार्यभार सम्हालेका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएपछि पौडेलले राष्ट्राध्यक्षका रूपमा पदभार सम्हालेका हुन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पौडेललाई राष्ट्राध्यक्षको कार्यभार सुम्पँदै ७ वर्षे दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् ।  शीतलनिवासमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई आसन हस्तान्तरण गरेपछि बिदाइको हात हल्लाउँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । त्यसअघि राष्ट्रपति पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका थिए । तनहुँको रिस्तीस्थित बाहुनपोखरामा मध्यम किसान परिवारमा जन्मेर ६ दशक लामो क्रियाशील राजनीतिक जीवनको उत्तरार्द्धमा राष्ट्रपति बन्न सफल ७८ वर्षीय पौडेलका लागि आफ्नो सादापन जोगाउने र संविधानको संरक्षण गर्ने चुनौती सुरुवातदेखि नै छ । शपथ कार्यक्रममा आफू जेलमा रहँदाका समकालीन नेतादेखि सहयोगी पुराना नेता–कार्यकर्तालाई सम्झेर केही फरक सन्देश दिन खोजेका छन् । कार्यकारी बन्ने हुटहुटीमा रहेका पौडेल त्यसमा भने सफल हुन सकेनन् । समकक्षी कांग्रेस सभापति शेरबहादुर देउवा पाँच–पाँच पटक प्रधानमन्त्री बन्दा पौडेलको बारम्बार गुनासो हुन्थ्यो– ‘आफू पाँचचोटि प्रधानमन्त्री हुने, मलाई एक पटक सहयोग नगर्ने ?’ २०२७ सालमा नेविसंघ गठन गर्ने बेलादेखि नै देउवा र पौडेलबीचको सम्बन्ध साथी र प्रतिस्पर्धीको थियो । जीवनको लामो कालखण्ड देउवासँगै प्रतिस्पर्धामा बिताएका पौडेलले आखिरी समयमा भने उनैबाट न्याय पाएका छन् । अहिले पौडेल जति खुसी छन्, त्योभन्दा बढी खुसी देउवा देखिन्छन् । देउवालाई सबैभन्दा बढी खुसी पुस १० मा आफ्नो हातबाट गुमेको सत्ताको साँचो पौडेललाई राष्ट्रपति बनाएसँगै फिर्ता गर्न सकेकोमा भएको छ । पार्टीभित्र झन्डै ‘खलनायक’ को दर्जा पाइसकेका देउवा एकाएक राजनीतिक शक्ति केन्द्रमा फर्केपछि खुसीले गद्गद् छन् । शपथपछि पदभार सम्हाल्न पौडेल शीतलनिवासको ढोकाभित्र छिर्दै गर्दा उनलाई साथ दिएका देउवामा हर्षको सीमा थिएन । जीवनमै सबैभन्दा बढी खुसी कोही छ भने मै छु, आजको दिनमा देशभरका कांग्रेसी कार्यकर्ता कोही बेखुस छैनन्,’ फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि धुम्बाराहीस्थित निवासमै भेट्न पुगेका पौडेलसँग देउवाले भनेका थिए । सोमबार शीतलनिवासभित्र छिर्दा देउवा र पौडेलको खुसी त्यस्तै थियो । निवर्तमान राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादव अस्थिर खालको संसद्को समीकरणमा सत्ता परिवर्तनको सम्भावित खेल भइरहने भएकाले कार्यकारीले संवैधानिक विवादमा तान्न सक्ने प्रयास बारम्बार हुने भन्दै त्यस्तो बेला राष्ट्रपतिका लागि संविधान संरक्षण गर्ने सबैभन्दा ठूलो चुनौती खडा हुने बताउँछन् । अहिलेको शासकीय प्रणालीमा एउटै पार्टीले सरकार बनाउने अवस्था छैन, सरकार बनाउन राजनीतिक दलका आ–आफ्ना स्वार्थ हुन्छन्, त्यसमा पनि निजी स्वार्थ हावी हुन्छन्,’ यादव भन्छन्, ‘नयाँ राष्ट्रपति रामचन्द्रजीलाई पनि यस्तो स्थितिमा जोगिएर संविधानको संरक्षण र पालना गर्ने चुनौती सुरुवातदेखि नै छ । तत्कालीन राष्ट्रपति भण्डारीले दुई–दुई पटकको संसद् विघटनको सिफारिस गर्दा संविधान संरक्षणको दायित्व निर्वाह नगरेको र संसद्बाट पारित विधेयकलाई प्रमाणीकरण नगरेको घटनाक्रमले भण्डारीको पछिल्लो कार्यकाल बढी आलोचित बनेको थियो । संसद्बाट दुई–दुई पटक पारित गरेर पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकार गरेको घटनालाई राजनीतिक दलका नेताहरू पूर्वआबद्ध पार्टी एमालेसँगको मोह त्याग्न नसकेको अर्थमा व्याख्या गर्छन् । त्यस्तै विवादमा प्रथम राष्ट्रपति रामवरण यादव पनि तानिएका थिए– कटवाल प्रकरणमा । संविधानको मर्मविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्तिको सिफारिस गर्दा रोक्न नसकेको अर्को आरोप पनि उनीमाथि थियो । संविधान र कानुनमा प्रस्ट व्यवस्था नभएको, पुराना नजिर र परम्परासमेत नबसेका कतिपय काममा सरकारले आफ्नो अनुकूल निर्णय गराउन खोज्छ, त्यस्तो बेलामा राष्ट्रपतिले विचार पुर्‍याउन सकेनन् भने विवादमा पर्ने काम हुन्छ,’ प्रथम राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहाल भन्छन्, ‘विधेयकको हकमा राष्ट्रपतिले एक पटक मात्रै फिर्ता गर्न सक्ने संवैधानिक व्यवस्था हो । दोस्रो पटक फिर्ता गर्न सक्दैन । संवैधानिक आयोगका नियुक्तिहरूमा कार्यकारी र राजनीतिक दलको एउटा स्वार्थ हुन्छ, आमजनताको चाहना र अपेक्षा अर्को हुन्छ । त्यस्तो अवस्थामा बचेर भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई चुनौतीपूर्ण हुन्छ, यसबाट बचेर अघि बढ्न सक्दा नै नयाँ राष्ट्रपति सफल हुने हो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार