कोशी प्रदेशमा शेखरको ‘विद्रोह’ले कांग्रेसमा तरंग…..

काठमाडौँ — कोशीको मुख्यमन्त्री बनाउने विषयमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ‘विद्रोह’ गरेपछि पार्टीको आन्तरिक राजनीति तरंगित बनेको छ । कोइरालाको विद्रोहपछि सभापति शेरबहादुर देउवा आफ्नो निर्णयबाट पछि हटेका छन् भने कांग्रेससहित सत्ता गठबन्धनको समर्थनमा कोइरालानिकट केदार कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका छन् । तर मुख्यमन्त्री बनाउने विषयमा सभापति देउवाको एकलौटी निर्णय र नेता कोइरालाको विद्रोहप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने असन्तुष्ट बनेका छन् । नेता कोइराला र महामन्त्री थापाको सम्बन्ध फेरि चिसिएको छ । पार्टीमा सभापति देउवाविरुद्ध संघर्ष गर्न शक्तिआर्जन गर्ने दौडमा रहेका कोइराला आफूनिकट कार्कीलाई मुख्यमन्त्री बनाउन एकलौटी अघि बढेपछि उनी नेतृत्वको गुटमा फेरि दरार पैदा भएको छ । देउवा र कोइराला दुवैले त्यसबारे पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग परामर्श नगरेको गुनासो छ । कोशीमा प्रदेश संसदीय दलका नेता उद्धव थापाको पक्षमा बहुमत नजुट्ने देखेपछि सभापति देउवाले गत बिहीबार मुख्यमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय लिएका थिए । जबकि त्यसअघि बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्रीद्वय थापा र शर्माले दलको नेता बदलेर भए पनि कांग्रेसबाटै मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका थिए भने नेता कोइरालाले सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत पटक–पटक भेटेर कार्कीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर देउवाले मुख्यमन्त्रीमा दलका नेता थापाबाहेक पार्टीबाट अर्को उम्मेदवार बनाउने चाह देखाएका थिएनन् । पदाधिकारी बैठकमा महामन्त्री थापाले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा प्रश्न उठाउँदा देउवाले त्यसबारे नेता कोइराला र मिनेन्द्र रिजालसँग छलफल भइरहेको जवाफ दिएका थिए । बैठकमा महामन्त्री थापाले दलको नेता फेरेर भए पनि मुख्यमन्त्री कांग्रेसले नै लिनुपर्ने अडान राखेका थिए । त्यसपछि सभापति देउवाले त्यसबारे कुनै छलफल नगरी मुख्यमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय गरेका थिए । केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख मिन विश्वकर्माले कोशीमा कोइरालाले गरेको विद्रोहमा ‘गठबन्धन नफुटाउने, पार्टी पनि नटुटाउने’ भन्ने मूल हेतुले सभापति देउवा पछि हटेको बताए । ‘नहुनुपर्ने कुरा कोशीमा भयो, त्यसबाट थप क्षति रोक्न पार्टी र गठबन्धनले एक कदमपछि हट्नुपर्ने स्थिति बनेको हो,’ उनले भने, ‘अब कार्की नै सत्ता गठबन्धनका मुख्यमन्त्री हुन् । यता नेता कोइरालाले पनि कार्कीलाई विद्रोह गराएर एमालेको समर्थनमा मुख्यमन्त्री बनाउने विषयमा आफ्नै समूहबाट पार्टीमा निर्वाचित भएका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँग समेत सल्लाह गरेका थिएनन् । पार्टी र गठबन्धनमा दलको नेता फेरेर कार्कीलाई उम्मेदवार बनाउन कोसिस गरेका कोइरालाले अनुकूल वातावरण नबनेपछि नेताहरू मिनेन्द्र रिजाल, गोविन्दराज पोखरेल र सांसद सुनिल शर्मामार्फत एमालेसँग संवाद र सहकार्यको वातावरण बनाएका थिए । कोइरालाले कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउँदा पार्टीभित्र आफूमाथि विश्वासको संकट हुने स्थिति खडा गरेका छन् । कोइरालाको कदमले पार्टीमा थप अन्तर्विरोध चर्किएर जाने नेताहरू बताउँछन् । केन्द्रीय सदस्य प्रदीप पौडेल अब कोशीमा जस्तै क्रियाकलाप अन्य प्रदेश र संघमा समेत हुँदैन भनेर कसैले भन्न नसक्ने बताउँछन् । ‘सभापतिजीले पार्टीभित्र उठेको जायज कुरालाई बेवास्ता गरेर गलत निर्णय लिनुभयो । फेरि शेखर दाइ पनि आफ्नै ढंगले अघि बढ्नुभयो । परिस्थिति यस्तो बन्यो कि अहिले आएर सभापति नै आफ्नो निर्णयबाट पछि हट्न बाध्य हुनुभएको छ,’ पौडेलले कान्तिपुरसित भने, ‘गल्ती जसको भए पनि यसले पार्टीभित्र थप अन्तर्विरोध बढ्ने देखिएको छ । फेरि यस्तै क्रियाकलाप अन्त पनि हुँदैनन् भनेर कसरी विश्वास गर्ने ? कतिपयले कोइरालाले गरेको विद्रोहले तत्काल मुख्यमन्त्री पद प्राप्त भए पनि दिर्घकालीनरुपमा भने उनकै लागि हानीकारक हुन सक्ने बताएका छन् । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कोइरालाको प्रतिवाद शैलीले दिर्घकालीन रुपमा कांग्रेसको एकतामा प्रश्न चिह्न खडा गर्ने बताउँछन् । ‘सभापति र संस्थापन पक्षले विवेकसम्मत् निर्णय गरेको थिएन । त्यसलाई प्रतिवाद गर्ने कुरामा पनि जुन शैली देखियो, त्यसले तत्कालीनरुपमा मुख्यमन्त्री कांग्रेसकै भए पनि दिर्घकालीनरुपमा चाहिँ कांग्रेसको एकतामा प्रश्न चिह्न खडा हुने देखिन्छ,’ उनले भने, ‘कोइरालाले कोशीको दाउपेचमा बाजी मारे पनि दीर्घकालीनरुपमा यही कदम समेत उहाँका लागि जोखिमपूर्ण हुनसक्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्दराज पोखरेल भने पार्टीभित्र अन्यायले सीमा नाघेपछि विद्रोहमा उत्रिनुपरेको बताउँछन् । ‘हामी पार्टीभित्र ४० प्रतिशत शक्ति हो, तर संसदीय समितिमा पेलियो, कांग्रेसले चार प्रदेशमा मुख्यमन्त्री बनाएको छ, तर हाम्रो एक जना मन्त्रीसमेत छैन,’ पोखरेलले भने, ‘दुई पटकसम्म विश्वासको मत नपाएपछि उद्धव थापालाई छाडेर केदार कार्कीलाई बनाऔँ भन्ने हाम्रो प्रस्ताव थियो । तर स्वीकार्य भएन । असहृय भएपछि यो कदम उठाइएको हो । राजनीतिक विश्लेषक लोकराज बरालले भने कोइरालाको विद्रोहले कांग्रेसमा व्यक्तिको वर्चस्व तोड्न सफल भएको बताए । ‘वर्षौंदेखि एउटै नेताको वर्चस्व कायम रहेकोमा अहिले अलिकति भए पनि छेद परेको छ । यो त्यतिमात्रै हो । यो कति अगाडि बढ्छ ? त्यो चाहिँ हेर्दै जानुपर्छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार