काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनका प्रतिस्पर्धी र निर्वाचित नेताहरू मुलुक हाँक्ने शीर्षस्थ स्थानमा पुगेका छन् । २०२३ सालमा सरस्वती बहुमुखी क्याम्पस ठमेलको स्ववियु सभापति निर्वाचित रामचन्द्र पौडेल अघिल्लो साता मात्र गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बने । चुनावी तयारी : आइतबार हुने स्ववियु निर्वाचनका लागि काठमाडौंको पद्मकन्या क्याम्पसमा मतदान केन्द्र तयार गर्दै कर्मचारी । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिकमध्ये ४७ र अधिकांश सामुदायिक क्याम्पसमा मतदान हुँदै छ । तस्बिर : दीपक केसी/कान्तिपुर २०२७/२८ को स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रतिस्पर्धी शेरबहादुर देउवा कांग्रेस सभापति छन् । पाँच पटक त उनले प्रधानमन्त्रीको अवसर पाए । उनलाई त्यतिबेला पराजित गरेका बालमुकुन्द खरेल त्रिभुवन विश्वविद्यालयमा रजिस्ट्रार बने । ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जकी पूर्वस्ववियु सभापति उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष छिन् । विद्यार्थी राजनीति हुँदै स्ववियुबाट शंकर पोखरेल, राजेन्द्र राई, हिक्मत कार्की र खगराज अधिकारी मुख्यमन्त्रीसम्म बने । एमाले महासचिव पोखरेल केन्द्रीय क्याम्पस, एकीकृत समाजवादीका नेता राई रत्नराज्यलक्ष्मी, एमाले नेताद्वय कार्की र अधिकारी नेपाल ल क्याम्पस र पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वस्ववियु सभापति हुन् । कांग्रेस महामन्त्री गगन थापा त्रिचन्द्र क्याम्पसका पूर्वस्ववियु सभापति थिए । पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पनि स्ववियुबाटै राजनीतिमा फड्को मारेका हुन् । सांसदहरू ठाकुर गैरे, विशाल भट्टराई, शंकर भण्डारी, प्रदीप पौडेल, प्रतिमा गौतम पनि स्ववियु हुँदै राजनीतिमा उदाएका हुन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँड, एकीकृत समाजवादीका नेता जगनाथ खतिवडा, एमाले सचिव तथा पूर्वमन्त्री योगेश भट्टराई, माओवादी नेता तथा पूर्वमन्त्री बिना मगर, कांग्रेस सांसद वीरबहादुर बलायर, दिवंगत पूर्वमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वमन्त्री सुरेन्द्र चौधरी, माओवादी नेता हिमाल शर्मा पनि स्ववियुमा सक्रिय बन्दै राजनीतिमा फड्को मार्ने नेतामा पर्छन् । अधिकारकर्मी गौरी प्रधान, पूर्वराजदूतहरू टंक कार्की, हिरण्यलाल श्रेष्ठ, राजेश्वर आचार्य, उदयराज पाण्डे, विजयकान्त कर्ण कुनै बेला त्रिवि स्ववियुअन्तर्गत विभिन्न क्याम्पसमा सक्रिय थिए । यतिका नेता जन्माउने स्ववियुको इतिहास ६ दशक लामो छ । पञ्चायतदेखि २०४६ को प्रजातन्त्र पुनःस्थापनासम्म जल्दोबल्दो विरासत बोकेको विद्यार्थी राजनीति भूमिकाविहीन बन्दै गएको प्रशस्तै गुनासो सुनिन्छ । शैक्षिक, राजनीतिक मुद्दाभन्दा पनि विद्यार्थी नेतामाथि पार्टीगत गुटबन्दी, अराजकता र कमाउ धन्दामा लागेको आरोप हट्न सकेको छैन । यसपालिको स्ववियु निर्वाचनमा दलीय र गैरदलीय रूपमा विद्यार्थीले संगठन र समूह दर्ता गरी प्यानल बनाएका छन् । तर घोषणा/प्रतिबद्धता खासै देखिँदैन । कस्तो एजेन्डा उठाउने, कस्तो नेतृत्व छान्ने भन्ने विचारविमर्शसमेत विश्वविद्यालयमा हुन नसकेको प्राध्यापक केशव पौडेलले बताए । ‘स्ववियुमा निर्वाचितले के गर्छ भन्ने जिज्ञासा पनि विद्यार्थीमा देखिँदैन,’ उनले भने, ‘उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी मतदाता छन् तर किन मतदान गर्नेसमेत थाहा नहुने धेरै छन् ।’ विद्यार्थी आन्दोलनलगायतले विश्वविद्यालय राजनीतीकरणमा फसेकाले निर्वाचनको गतिविधि पनि त्यही वरिपरि घुमेको उनले टिप्पणी गरे । ‘विचार गोष्ठी, छलफल, सेमिनार चलेको देखिँदैन, कुनै पनि मुद्दा उठाएको पाइँदैन,’ उनले भने, ‘चेतनाको पाटोभन्दा पनि सत्तामा पुग्ने मात्र ध्यान बढी देखिन्छ । सबैभन्दा बढी विद्यार्थी रहेका पृथ्वीनारायण क्याम्पस पोखरा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा भने आइतबार निर्वाचन नहुने भएको छ । आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया स्थगित गरिएको हो । त्यस्तै, काठमाडौंको त्रिचन्द्र, पाटन, आरआर, नेपाल कमर्स क्याम्पस, आयुर्वेद कीर्तिपुर, पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ, पोखरा नर्सिङ, भरतपुरको वीरेन्द्र बहुमुखी, महेन्द्र बहुमुखी बागलुङ, सिद्धनाथ क्याम्पस महेन्द्रनगर र त्रिभुवन क्याम्पस पाल्पालगायत ठूला क्याम्पसमा विवादका कारण निर्वाचनमा अवरोध भएको छ । साभार : इका