बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प,१ बेपत्ता १८ घाइते…..

बझाङ‚ दार्चुला — बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण खसेको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । भूकम्पका कारण बझाङ र बैतडीमा १८ जना घाइते भएका छन् । टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकामा गरी १६ जना घाइते छन् । घाइते धेरैजसो विद्यार्थी छन् । भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग मंगलबार रातिसम्म खुल्न सकेको छैन । जयपृथ्वीको माल्लालाग्ना भीर र छबिस पाथीभेराको जालेबगरमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । निरन्तर परकम्प गइरहेकाले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । ‘भिरालो जमिनमा पहिरो गएकाले डोजर पठाउँदा थप क्षति हुन सक्ने भएकाले राजमार्ग खुलाउन सकेका छैनौं । डोजर तयारी अवस्थामा छ । सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा गएको ६.३ म्याग्निच्युडको भूकम्पको धक्का भारतको दिल्लीसम्म महसुस गरिएको थियो । पटक–पटक परकम्प गइरहेकाले स्थानीय घरबाहिर खुला चौरमा बसिरहेका छन् । जिल्ला अस्पतालमा भएका बिरामीलाई बाहिर राखेर उपचार भइरहेको छ । ‘सदरमुकाम चैनपुरमा यतिधेरै घरमा क्षति भएको छ । परकम्पले घरभित्र बस्ने अवस्था छैन,’ चैनपुरका सुनील नेपालीले भने, ‘फेरि भूकम्प आउने हो कि भन्ने डरले सबै बाहिरै छौं ।’ चैनपुर र आसपासका गाउँमा थुप्रै घर, विद्यालय र वडा कार्यालयलगायत संरचनामा क्षति भएको जानकारी आइरहेको प्रहरीले जनाएको छ । मस्टाका अध्यक्ष ज्ञानबहादुर बोहराले यकिन तथ्यांक प्राप्त नभए पनि पालिकाभरका पाँच प्रतिशत घर भत्किएको अनुमान रहेको बताए । ‘थुप्रै भवनमा क्षति भएको जानकारीे छ । दिउँसो आएका कारण मानवीय क्षति जोगिएको छ,’ बोहराले भने । ठूलो भूकम्प जानुभन्दा २६ मिनेट अगाडि २ बजेर ४० मिनेटमा बझाङकै तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सुरुको भूकम्पपछि स्थानीय सतर्क भएका कारण ठूलो मानवीय क्षति जोगिएको हो । पहिलो भूकम्पपछि जिल्लाका सबैजसो विद्यालयले विद्यार्थीलाई घर पठाएका थिए । बाटोमा हिँडिरहेका बेला भूकम्पको धक्काले लडेर धेरैजसो विद्यार्थी घाइते भएका हुन् । ‘पहिलो झट्का आउनेबित्तिकै हामीले विद्यार्थीलाई घर पठाइसकेका थियौं,’ जयपृथ्वीको बालविकास माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र उपाध्यायले भने, ‘विद्यार्थी हिँडेको केहीबेरमा ठूलो भूकम्प आयो । हेर्दाहेर्दै विद्यालय भवन भत्कियो । विद्यार्थीलाई घर नपठाएको भए ठूलो क्षति हुने रहेछ । छिमेकी बाजुरामा पनि भौतिक संरचनामा क्षति भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा र बडीमालिका नगरपालिकालगायत क्षेत्रमा थुप्रै घर चर्किएको र भत्किएको खबर आएकाले क्षतिको विवरण संकलनका लागि सुरक्षाकर्मी परिचालन गरेको बताए । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख बलबहादुर तामाङका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा गएको ५.३ म्याग्निच्युडको भूकम्प मुख्य भूकम्प जानुभन्दा पहिलाको तरंग (फोर सक) हो । भूकम्पले बैतडीमा पनि दुई जना घाइते भएका छन् । माथिबाट खसेको ढुंगा लागेर डिलासैनी र सिगास गाउँपालिकामा एक/एक जना घाइते भएको प्रहरीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता इन्स्पेक्टर योगेश खत्रीका अनुसार डिलासैनी–२ की १० वर्षीया निरा भण्डारी र सिगास–२ धौलाडीकी कमला धामी घाइते भएका छन् । भूकम्पले सिगास, डिलासैनी गाउँपालिका, पुर्चौडी र पाटन नगरपालिकामा दर्जनभन्दा बढी घर र विद्यालयका भवन चर्किएको स्थानीयले बताएका छन् । दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनमा क्षति पुगेको छ । दार्चुलाका प्रहरी प्रवक्ता इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जिल्लाभरका प्रहरी इकाइलाई क्षतिको विवरण संकलन गर्न भनेको बताए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार