रहस्यमयी ‘नोवेल कोरोना भाइरस’……….

नोवेल कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर चिन्तामा छन् । सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउँछन् । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।  विश्वभरका जनतालाई सचेत गराउन विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘स्वास्थ्यमा आपतकालीन अवस्था घोषणा’ गरिसकेको छ । यस परिदृश्यले विश्वभरका वैज्ञानिक समुदायलाई थप चुनौती खडा गरेको छ । विकसित मुलुकले समेत समाधान खोज्न नसकेका ‘२०१९ नोवेल कोरोना भाइरस’ नेपालजस्तो अल्प विकसित मुलुकमा देखा परेमा हालत कस्तो होला भन्ने पेचिलो विषय देखिएको छ । नेपालमा भाइरस अनुसन्धान गर्ने विज्ञ तथा संस्थाको अवस्था कस्तो छ, एकिन पाइँदैन ।

मुख्य लक्षण

ज्वारो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, छाती दुख्ने र श्वासप्रश्वासमा समस्या हुने ।

कति समयमा देखा पर्दछ ?

रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा ७ दिन र अन्यलाई १४ दिनमा

कसरी सर्छ ?

संक्रमित मानिससँग संसर्ग गरेमा । संक्रमित मानिसले हाच्छिउँ गरेको अवस्थामा, संक्रमित जनावरसँग सम्पर्क गरेमा, काँचो मासु खाएमा वा छोएमा । संक्रमित दिसा छोएमा ।
रोगको शंका लागेमा
चिकित्सकको परामर्श लिने तथा उपचार गराउने, अन्य मानिसको संसर्गमा नजाने

सावधानी

मास्क लगाउने, रुघाखोकी लागेको मानिससँग संसर्गमा नजाने, हात नमिलाउने, चिकित्सकको सल्लाह लिने । तर नेपाल सरकारले भाइरस देखिएमा उपचारका लागि उपत्यकामा सीमित अस्पताललाई तोकेको छ । तीन तहको संयन्त्र बनाएर तयारी गरेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्रप्रसाद श्रेष्ठले पत्रकारसम्मेलन मार्फत बताएका छन् । सरकारले चीनमा कोरोना भाइरस संक्रमण रहेको क्षेत्रका नेपालीलाई सम्पर्क तथा स्वदेश ल्याउने व्यवस्था गर्ने जनाएको छ । नेपालका मुख्य सहरहरुमा स्वास्थ्य डेस्कको स्थापना तथा आइसोलेसन (पृथकीकरण) सहितका वेडसहितको अस्पताल व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । हालै अमेरिकाको कोलोराडोे विश्वविद्यालयकमा डेंगी तथा कोरोना भाइरस समूहमा काम गरी फर्किएका, त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागमा रिसर्च वैज्ञानिक रुपमा कार्यरत डा. अजितकुमार कर्ण भन्छन्, ‘नोवेल कोरोना भाइरस नेपालमा देखिएमा ‘बीएसएल–३’ सुविधाको प्रयोगशाला चाहिन्छ ।’ ‘बीएसएल–३’ भनेको ‘तीन तहगत जैविकसुरक्षा कवच’ अपनाइएको प्रयोगशाला हो । यद्यपि क्यानडाले चार तहगत जैविकसुरक्षा कवच अपनाएका प्रयोगशाला निर्धारण गरेको पाइन्छ । नेपालमा अधिकांश ‘बीएसएल–२’ स्तरका प्रयोगशालाहरू छन्, डा. अजितकुमार कर्ण बताउँछन् । कोलोराडो विश्वविद्यालयको ‘विएसएल–३’ ल्याबमा उनले काम गरिसकेका छन् । नेपालमा त्यस्ता सुविधाका प्रयोगशाला एकिन छैन भन्छन् विज्ञहरु । यद्यपि, नेपाल सरकार स्वास्थ्य विभागअन्तर्गतका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ‘विएसएल–३’ मापदण्ड भएको ल्याब हो भन्छिन् निर्देशक डा. रुना झा । निर्देशक झाका अनुसार ‘विएसएल–३’ मापदण्डअनुसारको तीन तहको जैविक सुरक्षा कवच अपनाइएको छ । अहिले ६ जनाले दैनिक काम गरिरहेका छन् । प्रतिदिन दुई सय नमुना परीक्षण गर्न सकिन्छ ।’ यदि थप आवश्यक परेमा २४ घण्टा खटेर काम गर्न तथा जनशक्ति थप्न सकिन्छ,’ निर्देशक डा. झा भन्छिन् । एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार