पूर्वसभामुख महराका छोरासहित ४ विरुद्ध मुद्दा…..

काठमाडौँ — विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख तथा सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । पूर्वसभामुख महरालाई भने उन्मुक्ति दिइएको छ । आरोपितविरुद्ध ९ केजी ११.५२४ ग्राम सुनलाई ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरिएको छ । भेपमा सुन ल्याउने गिरोहका ६ चिनियाँ दावाजिन वाङ, आसिन पेङ, ली फेङ पेङ, झाङजिन च्वाँ, ली हसङ र फेङ चेङ लिनलाई खोजी सूचीमा राखिएको छ । प्रतिवादी बनाइएकामध्ये दावा छिरिङ ६१ केजी सुन तस्करी प्रकरणमा हाल पुर्पक्ष थुनामा छन् भने अर्का आरोपित निमा गुरुङ फरार छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वसभामुख महरालाई चोख्याएर राहुलसहित चिनियाँ गिरोहका सहयोगी लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरुङविरुद्ध संगठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन २०६४ र मुलुकी अपराध संहिता–२०७४ गरी तीन कानुनले बर्जित गरेका कसुरमा बिगो, कैद र जरिवानाको मागदाबीसहित बुधबार अदालतमा मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा चारविरुद्ध तीन कसुरमा प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको बताए । तस्करीमा संलग्नता देखिएका तर हाल फरार अरू ६ जना चिनियाँलाई पक्राउ परेका बखत अनुसन्धानबाट खुलेबमोजिम कारबाही हुने गरी मुद्दा दायर गरिएको नेउपानेको भनाइ छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार चार जनालाई तीन कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो । दावा छिरिङ र पूर्वसभामुख महरासँग निकट दावाजिन वाङको योजनामा तस्करीको भित्रिएको खुलेको छ । २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट चिनियाँ नागरिक ली हसङले २ वटा सुटकेसमा ७३ वटा बट्टामा लुकाएर ल्याएको ७ सय ३० भेपभित्र तस्करीको सुन भित्र्याएका थिए । ती सामान शंकास्पद देखिएपछि भन्सारले नियन्त्रणमा लिएर गोदाममा राखेको थियो । लिलामी प्रक्रियामा लैजानुअगावै गोदामबाटै सुन भएका भेप चोरी भएपछि तस्करीको पोल खुलेको थियो । भेपमा भएको सुन चोरी प्रकरणमा भन्सारका कर्मचारी रेवन्त खड्कासहित दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, साहेब राव पान्डुरङ्मरगले, अमृत कार्की, निर्मलकुमार विक र दीपेश बस्नेतविरुद्ध गत असार २७ मै काठमाडौं अदालतमा मुद्दा दायर भएकामा सुन तस्करीको अनुसन्धान त्यसपछि अघि बढेको थियो । चोरीको मुद्दामा केही धरौटीमा छुटे पनि अधिकांश पुर्पक्ष थुनामै छन् । भेपको सुन भने पूर्वसभामुख महराको परिवारसँग निकट चिनियाँ तस्कर दावाजिन वाङको समूहले ल्याएको अनुसन्धानबाट खुलेको थियो । दावा छिरिङसमेतको संलग्नतामा आर्थिक लाभ प्राप्त गर्न संगठित भई समूहका सदस्यबीच अपराध गर्नका लागि पिरामिड शैलीमा तहगत जिम्मेवारीहरू बाँडफाँट गर्दै विमानस्थल भन्सार कार्यालयमार्फत नेपाल सरकारलाई प्राप्त हुने राजस्व नोक्सान र आफूलाई आपराधिक प्राप्त गर्ने योजनाका साथ भन्सार ऐन २०६४ को दफा ५७ को १ अनुसार परिभाषित कसुरमा १ (घ) को ख बमोजिम ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरसमेत गरी संगठित अपराध निवारण ऐन २०७० समेतको कसुर गरेको देखिन आयो,’ सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ । तस्करी प्रकरणमा राहुललाई सीआईबीले गएको भदौ १३ मा पक्राउ गरेको थियो । पूर्वसभामुख महरासँग असोज १५ मा सीआईबीले कागज गराएको थियो । भेपमा लुकाएर सुन ल्याउने गिरोहका नाइके दावाजिनसँग निकट पूर्वसभामुख महरालाई भने तथ्य र प्रमाणले पुष्टि नगरेकाले मुद्दा नचलाइएको सरकारी वकिल कार्यालयको जिकिर छ । राहुल र लोकेन्द्रलाई बुधबार सरकारी वकिल कार्यालयले अभियोगपत्र दायरसँगै अदालतको जिम्मा लगाएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार