अख्तियारमा शक्तिशालीमाथि अनुसन्धान घट्दो, राजनीतिक छाया बढ्दो…..

काठमाडौँ — भ्रष्टाचार र संगठित एवं राज्यविरुद्ध सहितका अपराध कसुरमा पछिल्लो पटक राजनीतिक दलका ‘शक्तिशाली’ नेता जोडिएका दुई ठूला मुद्दा हुन्– नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा हिनामिना प्रकरण । शरणार्थी प्रकरणमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको मुद्दासमेत आकर्षित भएकाले अख्तियार र शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान अघि बढाएका छन् । अख्तियारले पछिल्लो पटक अनुसन्धानका लागि प्राथमिकतामा राखेको विषय हो– टेरामक्स प्रकरण । यसमा पूर्ववर्ती सरकारका सञ्चारमन्त्रीहरूमाथि नै अख्तियारले अनुसन्धान गरिरहेको छ । टेरामक्स उपकरण खरिदमा भएको आर्थिक चलखेलमा राजनीतिक नेतृत्व पनि तानिन्छ कि कर्मचारी मात्रै पर्ने हुन् भन्ने कुरा अझै शंकाको घेरामा छ । यो प्रकरणमा पूर्वसञ्चारमन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की र बहालवाला स्वास्थ्यमन्त्रीसमेत रहेका मोहनबहादुर बस्नेतलाई अख्तियारले हालै मात्रै बयान लिएको छ । पूर्वसचिव एवं ललिता निवास जग्गा प्रकरणका सुरुवाती छानबिन समितिका संयोजकसमेत रहेका शारदाप्रसाद त्रितालका अनुसार तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको कार्यकालपछि शक्तिशाली नेताहरू भ्रष्टाचार मुद्दामा तानिएका छैनन् । उपाध्याय कार्यकालमा कांग्रेसका प्रभावशाली नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ताविरुद्ध अख्तियारले २०५९ सालमा अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको थियो । खड्का र जोशी तत्कालीन सत्ताको केन्द्रमा थिए । कांग्रेस संगठनमा बलियो प्रभाव रहेका खड्कालाई विशेष अदालतले सफाइ दिए पनि सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । ०६८ सालमा खड्कालाई डेढ वर्ष कैद र करिब ९५ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको थियो । त्यसपछि उनी सदरखोर डिल्लीबजारमा डेढ वर्ष जेल बसेर निस्के । जेलमा रहँदा र निस्केपछि पनि कांग्रेसभित्र उनको प्रभाव कायमै थियो । कांग्रेसमा सक्रिय रहँदारहँदै ०७४ चैत १६ गते उनको निधन भयो । त्यस्तै, अर्का पूर्वगृहमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । शक्तिको दुरुपयोग गरेर ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले जोशीविरुद्ध ०६० माघ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट हदम्यादको कारण देखाएर सफाइ पाएका जोशीविरुद्धको मुद्दा अहिले पनि सर्वोच्चमा पेसी सरेको सर्‍यै छ । अर्का पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई अख्तियारले ३ करोड २ लाख ५५ हजार रुपैयाँ अकुत सम्पत्ति देखिएको अभियोगमा मुद्दा दर्ता गरेको थियो । विशेष र सर्वोच्च अदालत दुवैबाट भ्रष्टाचारी ठहर भएका वाग्ले १८ महिना जेल बसेर निस्केका थिए । वाग्ले भ्रष्टाचार मुद्दा लागेपछि राजनीतिक दृश्यमा छैनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार र पछि सञ्चारमन्त्री भएका जयप्रकाशप्रसाद गुप्तालाई दुई करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेषमा मुद्दा दर्ता गरेको थियो । सर्वोच्च अदालतले ०६८ साल फागुन १० गते ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै गुप्तालाई डेढ वर्ष कैद सजाय सुनाएको थियो । गुप्ताविरुद्ध फैसला आउँदा उनी मन्त्री नै थिए । डेढ वर्ष जेल सजाय भोगेपछि गुप्ता पनि राजनीतिबाट टाढा छन् ।त्यस्तै, चर्चित लाउडा कान्डमा अख्तियारले कांग्रेसकै अर्का नेता तारणीदत्त चटौतविरुद्ध पनि ०५७ सालमा मुद्दा दर्ता गरेको थियो । नेपालको वायुसेवाको इतिहासमै कालो धम्बाका रूपमा परिचित लाउडा प्रकरण अहिले पनि राजनीति चर्चाको विषय बन्ने गर्छ । एमालेले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत लाउडा कान्डमा संलग्न रहेको आरोप लगाएर त्यतिबेला देशैभर आन्दोलन चर्काएको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार