उद्धारमा ढिलाइले इजरायलका नेपाली आक्रोशित…..

काठमाडौँ — दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका छन् । जीवन उच्च जोखिममा परेको चार दिन बितिसक्दा पनि उद्धार नगरेको भन्दै कृषि विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । इजरायलको सुरक्षित स्थान मानिएको रामत नेगेभको कृषि फार्ममा राखिएका ५५ नेपाली विद्यार्थी । उनीहरूलाई जोखिमयुक्त स्थान नेतिभोतको कृषि फार्मबाट सोमबार उद्धार गरिएको थियो । इजरायलको दक्षिणी गाजा क्षेत्र र लेवनानसँग जोडिएको उत्तरी क्षेत्रमा कृषि काममा २ सय ६५ जना विद्यार्थी थिए । जसमा हमास लडाकुको आक्रमणमा परी १० जना विद्यार्थी शनिबार मारिएका थिए । चार जना घाइतेको उपचार जारी छ भने एक जना बेपत्ता छन् । घरफिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । ‘हामी सेदोत नेगेभ (एग्रिकल्चर ट्रेनिङ सेन्टर) बाट सँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका विद्यार्थीलाई सोमबार नै आफ्नो सरकारले उद्धार गरेर लगिसक्यो । हाम्रो सरकार भने चार दिन बैठक मात्रै बसिरहेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका लुइस रिजालले भने, ‘प्राथमिकता केलाई दिने भन्ने कुरा नै हाम्रो सरकारले छुट्याउन सकेको छैन । विद्यार्थीहरूले ‘सिंहदरबारमा बस्ने बैठकले साथीहरूको मूल्य मात्रै तोकिरहेको’ बताए । ‘कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं । त्यो निकै कठिन छ । दुई दिन अगाडिसम्म खान पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो,’ रिजालले भने, ‘दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरू चलिरहेको छ भन्छ । यसका लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा छ । सरकारले सक्तैनौं भन्नुपर्‍यो । पैसा हामी आफैं हाल्छौं । पैसा हाल्न नसक्ने भए हामीलाई तुरुन्तै सूचना प्रदान गर्नुपर्‍यो । नेपाली दूतावासले फार्म मालिक र इजरायली सुरक्षा संयन्त्रसँग समन्वय गरी दक्षिणी क्षेत्र सेदोत नेतिभोतबाट ५५ जना विद्यार्थीलाई रामेत नागेभ र उत्तरी क्षेत्रबाट ७२ जनालाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएर राखिएको छ । इजरायलको उत्तरी क्षेत्र लेवनानको बोर्डर नजिक कार्यरत सय जना विद्यार्थीलाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएको हो । उत्तरी क्षेत्र पनि असुरक्षित बन्दै गएको हो । विद्यार्थीहरू आफूहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअनुसार आफ्नो बसाइलाई निरन्तरता दिन नसक्ने भन्दै उद्धार चाहेको बताए । इजरायलका कृषि मालिक र विश्वविद्यालयले भने अध्ययन र पढाइलाई निरन्तरता दिन आग्रह गर्दै आइरहेको छ । हामीलाई जहिले पनि मानसिक र भावनात्मक रूपमा बलियो हुनुपर्छ भनेर सबैले भनिरहेको छ । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । पाँच दिन हुन लागिसक्यो । बमको आवाज गर्जेको गर्जै छ,’ चितवनकी विभूषा अधिकारीले भनिन्, ‘हामीलाई बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । हामी पूर्ण रूपमा सुरक्षित छैनौं ।’ विद्यार्थीहरू १६ अक्टोबरबाट इजरायलका उडानहरू कतै पनि बाहिर जान नदिने खबरले थप चिन्तित देखिएका छन् । ‘इजरायलले आफ्नै नागरिकलाई त बिदामा बाहिर जाऊ भनिरहेको छ । हामीलाई भने नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?’ उनले भनिन् । धनगढीका कल्पना जोशीले आफूहरूलाई जसरी पनि नेपाल जान चाहेको बताइन् । ‘हामीलाई खाना पाएका छौं ? बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरू गुमाइसक्यौं,’ उनले भनिन्, ‘हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरू साथीहरूलाई गुमाउनु छैन । जीवित भएको चाहनुहुन्छ भनेर तुरुन्तै उडान पठाइदिनु होला । हामी जीवितै घर जान चाहन्छौं ।’ तेलअविवस्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई नेपाल पठाउन विश्वविद्यालयसँग समन्वय गरिरहेको जनाएको छ । ‘जोखिम क्षेत्रमा रहेका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भयौं । उनीहरूलाई इजरायल ल्याउने विश्वविद्यालयसँग एक्जिटका लागि समन्वय भइरहेको छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भनिन्, ‘अहिले राखिएको ठाउँ सुरक्षाको हिसाबले उचित छ ।’ उनले नेपाल जान इच्छुक विद्यार्थी र कामदारसँग फाराम संकलन भइरहेको बताइन् । ‘विश्वविद्यालयसँग विधिवत् रूपमा एक्जिट गर्ने विषयमा छलफल गरेको छ । अर्कोतर्फ विद्यार्थीहरूलाई सार्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘अब कसरी उडानमा पठाउने भन्ने विकल्पमाथि छलफल भइरहेको छ । बुधबारसम्म केही विषयमा स्पष्ट आइसक्छ । शनिबार (असोज २०) यता १० नेपालीसहित इजरायलमा ९ सय जनाको मृत्यु भइसकेको छ । २६ सय घाइते भइसकेका छन् । गाजातर्फ ८ सय ३० जना प्यालेस्टिनीको मृत्यु भइसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । तेलअभिभमा कार्यरत गैरआवासीय नेपाली संघका युवा संयोजक रमेश जोशीले अत्यावश्यक पसलबाहेक सबै खुलेको बताए । ‘हामी ड्युटी गएका छैनौं । सडकमा मान्छेहरूको चहलपहल एकदमै कम छ । अत्यावश्यक काम नपरी निस्किएको छैन,’ उनले भने, ‘अहिले सबै नेपालीहरू एकआपसमा जोडिएका छौं । एकजुट भएका छौं ।’ १६ वर्षदेखि जेरुसेलममा कियरगिभरको काम गरिरहेकी चितवनकी प्रभा घिमिरेले आफूले नेपालमा रहेको घरपरिवारलाई सान्त्वना दिइरहेका बताइन् । ‘नयाँ आउने साथीहरू अलि डराएका छन् । परिवारले चिन्ता गरेका छन्,’ उनले भने । घिमिरेले जेरुसेलममा थप उपचारका लागि सअरे जेडेक अस्पतालमा ल्याइएको दाङका प्रवीण डाँगीलाई भेटेकी थिइन् । जेरुसेलमबाट तीन घण्टाको मोटर दूरीमा रहेको नेभेगबाट डाँगीलाई उपचारका लागि ल्याएको हो । ‘डाँगीको खुट्टाको अप्रेसन भयो,’ उनले भनिन्, ‘अहिले स्वास्थ्य अवस्था धेरै सुधार भइरहेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार