मन्त्रिपरिषद् विस्तार समर्थन संकुचित…..

काठमाडौँ — लगातार तीन गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै उनले भनेझैं ‘सुशासन, विकास, सामाजिक न्याय र समृद्धि दिशामा अघि बढ्ने’ परीक्षा सुरु भएको छ ।उनकै नेतृत्वको अघिल्लो गठबन्धन सरकारका चर्को आलोचक दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा मन्त्रालयको भागबन्डा भएको छ । चार दलीय गठबन्धनको साझेदार जनता समाजवादी पार्टी भने पार्टीको आन्तरिक कारण देखाउँदै सरकारमा सहभागी भएको छैन । एमाले एक वर्ष नौ दिनपछि र रास्वपा एक वर्ष एक महिनापछि पुनः दाहाल सरकारमा सहभागी भएको छ । नयाँ सत्ता गठबन्धनमा सहभागी एमालेबाट ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र नेकपा एकीकृत समाजवादीका २ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । तीन उपप्रधानसहित १६ जना मन्त्रीलाई शपथ गराउँदै १९ मन्त्रीको मन्त्रालय तोकिएको हो । सोमबार नै शपथ लिएका ३ मन्त्रीको पनि मन्त्रालय तोकिएको छ । उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र र गृहमन्त्रीमा क्रमशः एमाले सचिव रघुवीर महासेठ, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । यी तीन उपप्रधानमन्त्री यसअघि पनि मन्त्री भइसकेका छन् । माओवादीले अर्थमन्त्री वर्षमान पुन र पर्यटनमन्त्री हितबहादुर तामाङबाहेक चार मन्त्रीलाई दोहोर्‍याएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृहबाट परराष्ट्रमा सरुवा गरिएको छ भने ऊर्जामा सचिव शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मालाई दोहोर्‍याएको छ । माओवादी एक नेताका अनुसार ती मन्त्रीले सुरु गरेका महत्त्वपूर्ण काम पूरा गर्न दोहोर्‍याएको हो । एमालेका मन्त्रीको नाम पदाधिकारी बैठकले टुंगो लगाएको थियो भने सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालले निकट नेताहरूसँग सल्लाह गरी मन्त्री सिफारिस गरेका थिए । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री महासेठले एमालेका तर्फबाट सरकारको नेतृत्व गरेका हुन् । उनले यसअघि पनि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी निर्बाह गरिसकेका छन् । उनी पूर्वउपप्रधान र पूर्वपरराष्ट्रमन्त्रीसमेत हुन् । मधेश प्रदेशको धनुषा–४ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ६२ वर्षीय उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका छन् । २०३३ सालमा तत्कालीन मालेको सदस्यता लिएर उनले राजनीतिको थालनी गरेका थिए । २०५४ सालदेखि एमाले केन्द्रीय सदस्य रहेका उनी धनुषाबाट ३ पटक सांसद निर्वाचित भइसकेका छन् । अर्का उपप्रधानमन्त्री श्रेष्ठले शपथलगत्तै परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभाका ६३ वर्षीय सांसद श्रेष्ठ २०६८ मा पनि परराष्ट्रमन्त्रीको जिम्मेवारीमा थिए । गोरखाका उनले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । शिक्षण र स्वास्थ्यकर्मी हुँदै उनी एकता केन्द्रको महासचिवबाट माओवादी केन्द्रमा पार्टी एकता गर्दै प्रवेश गरेका थिए । २०६५ देखि पार्टी उपाध्यक्ष छन् । उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएको करिब १३ महिनापछि रास्वपा सभापति लामिछाने पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन् ।२०७९ माघ १३ गते उनले पुनः नागरिकता लिँदा प्रक्रिया नपुर्‍याएकाले सांसद पदसमेत खारेज भएपछि गृहमन्त्रीबाट हटेका थिए । त्यतिबेला उनी ३३ दिन मात्र गृह मन्त्रालयको जिम्मेवारीमा रहे । उक्त विवादमा सर्वोच्च अदालतको फैसलाबाट उनी पदमुक्त भएका थिए । गत वैशाखमा भएको उपनिर्वाचनमा उनी चितवन–२ बाट ६९ प्रतिशत मतसहित निर्वाचित भएर पुनः संसद्मा प्रवेश गरेका हुन् । प्रमाणपत्र तहसम्म अध्ययन हासिल गरेका ४८ वर्षीय लामिछाने १४ वर्ष अमेरिका बसेर फर्किएर पत्रकारितामा सक्रिय थिए । रास्वपा गठन हुनुअघि सञ्चारकर्मीको भूमिकामा थिए । उनी ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमका पूर्वप्रस्तोता हुन् । क्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा समेत रहे । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघि उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरिएको थियो । रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा व्याख्या गरिँदै आएको छ । रास्वपाले स्थापनाको छोटो समयमै प्रत्यक्ष र समानुपातिकतर्फबाट २२ सिट प्राप्त गर्दै संसद्‍मा चौथो दलको स्थान सुरक्षित गर्न सफल भएको थियो ।

२०६४ देखि लगातार सांसद र २०६७ देखि दुई मन्त्री भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनेका छन् । उनी २०६८ मा पनि बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । रोल्पाबाट निर्वाचित ५२ वर्षीय उनी शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा जलस्रोतमन्त्री भइसकेका छन् । नयाँ सत्ता गठबन्धन बनाउन सूत्राधारको भूमिका खेलेका उनी प्रधानमन्त्री दाहालका विश्वासपात्र हुन् । मन्त्री हुनुअघि उनी दाहालका अनौपचारिक सल्लाहकारका रूपमा काम गर्दै आएका थिए । अर्थ मन्त्रालयको दोस्रो इनिङस्का रूपमा मुलुकको आर्थिक वृद्धि गरी सरकारको मुख्य तीन उद्देश्यमध्ये ‘समृद्धि’ को दिशामा अघि बढाउने अवसर र चुनौती छन् । माओवादीबाट पार्टी उपमहासचिवसमेत रहेका शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ र स्थायी समिति सदस्य रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निरन्तरता पाएका छन् । बस्नेत जाजरकोट र शर्मा दाङबाट निर्वाचित सांसद हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार हितबहादुर तामाङले सम्हालेका छन् । नुवाकोटबाट निर्वाचित उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पूर्वयुवा तथा खेलकुदमन्त्री समेत हुन् । तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियुका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । २०५८ सालमा केन्द्रीय सदस्य बने । शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पर्वत–१ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य पदम गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि उनी एमाले प्रमुख सचेतक थिए । उनीसँग २०७९ पुसमा करिब तीन महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री भएको अनुभव छ । मानविकीमा स्नातकोत्तर उनी २०४७ मा काफलचौर माविबाट अनेरास्ववियुमा संगठित हुँदै उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै सभापतिसमेत चुनिए । २०७४ मा पनि उनी प्रतिनिधिसभाको सांसद थिए । रक्षामन्त्रीको जिम्मेवारी हरि उप्रेतीले पाएका छन् । मधेश प्रदेशको सर्लाही–३ बाट निर्वाचित उप्रेती पूर्वसंविधानसभा सदस्य हुन् भने गिरीसँगै उनले पनि छोटा समय रक्षा मन्त्रालयको नेतृत्वको सम्हालेका थिए । ५६ वर्षीय उनले व्यवस्थापनमा स्नातक गरेका छन् । २०३६ सालदेखि राजनीतिक गतिविधिमा संलग्न हुँदै आएका थिए । त्यस्तै एमाले केन्द्रीय सदस्य भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन् । कोशी प्रदेशको सुनसरी–३ बाट प्रत्यक्ष निर्वाचित उनले मानविकी र समाजशास्त्रमा स्नातकोत्तरको उपाधि हासिल गरेकी छन् । पहिलो संविधानसभा सदस्यसमेत रहेकी ५२ वर्षीया चौधरी २०४८ सालदेखि एमालेको सदस्य थिइन् । धनकुटा पाख्रिबासका राजेन्द्र राई खानेपानीमन्त्री बनेका छन् । ५९ वर्षीय राई २०७९ मा भूमि व्यवस्थामन्त्री थिए । प्रमाणपत्र तह शैक्षिक योग्यता भएका उनी धनकुटाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । जिविस र स्थानीय शान्ति संयोजकको अनुभव उनीसँग छ । त्यस्तै सुदूरपश्चिम बैतडीका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका छन् । एमालेको जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष भई काम गरिसकेका भण्डारी २०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय थिए । ५० वर्षीय उनले स्नातकसम्मको अध्ययन गरेका छन् । बारा–३ बाट निर्वाचित ज्वालाकुमारी साहले कृषि तथा पशुपन्छी मन्त्रालयको पदभार ग्रहण गरेकी छन् । २०३८ सालमा जन्मेकी उनी माओवादीबाट एमाले प्रवेश गरेकी थिइन् । २०७४ मा मधेश प्रदेशको सदस्य हुँदा उनी एमाले प्रवेश गरेकी हुन् । २०७७ सालमा कृषिमन्त्री बनेकी उनले पुनः सोही मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । एमालेबाटै बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । कपिलवस्तु १ बाट ६३ वर्षीय अधिकारी प्रतिनिधिसभामा निर्वाचित बनेका थिए । २०३४ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध उनले प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका छन् । उनी पूर्वप्रधानाध्यापकसमेत हुन् । २०७० सालमा संविधानसभा सदस्य पनि थिए । रास्वपा उपसभापति डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । धादिङका अर्याल समानुपातिक कोटाबाट सांसद चयन भएका हुन् । ४९ वर्षीय उनी २०७९ मा प्रतिनिधिसभाको सदस्य चुनिएका थिए । पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापनाकालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहपाठी भएर सक्रिय छन् । राजनीतिमा सक्रिय हुनुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए । वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिट्यान्स र समाजसेवाको क्षेत्रमा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरू दाहाल नेतृत्वको सरकारबाट हटेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठ नियुक्त भएकी छन् । काठमाडौं–२६ की उनी २०७९ सालमा रास्वपाको सदस्यता लिँदै राजनीतिमा उदाएकी हुन् । उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सांसद थिइन् । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् । काठमाडौं इन्द्रचोकका ४२ वर्षीय नवनियुक्त मन्त्री श्रेष्ठले वाणिज्य/व्यापार प्रशासनमा स्नातक तहको योग्यता हासिल गरेका छन् । नेकपा एसबाट स्थायी कमिटी सदस्य भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएका छन् । बझाङबाट निर्वाचित संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति थिए । डोल्पा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् । नेकपा एसबाट उनी मन्त्री चुनिएका हुन् । ४९ वर्षीय बुढा पूर्वपर्यटन राज्यमन्त्री (२०७६) थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार