दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा…..

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना धरौटीमा छुटेका छन् । दुई सातादेखिको बहस टुंगिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार २८ पृष्ठ लामो आदेश जारी गर्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ र हरिभक्त महर्जनलाई थुनामा राख्न आदेश दिएका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) (ख) र संगठित अपराध नियन्त्रण ऐन २०७० को दफा ४१ बमोजिम उनीहरू सबै (१६ जना) लाई तत्काल प्राप्त आधारमा दोषी देखिएको र पछि ‘प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी’ हालका लागि कारागार चलान गर्नू भन्ने आदेशमा उल्लेख छ । न्यायाधीश न्यौपानेले प्रतिवादीहरू टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने कसुरमा संलग्न देखिए पनि गाम्भीर्यका आधारमा थुनामा राख्न अनुचित हुने भन्दै धरौटीमा रिहा गर्न आदेश गरे । बहस सकिएपछि उनले प्रतिवादीहरूलाई इजलासमा ५ घण्टा कुराएर साँझ ६ बजे गरेको आदेशअनुसार गुरुङ १० लाख र महर्जन ५ लाख बुझाएर शुक्रबारै हिरासतमुक्त भएका हुन् । बाँकी अभियुक्तहरूलाई ८४ दिनसम्मको हिरासत बसाइपछि केन्द्रीय कारागार सुन्धारा लगिएको छ । रायमाझी, खाण, उनका स्वकीय सचिव केसी, गिरोहका सदस्य चौधरी र रामशरण केसी, नेपाल हज समितिका अध्यक्ष मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा र पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपलाई भद्र बन्दीगृह र बाँकीलाई केन्द्रीय कारागारतर्फको भवनमा राखिएको जेलर ललितकुमार बस्नेतले जानकारी दिए । एउटै अभियोगमा रायमाझी बाबुछोरा एउटै कारागार चलान भएका छन् । न्यायाधीशले आदेश लेख्न लगाएको पूरै पाँच घण्टामा इजलास प्रतिवादीहरू र प्रतिरक्षा बहस गर्ने कानुन व्यवसायी तथा बाक्लो संख्यामा उपस्थित भएका प्रतिवादीका आफन्तहरू विभिन्न अड्कलबाजीका साथ अधीर भएर बसिरहेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपाने, जिल्ला न्यायाधिवक्ताहरू लक्ष्मण उपाध्याय, महेश खत्री, सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनी र दिनेश भट्टराईले खाजाअघि नै बहस सकेपछि न्यायाधीश न्यौपाने केहीबेरमै आदेश सुनाउन फर्किने वाचाका साथ इजलासबाट उठेका थिए । एक डेढ घण्टामै थुनछेकको आदेश आउने अनुमानका साथ इजलासमा प्रतिवादी तथा तिनका कानुन व्यवसायी र शुभेच्छुकहरू विभिन्न अड्कलबाजी गरेर पूर्ववत् इजलासमै कुरिबसे । तर, निकै समय घर्किसक्दा पनि आदेश नआएपछि बिस्तारै उनीहरूमा छटपटी बढ्न थालेको थियो । ‘साह्रै पट्यार लागिसक्यो,’ पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले साँझ साढे पाँच बजेतिर हैरानी व्यक्त गरे, ‘आदेश आउने त अझै सुरसार देखिन्न त !’ उनकै बगलमा बसिरहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको अनुहारमा केही होला कि भन्ने आशा देख्न सकिन्थ्यो । उनी अघिल्ला दिनहरूमा झैं गम्भीर मुद्राका साथ इजलासमा मौन बसिरहे ।

को–को जेल चलान ?;

टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ र हरिभक्त महर्जन धरौटीमा छाडिदेलान् कि भन्ने आशा रायमाझी, खाणदेखि मियाँ र रामशरण केसीसम्ममा थियो । त्यही आशाको छेउकुनातिर उभिएर उनीहरू आपसमा खासखुस गरिरहेका थिए । तर, जब न्यायाधीश न्यौपाने ठीक ६ बजेर २ मिनेटमा आदेशको प्रतिसहित आफ्नो कुर्सीमा बसे, अचानक इजलासमा सन्नाटा छायो । हँसिलो मुद्रामा इजलासभित्र छिरेका न्यौपानेले केहीबेर अभियुक्ततिर हेरे अनि आदेशमा एक क्षण आँखा अड्याए । ‘लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटी तिर्ने आदेश गरेको छु, बाँकी सबैलाई थुनामा राख्नू,’ उनले संक्षिप्त आदेश गरे, ‘चित्त नबुझे उच्च अदालतमा निवेदन गर्नु, बाटो खुला गरिदिएको छु ।’ न्यौपाने उठेपछि इजलासमा बाक्लो सन्नाटा छायो भने प्रतिवादीहरू नि:शब्द देखिए । मियाँ र पाण्डेले मौन मुद्रामै आँसु खसाल्न थाले । खाण र रायमाझी रनाहमा परेजस्ता देखिए । इन्द्रजित राईलाई उनका वकिलहरूले जेल र हिरासतको अन्तर सम्झाउँदै बेरितको आदेश बदर गरिपाऊँ भनी उच्च अदालत जाने तरिकाबारेमा बताए । रिजालले केहीबेर गम खाए अनि भने, ‘मेरो को छ र यो देशमा ? अनि किन पाउँथें मैले न्याय ? केहीबेर रिजाल भुइँतिर घोरिएर त्यसै बसिरहे । अनि फेरि बेअर्थसँग मुस्कुराए र भने, ‘लौ, जहाँ–जहाँ यो बूढोलाई घिसारेर तिमेर्का इज्जत ढाकिन्छ त्यहाँ त्यहाँ घिसार, के भन्नु र अरू त !’ उनले यसो भन्दा वरपर उभिएका प्रहरीहरू रिजाललाई टीठ मानेर हेरिरहेका थिए । खाणसँगैको बेञ्चमा बसेका आङटावा शेर्पाको अनुहारमा गहिरो उदासी देखिन्थ्यो । आदेश सुनेर रायमाझीको ठीक पछाडि उभिएका उनका छोरा सन्दीप त्यसै टोलाइरहेका थिए भने उनीसँगै उभिएका सन्देश शर्माको अनुहार निभेको दियोझैं भएको थियो । भित्ताको लहरमा बसेका सानु भण्डारी र केशव दुलाल भने भावश्न्यू थिए । बाहिरभन्दा भित्रै आफ्हूरूलाई सुरक्षित हुने भएकाले जेल परे पनि केही विस्मात नहुने उनीहरूको धारणा रहेको उनका नजिकका आफन्तहरूले बताए । त्यसैले पनि हुँदो हो, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर रकम असुल्ने काममा संलग्न भएको अभियोग लागेका यी दुई मुख्य अभियुक्त अन्यको तुलनामा शान्त देखिन्थे । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार