एक दिन ढिला गरेर नेपाल भित्रियो मनसुन…..

काठमाडौँ — नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ । बुधबार पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ । बुधबार साँझ ६ बजेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको लमजुङमा रहेको कुन्छास्थित वर्षा मापन केन्द्रमा भएको छ । त्यहाँ १०६.२ मिलिमिटर(एमएम) वर्षा मापन भएको पूर्वानुमान महाशखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसपछि सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा मापन गरिएको छ । दामनस्थित मापन केन्द्रमा ९२ एमएम वर्षा मापन भएको छ । मकवानपुरकै चिसापानीगढीमा ८५.६ एमएम वर्षा मापन भएको झाले जानकारी दिए । कोसी प्रदेशमा बुधबार साँझ ६ बजेसम्मको तथ्यांकमा सबैभन्दा बढी वर्षा भोजपुरमा गरिएको छ । भोजपुरमा ५४ मिलिमिटर वर्षा मापन गरिएको पूर्वानुमान शाखाले जनाएको छ । यस्तै, काठमाडौंको बूढानीलकन्ठमा ६०.६, सुन्दरी जलमा ५५ र त्रिभुवन विमानस्थलस्थि केन्द्रमा ५४.४ एमएम वर्षा मापन गरिएको छ । विभागले १० एम कम वर्षालाई हल्का, ११ देखि ५० एमभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एमएमभन्दा कम वर्षालाई भारी वर्षा भन्ने गर्छ भने सय देखि २ सय एमएमभन्दा कमलाई ‘धेरै भारी वर्षा’ भन्ने गर्छ । पूर्वानुमान महाशाखाले एक दिन ढिला गरेर भित्रिएको मनसुनलाई सामान्य रूपमा लिएको छ । मौसमविद् झा भन्छन्,’यो वर्ष एक दिन ढिला गरेर मनसुन भित्रियो । अन्य वर्षहरूको तुलानामा यो सामान्य हो । ‘ गत वर्ष जुन ५ मा मनसुन भित्रिएर अक्टोबर १६ मा बाहिरिएको थियो । नेपालमा जुन १३ देखि अक्टोबर २ लाई मनसुनको समय भनेर विभागले परिभाषित गरेको छ । यसैबीच, मनसुनी प्रणाली पश्चिम नेपालसम्म पुग्न अझ केही दिन लाग्ने भएको छ । अरु बेला पनि ढिला केही दिन ढिला गरेर पश्चिम नेपाल पुग्ने मनसुनी प्रणाली यस वर्ष अरब सागरमा बनेको ‘बिपरजय चक्रावत’को आंशिक प्रभाव हुन सक्ने अनुमान गरिएको छ । मौसमविद् झाले भने,’अरबियन सागरमा चक्रवातका कारण बनेको शक्तिशाली न्यून चापीय प्रणाली गर्दा पूर्वबाट पश्चिमतिर जाने मनसुनी प्रणालीलाई धकेल्छ भन्ने आँकलन हो । उक्त चक्रवातले बिहीबार बिहान भारतको गुजरात र पाकिस्तानको कराँचीको बीचमा उग्र रूप लिने भभारतीय मौसम विभागले जनाएको छ । अरब सागरबाट ८ किलिमिटर प्रति घन्टाको रुप्तारमा उत्तर पश्चिम दिशा बढेको उक्त चक्रावत मंगलबार रातिदेखि उत्तर र उत्तरपूर्व दिशातिर बढेको थियो । हाल यो चक्रावत ८५ किलोमिटर प्रति घन्टाको रफ्तारमा अगाडि बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मनसुनी प्रणाली पूरा नेपालमा पुग्न केही दिन लाग्ने भएपछि पश्चिमी नेपालका भू-भागहरूमा तातो हावा अझै चलिरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसमी बुलेटिन निकाल्दै मध्य तथा पश्चिम तराईंका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत रहेको जनाएको छ । ‘कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ,’मधेश प्रदेशको एक-दुई स्थानमा लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।’ विभागले अत्याधिक गर्मी, मेघ-गर्जन, चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम र क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यसैबीच बिहीबार र शक्रबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ । ती प्रदेशबाहेकका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको हो । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले प्रक्षेपण गरेको छ । साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार