माग पुरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी…..

काठमाडौँ –  माओवादी सशस्त्र विद्रोहका सर्वोच्च कमाण्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वलडाकु एक सातादेखि सिंहदरबार धाइरहेका छन् । तर, मंगलबारसम्म उनीहरूले भेट्न अवसर जुरेको छैन । प्रचण्डकै निर्देशनमा तत्कालीन राज्यसत्ताविरूद्ध भएको सशस्त्र प्रतिरोधमा सयौँ घाइते तथा अपाङ्ग भएका थिए । तिनैमध्येका पश्चिम रुकुमकी ‘साकार’ अर्थात् प्रेक्षा उखेरा, सुर्खेतका चेतन सिग्देल र अछामका धिरेन्द्र भण्डारी बिहान बबरमहल पारी पिपलको रूखमुनि प्रतीक्षालयमा बसेर सुस्ताइरहेका थिए । सात बुँदे मागपत्र झोलामा राखेर उनीहरू प्रधानमन्त्री तथा मन्त्रीका कार्यालयमा धाउन थालेको एक हप्ता भइसकेको रहेछ । तर, विभागीय मन्त्री, मन्त्रालयका सचिवबाट आश्वासनबाहेक केही नभएको जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा अपाङ्ग संघर्ष समितिका प्रवक्तासमेत रहेका धिरेन्द्र भण्डारीले गुनासो पोखे । पछिल्लो जानकारी लिन गृहमन्त्रालय जान लागेका उनीहरू आफ्नो माग पुरा नभएसम्म सडक संघर्ष जारी राख्ने बताएका छन् । १० वर्षे युद्धका क्रममा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पार्टीको रणनीतिअन्तर्गत २०६२ सालमा भएको तानसेन आक्रमणमा भण्डारी गम्भीर घाइते भएका रहेछन् । २०५६ सालमा अछाम जिल्लाको अखिल क्रान्तिकारीका संस्थापक सदस्य रहेका उनी २०५७ सालमा माओवादी जनमुक्ति सेनामा प्रवेश गरेका थिए । लड्न निर्देशन दिने सुविधासम्पन्न महलमा रहेका लड्ने जिउमा गोली बोकेर सडकमा संघर्ष गरिरहनु परेकोमा उनले यसरी आक्रोश पोखे, ‘जनयुद्ध लड्नेहरू रोडमा छन्, लडाउने अहिले महलमा छन् । लड्नेहरू शरीरभरि फलामका पुराना गोली बोकी सडकमा भौँतारिनुपर्ने, आदेश दिनेहरू सुविधासम्पन्न महलमा बसी चिल्ला गाडीमा हिँड्ने । दुविधा यही नै हो । आफूहरूले उठाएको माग पुरा नभए सम्पूर्ण घाइते तथा अपाङ्गहरूले सिंहदरबार अगाडि पार्टीको नाममा सामूहिक आत्मदाह गर्ने उनले यसरी चेतावनी दिन्छन्, ‘हामीले संघर्ष समितिको तर्फबाट ७ बुँदे माग गृहमन्त्रालयमा बुझाइसकेका छौँ । यस बारेमा गृहमन्त्रीलाई समेत अवगत गराइसकेका छौँ । यदि हाम्रो माग सुनुवाइ नभए पार्टीको नाममा संघर्षमा उत्रिएका सबैले सामूहिक आत्मदाह गर्छौँ ।

साकार’को सपना कहिले होला साकार ?

अर्का पूर्वलडाकु प्रेक्षा उखेरा उर्फ ‘साकार’ले १३ सयभन्दा बढी जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरू कार्यदलमा सूचीकृत नभएको गुनासो पोखिन् । वैशाखीको सहारामा प्रधानमन्त्रीको कार्यालय, मन्त्री निवास तथा पार्टी नेताहरूको घरघर चहारेको एक साता हुँदासमेत कुनै सुनुवाइ नभएको उनले दुःखेसो पोखिन् । प्रधानमन्त्रीसँग भेट हुन सकेको छैन । गृहमन्त्रीले तपाईंहरूको काम भइरहेको छ, हुन्छ भन्नुहुन्छ । तर, हामीले अहिलेसम्म आश्वासनबाहेक केही पाएका छैनौं’, निराश हुँदै उनले भनिन् । जनयुद्धको सबै मोर्चा सामेल भएर युद्ध गरेकी उनी २०६२ को तानसेन आक्रमणमा तात्कालीन शाही सेनाले विछ्याएको माइन विस्फोट हुँदा गम्भीर घाइते भएकी थिइन् । शरीरमा भएको गोली निकाल्न पैसा जोहो गर्न नसक्दा गोली लिएर बाँच्न उनी बाध्य छिन् । व्यवस्था परिवर्तनको लडाइँमा कर्णालीले ठुलो त्याग गरे पनि त्यसको आवाज सिंहदरबारले नसुनेकोमा उनको आक्रोश छ । जनयुद्धले केही नेतालाई सम्पन्नशाली बनायो । हामी उपचार अभावमा शरीरमा गोली लिएर बाँच्न बाध्य छौँ’, उनले भनिन्, ‘व्यवस्था परिवर्तनको लडाइँमा कर्णालीले ठुलो परिवर्तन गर्‍यो, त्यसको आवाज सिंहदरबारले सुनेन । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार